बेइजिङ प्रदर्शनीका लागि छानियो दुई कलाकारको कला



विश्वप्रसिद्ध बेइजिङ इन्टरनेसनल आर्ट बायनालेमा दुई नेपाली कलाकारका कलाकृति छानिएका छन्। कलाकारद्वय एससी सुमन र रवीन्द्र श्रेष्ठका कलाकृति चीनको बेइजिङमा हुने बायनालेमा छानिएका हुन्।

३० अगस्टबाट शुरू हुने आठौं बेइजिङ इन्टरनेसनल आर्ट बायनाले–०१९ बेइजिङस्थित नेसनल म्युजियम अफ चाइनामा हुँदै छ।१ सय २५ देशबाट छानिएका कलाकार सहभागी हुने प्रदर्शनीमा नेपालबाट सुमन र रवीन्द्र छानिएका हुन्।

विश्वकै सबैभन्दा ठूलोमध्येको उक्त बायनालेको मुख्य थिम कलरफुल वल्र्ड एन्ड अ सेयरड फ्युचर रहेको सहभागी कलाकार सुमनले जानकारी दिए। तीन दशकदेखि मिथिला कला बनाउँदै आएका उनले नेपाली कला अन्तर्राष्ट्रियस्तरमा लैजान बायनाले महत्वपूर्ण फोरम भएको बताए।

उनले मिथिला शैलीमा बनाएको कलरफुल विश्वको चित्र बायनालेमा छानिएको जानकारी दिए। प्रदर्शनीमा नेपालबाट दोस्रोपटक छानिएका सुमनले १६ पटकसम्म एकल प्रदर्शनी गरिसकेका छन्। ‘कलामार्फत सांस्कृतिक सम्बन्धलाई विस्तार गर्न यो प्रदर्शनी निकै फलदायी हुने अपेक्षा राखेका छौं।’ –उनले भने।

विश्वलाई सुन्दर र मानवतावादी समाजको परिकल्पना गरी बनाइएको सुमनको चित्रमा नीलो रङको पष्ठभूमिमा चराचर जगत्का जीव र तिनको जीवनलाई उतारेका छन्।
अर्का सहभागी कलाकार श्रेष्ठको फिंगरप्रिन्टमार्फत मानवताको विषयलाई प्रस्तुत गरेको चित्र छनोट भएको छ।

श्रेष्ठका अनुसार चित्रले विश्वका मानव जातिको रुप, रङ, भेषभूषा तथा संस्कृति फरक भए पनि रगतको रङ भने सबैको रातो हुने विषयलाई उठाएको छ। शुद्ध सुन र एक्रेलिक रङ प्रयोग गरी बनाइएको उक्त चित्रको पृष्ठभाग नीलो रङको रहेको छ।

जसले मानिस, जीव–जनावर तथा जगत्का यावत् चिजबीच समभाव हुनुपर्ने विषय प्रस्तुत गरेको श्रेष्ठले बताए। ‘मानव र प्राणी जगत्बीचको आत्मियता जगाउने लक्ष्यका साथ चित्र बनाएको हुँ।’ –उनले भने।

यसअघि हार्वड विश्वविद्यालय अमेरिका, एसियन बायनाले बंगलादेशमा दुईपटक तथा इन्डियन आर्ट फेयर, डालियन फेस्टिभल चाइनामा छानिएर पुगिसकेका श्रेष्ठले नेपाली कलाले पछिल्लो समय अन्तर्राष्ट्रिय फोरममा आफ्नो प्रभावशाली उपस्थिति जनाउँदै आएको जिकिर गरे। प्रदर्शनी २३ सेप्टेम्बरसम्म रहनेछ।

प्रतिक्रिया दिनुहोस्