पर्यटनमन्त्रीको एक वर्षे कार्ययोजना ज्येष्ठ नागरिकलाई हवाई भाडा छुटदेखि  पशुपतिको आरती प्रत्यक्ष प्रसारणसम्म



नेपाल समाचारपत्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकले आफ्नो एक वर्षे कार्ययोजना प्रस्तुत गर्नुभएको छ।मन्त्रालयमा पत्रकार सम्मेलन गरी एक वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको हो।

मन्त्री भट्टराईले आफ्नो कार्ययोजनामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी कार्यान्वयन ल्याउने प्राथमिकतामा राख्नुभएको हो।

 

उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन गर्न सम्भाव्यताको अध्ययन गर्ने, सबै प्रदेशका राजधानी जोडिने गरी अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहन गर्ने पनि मन्त्री भट्टराईको प्राथमिकतामा रहेको छ।

त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सिभिल र मेकानिकल कार्य डिसेम्बरभित्र सम्पन्न गर्ने। र, अर्को तीन महिनाभित्र परीक्षण उडान गरी व्यावसायिक उडानको पूर्वतयारी गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (बारा) को निर्माण कार्यमा शीघ्रताको लागि लगानी बोर्डसँग छलफल गरी लगानीको मोडाटिली तयार गर्ने, टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयअघि नै सम्पन्न गर्ने, सबै प्रदेश राजधानीका विमानस्थललाई कम्तिमा ७० सिटभन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्ने लक्ष्य मन्त्री भट्टराईको छ।

मन्त्री भट्टराईले आफ्नो कार्ययोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नती गर्ने, तीनकुनेदेखि गौशालासम्मको सडकलाई दुवैतर्फ सञ्चालनको आवश्यक मापदण्ड बनाउने तथा सौन्दर्यकरण गर्ने कार्यको शुरुवात गर्ने रहेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेटभित्र सम्पन्न हुने व्यवस्था मिलाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टा सञ्चालनयोग्य बनाउने, बायोमेट्रिक यात्रुजाँच प्रविधि र अनलाइन भिसा र ई–पेमेन्टको प्रबन्ध मिलाउने, अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थललगायतका महत्वपूर्ण स्थानको सी सी क्यामरामार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने रहेको छ।

विमानस्थलबाट सञ्चालन हुने पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणलाई भूमिगत गर्न नेपाल आयल निगमलाई अनुरोध गर्ने मन्त्री भट्टराईले जनाउनुभएको छ।

 

नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउन आवश्यक पूर्व शर्तहरू पूरा गर्ने, लुम्बिनी, पशुपति र जनकपुर क्षेत्र विकास परिषद्का नयाँ कानुन तर्जुमा गर्ने, तिलौराकोट, रामजानकी मन्दिर र रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाको शुरुवात गर्ने, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रमुख १० वटा स्रोत बजार को पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने। सन् २०२० जनवरी १ मा विभिन्न देशका पर्यटन मन्त्रीलाई सहभागी गराई नेपाल भ्रमण वर्षको शुरुआत गर्ने कार्ययोजना रहेको छ।

यसैगरी भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा रहेका सम्पदासमेत ३८९ सम्पदाको पुनर्निर्माण शुरुवात गरी १५० सम्पदाको पूननिर्माण सम्पन्न गर्ने , नेपाल वायुसेवा निगमको सुधार अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान, पहुँच र ग्रामीण जनताको यातायातको साधनको रुपमा अघि बढाउने, पशुपति मन्दिरको अन्तर्राष्ट्रिय महत्व अनुरुप यस क्षेत्रमा प्रसाद घरको प्रबन्ध गरी नियमित प्रसाद वितरणको व्यवस्था मिलाउने, पशुपतिनाथमा हुने आरतीको यूट्युवमार्फत प्रत्यक्ष प्रसारण गर्ने, दुई वर्षभित्र लुम्बिनी क्षेत्रको गुरुयोजना बमोजिमका बाँकी कार्य सम्पन्न गर्ने, रामायण सर्किटको डिजिटल डिस्प्ले तयार पारी जनकपुर क्षेत्रमा राख्नेलगायतका विषय मन्त्री भट्टराईको कार्ययोजनामा समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्