स्वास्थ्यका लागि तीजको दरमा चिल्लो,  गुलियो र नुनिलोलाई कम गर्नुस्: डा. कोजु



-भगवती तिमल्सिना

भदौ शुक्ल द्वितीयाका दिन दर खाएर तृतियाका दिन देवी पार्वतीले तपस्या गरेर महादेव वर पाएको सम्झनामा हिन्दू नारी निराहार व्रत बस्ने गर्दछन्। तीज हिन्दू नारीका लागि महान् पर्व हो। यो पर्व वर्षमा एकपटक विशेष कार्यक्रमका साथ मनाइन्छ।

 

विवाहित महिलाले व्रत बसेर श्रीमान् र परिवारको लामो आयु होस् भन्ने र अविवाहित महिलाले महादेव जस्तै वर पाउँ भनेर निराहार व्रत बस्ने चलन छ। यो पर्वलाई देवी पार्वतीले महादेव वर पाउँ भनेर लामो समय तपस्या गर्दा महादेव अर्थात् शिव भगवान् प्रकट भई उहाँसँग देवी पार्वतीको मिलन भएको दिनका रूपमा मनाइन्छ।

हिन्दू धर्मालम्बी महिलाले परापूर्वकालदेखि यो पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएका छन्। यो पर्वका दिन घरबाट स्वतन्त्र हुने र पुरुषले पनि दर खाने दिनमा विशेष परिकारहरू बनाएर महिलालाई खुवाउने गर्दछन्।

विशेष गरी यो पर्वमा विवाहित महिलालाई माइती, मावलीमा दाजुभाइले बोलाएर खुवाउने चलन छ। तर, पछिल्लो समय यो पर्व अलि महिना दिनसम्म मनाउँदा भड्किलो र देखासिकी गर्ने, एकले अर्कोलाई गरगहना तथा कपडाहरूमा प्रतिस्पर्धा गर्ने पर्वका रूपमा देखापर्यो भन्दै यस वर्ष राज्यले सूचना नै जारी गरेर तीजको दर होटल, पार्टी प्यालस, सार्वजनिकस्थलमा नखान र भड्किलो नबनाउनसमेत सचेत गराउँदै कानुनी कारबाही नै गर्ने चेतावनी दिएको छ।

तीजमा विवाहित महिला झपक्क गहना लगाएर रातो सारी, चोलो, चुरा, पोते, धागो, निधारमा टीकामा र जुत्तामा सजिएका हुन्छन् भने युवतीहरू पनि रातो, हरियो र सुन्तला रंगको पहिरनका साथ गरगहनामा सजिएर आफ्ना साथीसंगीसँग मनका भावना गीतका माध्यमबाट पोख्दै नाच्ने र रमाउने गर्दछन्।

यसका साथै दिनभरि पानी पनि नखाई व्रत बस्दा शरीरमा पानीको मात्रा कम हुने र मुर्छा पर्नेसम्मका घटनाहरू हुने गरेका कारण व्रत बस्नु राम्रो हो तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

तीजको दरमा हरियो सागपात र बोक्रा भएको अन्न खानुस्

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डीन तथा धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले तीज मनाउनुस् तर तीजको दरमा हरियो सागपात र बोक्रा भएको अन्न खान सुझाव दिन्छु भन्नुहुन्छ। पानी पनि नखाएर व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हुन्न।

अघिल्लो दिन दर खाने भोज सन्तुलित मात्रामा खानुस्। दरमा सागपात र बोक्रा भएको खानेकुराले स्वास्थ्यलाई फाइदा पुर्याउँछ। तीजको दरमा गुलियो, चिल्लो, धेरै नुनिलो परिकार, मासुभन्दा सागपात र बोक्रा भएको खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। व्रतालु महिलाले नाच्नुले शारीरिक व्यायाम हुन्छ त्यसैले नाचेको राम्रो हो।

मुटु रोगीले एकदिन खाएको खानाले फरक पर्दैन तर लामो समय व्रत बस्दा पहिला पानी खाने त्यसपछि झोलिँदो कुरा खानुपर्छ। एकैपटक धेरै खाना खानु राम्रो होइन। पानी पनि नखाई व्रत बस्नु स्वास्थ्यका लागि राम्रो होइन।

पानी मानिसको शरीरका लागि नभई नहुने चिज हो त्यो नै खाएन भने स्वास्थ्यलाई असर त पर्छ नै। तर, एक दिन व्रत बस्दा स्वास्थ्यमा खासै ठूलो असर भने पर्दैन डा. कोजु भन्नुहुन्छ।

दर खाने नाममा महिनौंदेखि चिल्लो, नुनिलो, माछा, मासु, कोल्ड ड्रिक्स खानु भनेको मोटोपन बढ्ने, स्वास्थ्यलाई असर हुने, उच्च रक्तचाप बढ्ने, शरीरको भित्री भागमा चिल्लो बढ्ने हुनाले रोग बढ्छ नै। त्यसैले कला संस्कृतिको जगेर्ना गर्नुस् स्वास्थ्यको पनि ध्यान दिएर सन्तुलित मात्रामा खाना खाएर मनाउनुस्। तीजको दरमा चिल्लो, गुलियो, नुनिलोलाई कम गर्नुस् भन्छु।
सरकारले होटमा दर खायो भने कानुन लगाउँछु 

जेल हाल्छु भन्नु मूर्खताको पराकाष्ठा हो: डा. उप्रेती

जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती : दर भनेको शब्द दरिलो भन्ने हो। पहिला पहिला मान्छेसँग त्यति धेरै पैसा हुँदैन थियो। त्यसैले वर्षमा एकपट सेल, पुरी, अचार, खीर, तरकारी पकाइन्थ्यो र तीजको व्रत बस्ने अघिल्लो दिनमा खाइन्थ्यो।

अहिले आएर महिलासँग हातमा पैसा भएर रमाइलो गर्नु आनन्द गर्नुलाई सकारात्मक मान्छु। समस्या भनेको दर खाने नाममा कसैले एकैपटक धेरै खानेकुरा खाने, दैनिक लगातार खानाले स्वास्थ्यमा असर पर्न सक्छ। त्यसमा पनि उच्च रक्तचाप, मधुमेह, थाइराइड जस्ता समस्या भएका व्यक्तिलाई गाह्रो कुरा हो।

एक/दुई सातादेखि भेटघाट, जमघट गरेर दर खानु केही पनि नराम्रो देख्दिन्न, त्यो राम्रो हो। सरकारले होटमा दर खायो भने कानुन लगाउँछु, जेल हाल्छु भन्नु मूर्खतापूर्ण कुरा हो। यो सरकारमा बस्नेहरूको मूर्खताको पराकाष्ठा हो।

सरकारले कति व्यक्तिका व्रतबन्ध, पास्नी, विवाह भोजमा खर्च गरेको देख्दैन। महिलाको हातमा अलिकति पैसा भयो र खर्च गरे भने प्रतिबन्ध लगाउन खोज्छ। यो सरकारले ‘अर्थ न बर्थ गोविन्द गाई टाउको दुखेको औषधि नाइटोमा लाई’ भन्ने उखानलाई चरितार्थ गर्दै छ कि जस्तो लाग्छ।

महिलाको अधिकारको रक्षा हुनुपर्छ भन्ने सरकारले सोचेको खोई। गाउँघरमा मध्य रातमा उठेर दर खाने र भोलिपल्ट निराहार व्रत बस्नाले भने स्वास्थ्यमा हानी गर्छ। दर खानुभनेको दरिलो हुनुपर्छ भन्ने धारणा पहिला–पहिला महिलाको अवस्था राम्रो नभएकाले आएको हो।

जसको स्वास्थ्य अवस्था कमजोर छ उनीहरूले पनि व्रत बस्छु भनेर अघि सर्नु स्वास्थ्यका लागि ठीक होइन। महिलाको व्रतले पुरुषको आयु बढ्थ्यो भने महिला एकल हुनै पर्दैनथ्यो।

अहिले केटाले पनि श्रीमतीका लागि व्रत बस्छन् त्यो सकारात्मक पाटोका रूपमा लिएको छु। दरलाई स्वास्थ्यकर खाना खाने, रमाइलो गर्ने छलफल गर्ने कुरालाई सामाजिक परिवर्तनको प्रतिकका रूपमा लिन्छु।

पानी पनि नखाई व्रत बस्दा स्वास्थ्यमा देखा पर्ने असरहरू

  •  धार्मिक तीर्थस्थलहरूमा धेरैबेर लाइन बस्दा शरीरमा पानीकोमात्रा कम भई मुर्छा पर्ने।ल बाटोमा हिँड्दाहिँड्दै बेहोस् हुने।
  •  ग्यास्ट्राइटिस भएर पेट दुख्ने, भमिट हुने।
  • हातगोडा काप्ने (थरथराउने)।
  •  टाउको दुख्ने।
  •  हिँड्न गाह्रो हुने।
  • आलश्य हुने। यस्तो अवस्थामा के गर्ने
  • तत्काल हावा आउने ठाउँमा सजिलो पोजिसनमा सुताउने,
  •  हम्कने, होसमा ल्याउने।
  •  प्राथमिक उपचार गरि ग्लुकोजपानी खुवाउने।
  •  गम्भीर भएमा चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने।

 

तीजको महत्व र शृंगार

 

-सुषमा महरा

नेपाली चेलीहरूको विशेष पर्व हरितालिका तीजको रमझम शुरू भइसकेको छ। यो बेला चेलीहरू शौभाग्यको सूचक चुरा, पोते, धागो, रातो पहिरण र चोलीमा सजिएर रातो टीकाको साथमा व्रत, उपासना, पूजाआजा र स्नानका साथै हृदयदेखिका कथा–व्यथालाई गीतको माध्यमद्वारा पस्केर भव्यताका साथ तीज मनाउँदै छन्।

माहिलाको स्वतन्त्र पर्वका रूपमा रहेको तीज नेपाली चेलीका लागि विशेष गरी विवाहित नवबुहारीका लागि एउटा पर्व, खुसी र भेटघाटको मेला नै हो भन्दा अतिशयोक्ति नहोला।

अन्य पर्वहरूमा बिदा नपाएर माइत जान नसकेका या त व्यस्तताले जान नभ्याएका र सासू, श्रीमान्, घर–परिवार विशेष गरी संयुक्त परिवारको अधीनमा रहेका महिलाले यो बेला माइती गएर पूजाआजा, उपासन, दर र आफ्नो कथाव्यथा समेटिएका नारी वेदना र मुक्तिका गीत गाएर रमाइलो गर्दै मनाउने यो पर्व महिलाका लागि एउटा माइती मिलन र संगमको अवसर पनि हो।

परापूर्व कालमा सानै उमेरदेखि महादेव स्वामी पाउँ भनी आराधना गरिहेकी हिमालय पर्वतकी छोरी पार्वतीलाई उनका बाबु हिमालय पर्वतले महादेवसँग नभई विष्णुसँग विवाह गरिदिन लागेपछि पार्वतीले आफ्नो चाहनाअनुरूप महादेव पति नपाउने भएको थाहा पाएपछि उनले आफ्ना साथीहरू डाँकी आफूलाई लुकाएर राखिदिन अनुरोध गरिन् र उनको अनुरोधअनुसार साथीहरूले पार्वतीलाई एउटा जंगलमा लगी लुकाएर आए।

तत्पश्चात् पार्वतीले त्यही जंगलमा बसी महादेवको नाममा शिवलिंग स्थापना गराई पूजा आराधना गरिरहिन्। अन्तत्वगत्वा उनी सफल भइन्, अर्थात् उनले महादेव पति पाइन्। यही साथीहरूद्वारा हरण गरी एकान्तमा राखेका बेला गरेको व्रत हुनाले उक्त व्रतको नाम हरितालिका रहन गयो।

फलस्वरूप त्यही दिनदेखि प्रत्येक नेपाली चेलीले भाद्र शुल्क द्वादशीदेखि ऋषि पञ्चमीसम्म तीज पर्व भनेर हरितालिका मनाउन थाले भन्ने किंवदन्ती पाइन्छ। हरितालिकाको अघिल्लो दिन राति सबै चेली जम्मा भएर दर खाएपछि शुरू हुने तीजको दिन प्रायः चेली निराहार पानीसमेत पनि नखाई व्रत बसी महादेवको मन्दिरमा गई पूजाआजा गर्ने र नाचगान गरी नारी हृदयका भावनालाई गीत–संगीतबाट उजागर गर्ने गर्छन् भने रात्रिमा समेत जाग्राम बसी रमाइलो गर्ने प्रचलन यद्यपि छ।

यसरी यो दिन व्रत बसेर विवाहित महिलाले श्रीमान्को गोडाको पानी खाएर ढोगेमा आयु लामो हुने विश्वास छ भने अविवाहितले सुयोग्य, कर्मठ र शिवजस्तै पति पाउनका निम्ति तीजको व्रत बस्ने गरेको पाइन्छ।

तीज विशेष मेकअप र हेयर

 

 

सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन्। महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जो–कोहीको प्रयास गर्छन नै। यो चाडमा धेरैले सोह्र शृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्दछन्।

यसैले मेकअप गर्दा एकदम ध्यान पु¥याएर गर्नुपर्छ। यो चाड गर्मी मौसमा पर्ने भएकाले सबै मेकअपका सामग्री वाटरप्रुफ प्रयोग गर्नुपर्छ। मेकअप गर्दा हामीले शुरूमा प्राइमर अनिवार्य लगाउनुपर्छ। प्राइमर लगाइसकेपछि आफ्नो स्किन कलरअनुुसारको प्यानास्टिक क्रिमको प्रयोग गर्नुपर्दछ।

जसले हामीलाई स्किनमा भएको दाग धब्बाहरू लुकाउन पनि मद्दत गर्दछ। साथै यसले स्किनमा राम्रो बेससमेत दिन्छ। यसमाथि हामीले स्किनलाई ब्राइट देखाउने हो भने स्किन कलरभन्दा एक÷दुई सेट लाइट कलरको फाउन्डेसन लगाउनुपर्दछ।

यसरी स्किन बेस र फाउन्डेसन या बिबी क्रिम लगाउँदा अलि टाइम लागाएर नै ब्रस या मेकअप पफको सहायताले राम्ररी ब्लेन्ड गर्नुपर्दछ। त्यसपछि कम्प्याक पाउडर लगाउने कम्प्याक पाउडर लगाइसकेपछि आइब्रो सेफ दिने आँखाको मेकअप गर्ने आइल्यासेज राख्ने नोज तथा चिम कटिङ गर्ने लिपिस्टिक लगाउने यदि विवाहिता महिला हो भने सिन्दुर टीका लगाउने त्यसपछि अहिले फेसनमा चलिरहेको हाइलाइटर लगाएर आफ्नो नाक, गाला, आइब्रोको साइटमा साइनिङ दिन सकिन्छ।अहिले पहिलाको जस्तो रोज लगाउने चलन धेरै हटिसकेको छ। यसरी मेकअप गरिसकेपछि अनुहारको वरिपरि, कान घाँटीलगायतका भागमा हल्का मेकअप टचप गर्नुपर्दछ। यसो गर्नाले मेअपको सेट मिल्न जान्छ। र, मेकअप सकिएपछि मेकअप फिक्सर स्प्रे हल्का स्प्रे गर्नुपर्दछ। यसरी गरिएको मेकअप तीजमा दिनभरि नाचे पनि टिकिरहन्छ।

कस्तो कपाल बनाउने ?

तीजमा मेअपको साथ साथै हेयरको डिजाइनलाई पनि ध्यान दिनुपर्दछ। यदि फुल मेकअप गरेका छौं र मेकअपलाई लामो समय टिकाउनु छ भने कपाललाई खुला छोडेर बनाएको डिजाइनले केही समय राम्रो देखिए तापनि नाच–गानका साथै गर्मी मौसम भएका कारणले छोडेको कपालमा धेरै पसिना आएर मेकअपलाई समेत असर गर्दछ।

त्यसैले यस कुरालाई ध्यानमा राखेर कपालको डिजाइन दिँदा धागोले वाटेर डिजाइन दिने छोटो कपाल छ भने त्यसलाई पनि त्यसैअनुरूप काँटाको साहयताले घाँटी खुला हुने गरेर जुरो बनाउने यसरी बाटेका कपाल र जुरो बनाएको कपालमा डेकुरेसन फल्लाओर वा चन्द्रविन्दु लगाउँदा राम्रो देखिने र लामो समयसम्म नाच–गान गर्दासमेत कपालले हामीलाई केही असर गर्दैन।

( लेखकः महिला उद्यमी तथा सौन्दर्यविद् ब्युटिसियन, फेसियल हाउससँग आबद्ध हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्