प्रगतिशील पत्रकार संघको निर्णयः बिना छलफल विधेयक अगाडी नबढाउन आग्रह



यमलाल भुसाल, बुटवल ।

सरकारले ल्याएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी विधेयकहरु तत्काल फिर्ता गरी सरोकारवाला पक्षहरुसंग छलफल गरेर मात्र अगाडि बढाउन सरकारसंग प्रगतिशील पत्रकार संघले माग गरेको छ ।

प्रगतिशील पत्रकार संघ, नेपालले तत्काल श्रमजीवी पत्रकार ऐन कार्यान्यवन गर्न सम्बन्धित पक्षसंग माग समेत गरेको छ ।

रुपन्देहीमा सम्पन्न प्रगतिशील पत्रकार संघ, नेपालको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

रुपन्देहीको तिलोत्तमा र बुटवलमा दुई दिनसम्म बसेको बैठकले प्रगतिशील पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी २०७७ साल जेठभित्र सम्पन्न गर्ने निर्णय गरिएको संघका अध्यक्ष नारायण शर्माद्धारा जारी विज्ञप्तीमा जनाईएको छ् ।

राष्ट्रिय सम्मेलनलाई लक्षित गरी यही २०७६ भदौदेखि चैतसम्म देशव्यापी संगठनात्मक अभियान सञ्चालन गर्ने र २०७६ असोज मसान्तभित्र सबै जिल्लाको भेला, सम्मेलनको मिति तय गर्ने निर्णय गरिएको छ । त्यस्तै, २०७६ मंसिर महिनासम्ममा प्रगतिशील पत्रकार संघ नेपालका प्रदेशस्तरीय भेला र अन्तक्र्रिया गर्ने निर्णय गरिएको छ ।

जसअनुसार प्रदेश नं. १ मा असोज पहिलो साता, प्रदेश नम्बर ३ मा भदौको अन्तिम सातामा, प्रदेश ४ (गण्डकी) मा असोजको अन्तिम साता, प्रदेश नं. ५ मा मंसिरको पहिलो साता, कर्णाली प्रदेशमा मंसिरको दोस्रो साता र सुदूरपश्चिममा कार्तिकको अन्तिम साता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार रक्षाको प्रश्न विषयक अन्तरक्रिया गरिने छ ।

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सञ्चालन गरेका आन्दोलनहरुलाई प्रगतिशील पत्रकार संघले समर्थन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी विधेयकहरु फिर्ता गराउनका लागि महासंघलाई दवाव दिने बैठकले निर्णय गरेको छ ।

त्यस्तै पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा देशमा क्रियाशील विभिन्न सञ्चार संगठनहरुसंग विगतमा गरिएका गठबन्धन र सहकार्यलाई निरन्तरता दिइने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा न्यूज २४ को कार्यालयमै गएर कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई पक्राउ गर्ने प्रहरीको कार्यशैली ठिक नभएको बैठकले ठहर गरेको छ ।

उक्त प्रकरणमा घटनाको निष्पक्ष र न्यायिक छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षसंग आग्रह गर्दै कूनैपनि प्रकारको आग्रह र पूर्वाग्रह नराखी उक्त घटनाका दोषी नउम्किने र निर्दोष फस्न नहुने गरी निष्पक्षीय रुपमा अनुसन्धान गर्न आग्रह गरिएको छ ।

यसैगरी रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सडक दुर्घटनामा परी भएको असामयिक निधनप्रति प्रगतिशील पत्रकार संघ, नेपाल केन्द्रिय समिति र रुपन्देहीले शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्