विराटनगर विमानस्थलको डीपीआर स्वीकृत नभएकोमा स्थानीय आन्दोेलित



सरोज यादव, विराटनगर ।प्रदेश १ को राजधानी विराटनगरस्थित विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउने डीपीआर तयार भएको एक वर्षसम्म पनि स्वीकृत नभएपछि दबाब दिन संघर्ष समिति गठन भएको छ। पर्यटन व्यवसायी पुण्य भट्टराई संयोजक रहने गरी ५१ सदस्य संघर्ष समिति गठन भएको हो।

विराटनगरका होटल व्यवसायी, पर्यटन व्यवसायी, उद्योग वाणिज्य महासंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, विराट व्यापार संघ, नागरिक समाजलगायतको संघर्ष समिति गठन भएको समिति संयोजक भट्टराईले बताउनुभयो। स्व. रवीन्द्र अधिकारीको कार्यकालमा बनेको डीपीआर प्रतिवेदनलाई स्वीकृत गरी विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउन दबाब दिइने बताउनुभयो।

ऐतिहासिकतासँग जोडिएको विराटनगर जिमानस्थललाई वेवास्ता गरिएपछि आन्दोलित हुनु परेको उहाँको भनाइ छ। विराटनगरभन्दा पछाडि नै डीपीआर भएको नेपालगन्जको स्वीकृत भएको छ उहाँले भन्नुभयो–‘विराटनगर विमानस्थलको डीपीआर स्वीकृत नहुनुले विराटनगरलाई ओझेलमा पार्ने काम भएको छ।’

संघर्ष समितिले शनिबार पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईसँग छलफल गर्ने र मन्त्री भट्टराईसँग भएको छलफलको आधारमा आन्दोलनका कार्यक्रम कसरी लैजाने भन्ने तय हुने बताएको छ। यसअघि प्रदेश सरकारले पनि विराटनगर विमानस्थलालाई अन्तर्राष्ट्रियस्तरको बनाउँदै क्षेत्रीय विमानस्थल बनाउने बारेमा संघीय सरकारलाई ध्यानाकर्षण गराएको थियो।

त्यस्तै अन्तर्राष्ट्रियस्तरको बनाउनको लागि प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्भाव्यता अध्ययन गरी डीपीआर तयार गर्न संघीय सरकारसँग आग्रह गर्दै आएको थियो।

। गत भदौ महिनामा नै भएको डीपीआरको प्रतिवेदन अहिलेसम्म स्वीकृत भएको छैन। प्रतिवेदन तयार भएपछि प्रतिवेदनका आधारमा छलफल गर्नुपर्ने भए छलफल गर्ने अन्यथा त्यसलाई स्वीकृत गरेर बजेट विनियोजन गर्दै कार्यान्वयनमा जानुपर्नेमा संघीय सरकारले चासो नदिँदा विराटनगर विमानस्थल ओझेलमा परेको छ।

विमानस्थलको डीपीआर बनाउने क्रममा प्रतिबेदनमा विमानस्थललाई २४ सय मिटरको बनाउने या तीन हजार मिटरको बनाउने भन्ने बारेमा स्पष्ट उल्लेख गरिएको नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए।

विमानस्थलको स्तरोन्नतीको प्रशासनिक खर्च भनेर देशका ५ वटा विमानस्थललाई जम्मा एक करोड बजेट आएको भए पनि सामान्य स्तरोन्नती बाहेकको काम हुन नसक्ने प्राधिकरणका कर्मचारी बताउँछन्।

नागरिक उड्डयन प्राधिकरण विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले विराटनगर विमानस्थलको स्तरोन्नतीको लागि पाँचवटा विमानस्थललाई जम्मा १ करोड रकम छुट्याइएको जानकारीमा आएको बताउनुभयो।

स्तरोन्नतीको लागि भनेर आएको रकम विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढीलाई बाँडिने छ। अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनको लागि विमानस्थलको पूर्वमा रहेको साढे ४ बिगाहा जग्गा अधिग्रहरणको काम सकिएको छ।

त्यस्तै २४ सय मिटर बनाइँदा पश्चिमको १२५ बिगाहा चाहिने भनिएकोले डिपिआर स्वीकृत भएपछि अधिग्रहणको काम अगाडी बढाउन सकिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्