खरिद नियमावलीअनुसार म्याद थप नहुँदा व्यवसायी मारमा मन्त्रालयमै ढले निर्माण व्यवसायी



नेपाल समाचारपत्र, काठमाडौं । सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ को प्रावधान विपरित निर्माण परियोजनामा म्याद थप हुन नसक्दा व्यवसायी चौतर्फी मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।

म्याद थप नभएकै कारण चौतर्फी मानसिक दबाब झेल्नु पर्दा दैलेखका एक निर्माण व्यवसायी अचेत भएको महासंघले जनाएको छ। महासंघका सदस्य समेत रहेका लोकराज पुरी भदौ ६ गते शहरी विकास मन्त्रालयमा अचेत भएपछि उनको अहिले अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको महासंघद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

पुरी ज्वाला पञ्जकोशी निर्माण सेवाका प्रोपाइटर तथा निर्माण व्यवसायी संघ दैलेखको सदस्य रहेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो।
शहरी विकास मन्त्रालयअन्र्तगत दैलेखमा तीन वटा प्याकेजमा स्वास्थ भवन निर्माण कार्यको म्याद थपको लागि बारम्बार शहरी विकास मन्त्रालय तथा विभागमा ताकेता गर्दा समेत कुनै सुनुवाई नभएपछि व्यापक तनावमा आई उनी अचेत भएको बताइएको छ। सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ जारी भए पछि निर्माण परियोजनामा म्याद थपको जटिलता थपएिको महासंघको भनाइ छ।

नियमावलीमा विविध कारणले सम्पन्न हुन नसकेका परियोजनाको हकमा एक वर्ष म्याद थप गर्ने प्रष्ट प्रावधान हुँदाहुँदै पनि अहिले आएर सरोकारवाला निकायले म्याद थप गर्न आनकानी गरेको महासंघले जनाएको छ।

म्याद थप गरेपनि १० प्रतिशत जरिवाना लगाउने प्रावधानका कारण निर्माण व्यवासायी ठूलो मानसिक तनाव झेल्न बाध्य भएको र पुरी प्रकरणले पनि यसलाई पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।

विविध कारणले सम्पन्न हुन नसकेका रुग्ण परियोजनाहरूका हकमा प्राविधिक प्रतिवेदनको आधारमा एकपटकको लागि म्याद थपका लागि महासंघले निरन्तर आवाज उठाउँदै आएकोमा सोही बमोजिम नियमावलीमा म्याद थपको प्रष्ट प्रावधान उल्लेख हुनु सकारात्मक पक्ष भएको महासंघको भनाइ छ।

सम्पन्न हुन नसकेका सबै परियोजनाहरूमा निःसर्त एक वर्ष म्याद थप्न अन्यथा कुनै कारणले अब ढिलाई हुनु हुँदैन भन्ने धारणा महासंघको रहेको विज्ञप्तिमा उल्लेख छ। परियोजनाहरूलाई आर्थिक भार नपर्ने भने झै निर्माण व्यवसायीलाई पनि बिना जरिवाना, म्याद थप हुने तथा गर्ने गरी सम्बन्धित कार्यालयको तर्फबाट यथाशीघ्र कार्यन्वयन गर्न महासंघले विज्ञप्ति मार्फत् अनुरोध गरेको छ।

महासंघले पुरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै म्याद थप नहुँदा अन्य निर्माण व्यवसायीहरूको हकमा पनि यस्तै समस्या देखिन सक्ने तर्फ सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

यसैबीच सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ को नियम ६५ को उपनियम ४ (च) मा उल्लेख भए अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको ढाँचामा बैंक क्रेडिट लाइनको सुविधा उपलब्ध भएको हुनुपर्ने छ भनि उल्लेख भएको महासंघले जनाएको छ।

उक्त नयाँ ढाँचाअनुसार सो को लागि ऋण सरह नै असीमित धितो आवश्यक भई बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा क्रेडिट लाइन जारी हुन नसकेकोे अवस्था रहेको महासंघको भनाइ छ।

एउटा बोलपत्रमा सहभागी हुँदा ठूलो धनराशी खर्च हुने जस्तै क्रेडिट लाइनको ०.६ प्रतिशत बार्षिक खर्चहुने र एउटा–दुईटा सीमित बैंकले आफुखुशी अत्याधिक कमिसन लिने गरी बिड बोन्डभन्दा ८ गुणा बढी तथा पर्फमेन्स बोन्डभन्दा चार गुणा बढी कमिसनमा खर्च भइरहेको महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्