पूर्वराष्ट्रपतिका लागि जमानत माग



खार्तोम, (एजेन्सी)। लामो समयदेखि सुडानको सत्तामा रहेका तथा अपदस्थ पूर्वराष्ट्रपति ओमार अल बासिर शनिबार अदालतमा उपस्थित भएका छन्। आफूविरुद्ध लगाइएका भ्रष्टाचारको मुद्दाको सिलसिलामा उनी दोस्रो पटक अदालतमा उपस्थित भएका हुन्।

उनका वकिलले उनलाई जमानतमा रिहा गरियोस् भनी अनुरोध गरेका छन्। परम्परागत सेतो गाउन लगाएर अदालतमा पिंजडाभित्र उपस्थित भएका थिए। यसअघि सोमबार भएको पहिलो सुनुवाइमा उनले पछिल्ला केही वर्षमा साउदी शाही परिवारबाट कम्तीमा ९ करोड अमेरिकी डलर प्राप्त गरेको स्विकारेका छन्।

राजधानी खार्तोममा शनिबार अदालतमा न्यायाधीशले तीन जना साक्षीको बयान लिएका थिए। तिनीहरूमध्ये दुई अनुसन्धानकर्ताले बासिर अपदस्थ भएपछि उनको निवास स्थानमा छापा मार्ने काममा सामेल भएका थिए।

तेस्रो साक्षी बैंकर रहेका छन्। बासिरका वकिल हासेम अवु बाकरले भनेका छन्– ‘हामीले उनलाई जमानतमा रिहाइ गर्न माग गरेका छौं। न्यायाधीशले लिखित अनुरोधमाथि छानिबन गर्ने बचन दिएका छन्।’

अत्यन्तै कडा सुरक्षा प्रबन्धबीच सुनवाइ कार्य सकिएपछि ७५ वर्षीय बासिरलाई पुनः कारवासमा लगिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्