बेलायतका विद्यालयलाई चिनीमुक्त बनाउन माग



लन्डन, (एजेन्सी)। दाँत कुहिने समस्याविरुद्ध अभियाने चलाउने उद्देश्यले डेन्टल सर्जनहरूले बेलयात सरकारसँग सम्पूर्ण विद्यालयलाई चिनीमुक्त बनाउन आह्वान गरेका छन्।

पाँच वर्षमुनिका २५ प्रतिशतभन्दा बढी बालबालिकामा देखिएको दाँतसमबन्धी समस्याको निराकरणका लागि यो अभियान आवश्यकै रहेको तिनीहरूको दाबी छ।

साथै ती दन्त चिकित्सकले विद्यालयमा विद्यार्थीहरूले दाँत माझेका छन् वा छैनन् भन्ने विषयमा गम्भीर निगरानी र चासो राखिनुपर्ने र स्वस्थ प्याकेट लन्चहरूमा दाँत सरसफाइसम्बन्धी स्वास्थ सल्लाह उल्लेख हुनुपर्ने पनि बताएका छन्।

डाउनिङ स्ट्रिट छोड्नुअघि प्रधानमन्त्री टेरिजा मेले बालबालिकाको मुखको स्वास्थ सुधार्नका लागि योजनाहरू घोषणा गरेकी थिइन्। उनको सरकारले रोकथाम गर्न सकिने स्वास्थसम्बन्धी यस समस्याका कारणहरू रोक्नका लागि हरित पत्र सार्वजनिक गरेको थियो।

बेलायतको डन्टल फ्याकल्टीले विगत तीन वर्षयता दाँत कुहेको समस्या लिएर अस्पतालमा भर्ना हुन आउने पाँचदेखि नौ वर्ष उमेर समूहका बालबालिकाको संख्या ह्वात्तै बढेको जनाएको छ।

तर हालै प्रकाशित स्वास्थसम्बन्धी एउटा प्रतिवेदनमा अठार वर्षमुनिका ४१ प्रतिशत व्यक्ति दाँतको समस्या भएर पनि अस्पताल नपुगेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्