यति सानो मुलुकमा संघीयता !



संघीयता अमेरिका, भारत, चीन, अस्ट्रेलियाजस्ता ठूला मुलुकको लागि मात्र उपयुक्त छ। यी मुलुकको भूभाग विशाल छ। विशाल भूमि भएर यी मुलुकमा संघीयताको आवश्यकता परेको हो। हाम्रो मुलुक पटनाको विहारजत्रो सानो छ भने यहाँ संघीयता किन चाहियो ?

नेपालमा संघीयता उपयुक्त छैन भन्ने मेरो भनाइ कतिपय महानुभावलाई पच्दैन होला। कतिपयले यो त बौलायो पनि भन्लान् ? कतिपयले यो त संघीयता विरोधी रहेछ पनि भन्न सक्छन् ? यी सबै कुरा नभनौं भने मनमा पीडा हुन्छ, भनौं भने कतिपयलाई असह्य हुन्छ होला।

आफ्नो मनमा लागेको विचार व्यक्त गर्यो भने पनि पीडा केही शान्त हुन्छ। हामी नेपाली धनी छौं तर मुलुक गरिब छ। मुलुकको अर्थतन्त्र कमजोर छ। अन्तर्राष्ट्रिय मुलुकहरूले सहयोग र ऋण दिएकोले हाम्रो मुलुक चलिरहेको छ। हामी नेपालीको औकात नै के छ ?

अझ हामी ‘जुन गोरुको सिङ छैन उसको नाम तिखे’ जस्तो बन्न खोज्छौं। मुलुकमा नाकाबन्दी भयो भने भोकभोकै मर्नेसम्मको अवस्था आउँछ। कृषिप्रधान मुलुक भन्छौं तर हामी कृषिक्षेत्रमा पनि सक्षम छैनौं ?

युवा–युवतीहरू रोजगारीका लागि बाहिरी मुलुक पलायन भइरहेको अवस्था छ। दुबई र कतारजस्ता मुलुकहरू पनि कुनै न कुनै वस्तु निर्यात गर्नमा सक्षम छन्। हाम्रो मुलुकले भने धेरै आयात गर्छ।

केही खाद्यान्न निर्यात गरे पनि पुनः त्यही खाद्यान्न महँगोमा आयात गर्छ। मुलुकको दयनीय अवस्था छ तर हाम्रो फूर्ति र धाक बेग्लै किसिमको छ। यस अवस्थामा यति सानो मुलुकमा संघीयताको औचित्य के ?

– राकेशकुमार शर्मा, हेटौंडा उमनपा–२, मकवानपुर

 

प्रतिक्रिया दिनुहोस्