प्रेमगीत गाए ८० जनाले



सफल सिरिज फिल्म प्रेमगीतको तेस्रो सिक्वेल प्रेमगीत–३ को शीर्ष गीतको रेकर्डिङ भएको छ। प्रेमगीत–३ को शीर्ष गीतको रेकर्डिङ कार्य रेडियो नेपालमा सम्पन्न गरिएको हो।

फिल्मको गीत ८० जनाभन्दा बढी वाद्यवादक र कलाकारहरूको सहभागितामा रेकर्डिङ गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी गराएका छन्।

निर्माता सेनका अनुसार रेकर्डिङको सामूहिक स्वरका लागि कलाकारहरू शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेनलगायतका कलाकार रेडियो नेपाल पुगेका थिए।

आकेस्ट्रासहितको वाद्यवादकको संलग्नतामा रेकर्डिङ गरिएको गीत प्रताप दास र प्रविशा अधिकारीले गाएका छन्। राजेश कुमारको शब्द रहेको गीतको संगीत संयोजन एलिश कार्कीले गरेका हुन्।

दशैंलगत्तै छायांकनमा जाने फिल्ममा शिव श्रेष्ठ, सुनील थापा, प्रदीप खड्का, कृस्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, माओत्से गुरुङ, लक्ष्मी बर्देवालगायतका कलाकारले अभिनय गर्नेछन्।

फिल्म निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्तरूपमा निर्देशन गर्दै छन्। फिल्मको कथा निर्देशक गुरुङ र मन्दीप गौतमले लेखेका छन्। फिल्म आगामी चैत २८ गते अल नेपाल रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्