सत्य किंवदन्तीका भीमेश्वर



चिरञ्जीवी मास्के, दोलखा । धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वको शहर हो द्वाल्खा (दोलखा) जहाँ सत्य किंवदन्तीका भीमेश्वर विराजमान रहेका छन्। जब–जब मुलुकमा सङ्कट आउँछ भीमेश्वरको शिलामा पसिना आउँछ भन्ने जनविश्वास २१औं शताब्दीमा पनि अझै कायमै छ।

पसिनासँग सङ्कट जोडिएको किंवदन्तीलाई भीमेश्वरको शिलाले पटक–पटक प्रमाणितसमेत गरिदिएको छ। विसं १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१ साल मंसिर ३० गते र फागुन १३ गते तथा २०७४ साल असोज ११ गते भीमेश्वरको शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ बताउनुहुन्छ।

भीमेश्वरको शिलामा पसिना आएपछि हरेकपटक केही दिन वा केही महिनाको अन्तरमा देशले ठूलै सङ्कटको सामना गर्नुपरेको उदाहरण रहेको स्थानीय वृद्धहरूको भनाइ छ।

पछिल्लोपटक २०७१ साल मंसिर ३० र फागुन १३ गते भीमेश्वरको शिलामा पसिना आएको थियो भने लगत्तै २०७२ वैशाख १२, १३ र २९ गते ठूलो भूकम्प आएर देशले धेरै जनधनको क्षति व्यहोर्नुपरेको थियो। तर, भीमेश्वरको शिलामा पसिना आउँदा हरेकपटक अनिष्ट मात्र हुन्छ भन्ने कुरामा सत्यता नभएको स्थानीय बुद्धिजीवी शान्तकृष्ण श्रेष्ठ बताउनुहुन्छ। भीमेश्वरको शिलामा पसिना आउँदा देशमा राम्रो काम भएको उदाहरणसमेत रहेको श्रेष्ठको दाबी छ।

भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिरका गुठीयार तथा स्थानीयले कपासले पसिना पुच्छने, शिलालाई हम्कने, घण्टा, नगरा, झ्याम्टा बजाएर प्राथना गर्ने प्रचलन रहेको मन्दिरका टहलवा काशीनारायण श्रेष्ठ बताउनुहुन्छ।

भीमेश्वरको शिलामा पसिना आएपछि पसिना पुछेको कपाससहित राष्ट्रप्रमुखलाई जानकारी गराइने र राष्ट्रप्रमुखले क्षमापूजा पठाउने प्रचल रहीआएको छ। गृह मन्त्रालयले पनि क्षमापूजा गर्ने प्रचलन रहेको छ।

शिलामा पसिना आएपछि लघुरुद्री गरिने र सरकारका तर्फबाट जोर बोका तथा स्थानीयको तर्फबाट जोर बोका गरी ४ वटा बोकाको बलीपूजा गरिने स्थानीयको भनाइ छ।

पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने र यात्रा शुभ रहने जनविश्वाससमेत रहेको छ। त्यसैले पसिना पुछेको कपास लिनसमेत भीड लाग्ने गरेको मन्दिरका टहलवा काशीनारायण श्रेष्ठ बताउनुहुन्छ।

भीमेश्वरको शिलाको किंवदन्ती

किंवदन्तीअनुसार सातौं शताब्दीभन्दा अघिदेखि नै द्वाल्खा (दोलखा) बजार भारत र चीनको व्यापारीक मार्ग र व्यापारी तथा भरियाहरूको आराम गर्ने थलोका रूपमा रहेको थियो।

एकदिन भरियाहरू आरामपछि खाना खान एउटा ठडिएको ढुङ्गामा दुईवटा थप ढुङ्गा गाडेर खाना पकाउन खोज्दा पहिलेदेखि नै ठडिएर रहेको ढुङ्गापट्टि जति समय राखे पनि खाना काचै बसे छ।

खाना काचै भएपछि भरिया रिसाएर दाबिलोले पहिलेदेखि नै ठडिएको ढुङ्गामा प्रहार गर्दा ढुङ्गाको चोइटा गएको र त्यहाँबाट दूध तथा रगत बग्न थालेको किंवदन्ती अहिले पनि प्रचलित छ।


त्यसरी ढुङ्गाबाट रगत र दूध बग्न थालेपछि भरियाहरू डराई क्षमा माग्दै १२ बोकाको पूजा गरी मन्दिर निर्माण गरेको र सोही शिलालाई भीमेश्वर महादेव भनिएको स्थानीय वृद्धहरू बताउँछन्।

हिन्दू धर्मअनुसार महादेवले बली नखाने भए पनि भीमेश्वर मन्दिरमा जनैपूर्णिमाको दिन कालिञ्चोक भगवती प्रवेश गर्ने विश्वासको आधारमा भीमेश्वर मन्दिरमा राँगा, बोका र कुखुराको बली (भोग) दिने प्रचलन रहेको छ।

यसरी मन्दिरमा बली दिँदा महादेव मन्दिरपछाडि रहेको चूडामणि स्तम्भमा गएर बस्ने जनविश्वाससमेत रहँदै आएको छ। भीमेश्वर मन्दिरमा विशेष गरी दशैं, तिहार, चैतेदशंै, कात्तिक पूर्णिमा, भीम एकादशी, शतबिज छर्ने पर्व आदिमा ठूलो मेला लाग्ने गर्दछ।

सामान्यतया हरेक दिन पूजा आरधना गर्न सकिने भीमेश्वर मन्दिरमा शुक्रबार, शनिबार र मंगलबार अत्यधिक धार्मिक पर्यटक पुग्ने गरेका छन्। बडादशैं, चैतेदशैं र कात्तिक पूर्णिमामा पञ्चवलीसमेत हुने गरेको छ। अरू समय राँगाको बली नदिइए पनि पञ्चवलीमा भने राँगाको समेत बली दिइन्छ।

कसरी पुग्ने/कहाँ बस्ने
दोलखाको भीमेश्वर नगरपालिका–२ को प्राचीन शहर द्वाल्खा (दोलखा) मा रहेको भीमेश्वर मन्दिरसम्म पुग्न सदरमुकाम चरिकोटबाट ४ किलो मिटरको दूरी तय गर्नुपर्छ। काठमाडौं, भक्तपुर, बनेपा धुलिखेल, खाडीचौर, मुडे हँुदै १ सय ३३ किलो मिटरको यात्रापछि दोलखा सदरमुकाम चरिकोट पुग्न सकिन्छ।

अहिले सिन्धुपाल्चोकको खाडीचौरबाट चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम भइरहेकाले साना सवारीसाधन सञ्चालनमा समस्या भएपछि कतिपय साना सवारी साधनहरू बनेपा, खुर्कोट, रामेछाप हुँदै दोलखा पुग्ने गरेका छन्। खुर्कोट, रामेछाप हँुदै दोलखा आउन झन्डै १ सय ८० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ।

खाडीचौर मुडे हुँदै चरिकोट आउन साना सवारीसाधन सुमोले प्रतिव्यक्ति ५ सय ५० रुपियाँ भाडा लिने गरेको छ भने बसले प्रतिव्यक्ति ३ सय ६० रुपियाँ लिने गरेको छ।
दोलखा भीमेश्वर मन्दिर आउने धार्मिक पर्यटकहरूलाई बस्न सदरमुकाम चरिकोट र द्वाल्खा (दोलखा) बजारमा सुविधा सम्पन्न होटल तथा लज रहेका छन्।

चरिकोट र दोलखामा रहेका होटलहरूले स्तरअनुसार एउटा कोठाको १ हजारदेखि ३५ सय रुपियाँसम्म लिने गरेका छन्। भने खानामा सादा २ सय र मासुसहितको साढे ३/४ सय रुपियाँ लिने गरेका छन्।

मन्दिर व्यवस्थापनमा समस्यै समस्या

भरत श्रेष्ठ
अध्यक्ष, भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति

भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले के काम गर्छ ?

यो समितिले मन्दिरको सरसफाइ, पूजाको व्यवस्थापन, दैनिक पूजाको व्यवस्थापन, विभिन्न जात्रा तथा पर्वहरूको व्यवस्थापन, भेटी सङ्कलन र गुठी सञ्चालन जस्ता विषयमा काम गर्दै आएको छ।

पूजा व्यवस्थापनमा विशेष गरी भेटी संकलन र बलीपूजा व्यवस्थापन प्रमुख छन्। समितिले भेटी सङ्कलन र त्यसको उपयोग तथा बलीको व्यवस्थापन गर्छ। मन्दिरमा धार्मिक पर्यटकले बलीपूजा गर्दा समितिलाई बोकाको ५० रुपियाँ, भालेको ३० रुपियाँ, हाँसको ५० रुपियाँ र राँगाको १ सय रुपियाँ लिने गरेको छ।

मन्दिर व्यवस्थापनका लागि जनशक्ति कसरी परिचालन गरिएको छ ?

पूजा तथा मन्दिर व्यवस्थापनका लागि कार्यालय सहायक १ जना, टहलवा ३ जना, भेटी सङ्कलक १ जना र सरसफाइ गर्ने ४ जना राखिएको छ।

 

२०७२ सालको भूकम्पले मन्दिरमा कुनै क्षति पुग्यो कि ?

२०७२ सालको विनाशकारी भूकम्पले मन्दिरको संरचनामा खासै प्रभाव पारेको छैन। भूकम्पले भीमेश्वर मन्दिरको भण्डार घर र पाटीमा क्षति पुगेको थियो। अहिले पुरातत्व विभागले भण्डार घर लगभग निर्माण गरिसकेको छ भने पाटी पनि निर्माण गरिदिने बताएको छ। तर, प्राचिन द्वाल्खा शहरमा ठूलो क्षति पुगेकाले त्यसबाट केही समस्या भने भएको छ।

धार्मिक पर्यटक आगमनको अवस्था कस्तो रहेको छ ?

२०७२ सालको विनाशकारी भूकम्पलगत्तै पर्यटकको संख्यामा केही कमी रहेको भए पनि त्यसपछि उल्लेख्य मात्रामा पर्यटक आएका थिए। तर, अहिले खाडीचौर–चरिकोट सडक स्तरोन्नतिको कामले यातायात सञ्चालनमा समस्या भएपछि पर्यटक आगमनमा समेत कमी आएको छ।

श्रीकृष्णलाई रुक्मिणीको प्रेमपत्र !

रुक्मिणी विदर्भ देशकी राजकुमारी थिइन्। उनी परम सुन्दरी र सुशील थिइन्। उनको प्राणप्रण लीलाधर श्रीकृष्णको दिव्यप्रेममा समर्पित थियो र उनी कृष्णजीसँग विवाह गर्न चाहन्थिन्। बुबा भीष्मकको इच्छा पनि छोरीको विवाह कृष्णसँग नै होस् भन्ने थियो।

तर, रुक्मिणीको जेठो दाजु रुक्मि भने आफ्नी बहिनीको विवाह शिशुपालसँग होस् भन्ने चाहन्थ्यो र उसैको बलमा रुक्मिणीको विवाह शिशुपालसँग निश्चित पनि भयो। भगवान् कृष्णसँग रुक्मिणीजीको देखभेट र चिनजानसम्म थिएन।

तर पनि रुक्मिणीले हिक्मत हारिनन्। उनले सुदेव नामका ब्राह्मणदूत हस्ते एउटा सप्तश्लोकी प्रेमपत्र पठाइन् र जसरी पनि आफूलाई हरण गरेर लैजान श्रीकृष्णलाई आमन्त्रण गरिन्।

७ श्लोकको त्यस चिठ्ठीमा उनले लेखिन्– ‘नाथ म कुनै कामभोगी पुरुषसँग विवाह गर्न चाहन्न र मैले आफ्नो आत्मालाई हजुरमा अर्पित गरेकी छु। यसमा मेरो कुनै दोष छैन। म लज्जायुक्त नै थिएँ तर हजुरका सद्गुणले मलाई निर्लज्ज बनाइदिएका छन्।

हो, म निर्लज्ज भएकी छु। त्यसैले एक प्रकारले मेरो यस निर्लज्जताको दोषी हजुरका सद्गुण हुन्। हजुर अन्तरयामी हुनुहुन्छ र मेरो मनोदशाबाट अवश्य परिचित हुनुहुन्छ। अरू म के लेखुँ ?’

यति भन्दाभन्दै पनि उनले लेखिन्– ‘मैले सधंै नियमित सत्कर्म गर्ने चेष्टा गर्छु र कैयौं व्रत र नियम पालना गर्ने गरेकी छु। तुलसीको नित्य पूजा नगरी म पानीसम्म खान्न। यत्ति नै होला मेरो निजी सम्पत्ति जो अब उप्रान्त हजुरको हुनेछ। कृपयाँ मलाई स्वीकार गर्नुहोस्।

म प्रतिदिन देवी पार्वतीको पूजा गर्न मन्दिर जाने गर्छु। मलाई नियत समयमा भोलि बिहान त्यहींबाट हरण गरी लैजानुहोस् !

उनको अन्तिम श्लोक ‘यह्र्यम्बुजाक्ष नलभेयं भवत्प्रसादम् !
जह्याम्सुन व्रतकृशाञ्छतजन्मभीष्म स्यात् !’
कदाचित् हजुरले स्वीकार गर्नुभएन भने म यस शरीरलाई त्यागिदिनेछु।

चाहे अनेकौं जन्म किन नलिनु परोस् मैले वरण हजुरबाहेक अरूलाई गर्नेछैन।’

भोलिपल्ट रुक्मिणीको देवीपूजन सकिनासाथ श्रीकृष्णको गरुडध्वज भएको रथ सारथि दारुकले मन्दिरको ढोकामा पुर्याए।

शिशुपाल–रुक्मिणी विवाहको वरियातमा आएका जरासन्ध, शाल्व, दन्तवक्र र जयसेनसमेतका अति बलशाली महारथीको सामुन्नेबाट द्वारिकापतिले रुक्मिणी हरण गरेर लगे। उनीहरूले केहीबेर युद्ध अवश्य गरे तर सबै परास्त भए।

–बाबुलाल भण्डारी

प्रतिक्रिया दिनुहोस्