इरास्मस परियोजना सम्पूर्ण कागजात गायब



ईश्वरराज ढकाल, काठमाडौं। युरोपियन युनियनको इरास्मस परियोजनाको सम्पूर्ण कागजात गायब भएको छ। उच्च स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियोजनाको बारेमा छनबिन गर्न त्रिभुवन विश्वविद्यालयलाई पत्र पठाएर छानबिन शुरू गर्न थालेलगत्तै उक्त कागजात गायब भएको हो।
त्रिविले जनप्रशासन क्याम्पसका क्याम्पस प्रमुख टेकनाथ ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। त्रिवि पाठ्यक्रम विकास केन्द्रका पूर्व कार्यकारी निर्देशक प्रा. केशव श्रेष्ठ, सेरिडका पूर्व निर्देशक जीवनाथ धिताल र त्रिविका पूर्व लेखा नियन्त्रक शशी थापा सदस्य–सचिव रहेको उक्त समितिले छानबिन गरेको थियो।

दुई महिनाअघि परियोजनामा अनियमितता भएको तथ्यसहित नेपाल समाचारपत्रमा समाचार छापिएलगत्तै अनियमितता छानबिन गर्न मागसहित आयोगमा उजुरी दर्ता गरिएको थियो।

समितिले छानबिन शुरू गर्दै गर्दा संयोजक ढकाललाई सेवा आयोगको परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण काण्डमा निलम्बन गरिएको थियो। संयोजकबाहेकको टोलीले परियोजनामा भएको अनियमितताको विषयमा छानबिन गरेको थियो।

कायममुकायम उपकुलपति एवं शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठी र उहाँका श्रीमान् प्राडा रमेशप्रसाद भट्टराईले पदीय दुरुपयोग गरी सिङ्गो विश्वविद्यालय र राष्ट्रकै गरिमा समाप्त पार्ने काम गरेको, पारिवारिक करको दायरामा छुट हुनेभन्दा बढी दोहोरो सुविधा कर छलेको र पदको दुरुपयोग गरेकोलगायत १६ बुँदे आरोपसहित उजुरी दर्ता भएको थियो।

  •  विवादित त्रिपाठी कामु उपकुलपति 
  • २९ लाख भ्रमणमै स्वाहा
आयोगले उजुरीको विषयमा एक महिनाभित्र प्रतिवेदन पेस गर्न त्रिविलाई निर्देशन दिएको थियो। आयोगले विशेष गरी इरास्मस परियोजना र अन्य विषयमा भएको अनियमितताको कारणसहित बुँदागतरूपमा सत्य–तथ्य छानबिन गरी राय लेखी पठाउन आग्रह गर्दै त्रिविलाई पत्र पठाएको थियो।

‘आयोगको पत्रलगत्तै त्रिविले छानबिन शुरू गरेको हो।’ –हालै त्रिवि सेवाबाट निवृत्त उपकुलपति प्राडा तीर्थ खनियाँले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँकै कार्यकालमा सो परियोजना त्रिविमा भित्रिएको थियो। त्रिविले उक्त परियोजनामा घोटाला भएको आशंका गर्दै सो परियोजनाको रकमबाट विदेश गएका सबैसँग सोधपुछ गरेको थियो।

‘सोधपुछ शुरू गर्नासाथ परियोजनाको सबै विवरण र कागजपत्र माग गर्दा कसैले उपलब्ध गराएनन्।’ –स्रोतले भन्यो। टोलीले विदेश सयर गर्ने आरोप लागेका परियोजना प्रमुख कामु उपकुलपति एवं शिक्षाध्यक्ष प्राडा त्रिपाठी, प्राडा भट्टराई, परियोजनाका कार्यकारी निर्देशक जगतकृष्ण पोखरेल, त्रिवि योजना महाशाखा प्रमुख डा. रिद्धीषकुमार पोखरेल, पाठ्यक्रम विकास केन्द्रका निर्देशक पारसनाथ यादव, अनुगमन कार्यकारी निर्देशक विष्णु खनाल, इन्जिनियरिङ अध्ययन संस्थान इरास्मस परियोजनाअन्तर्गत हब फोर्थ ग्रुपका संयोजक एवं इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक महेन्द्र धितालसहितसँग सोधपुछ गरेको थियो।

‘सोधपुछसँगै परियोजनाको विस्तृत विवरण माग गर्दा केही उपलब्ध गराइएन।’ –स्रोतले भन्यो। आयोगले इरास्मस परियोजना र अन्य उजुरीको विषयमा छानविन गरिरहेको छ। निवर्तमान उपकुपति प्राडा खनियाँले भने कागजात नभए पनि थप छानबिन गर्न आग्रह गर्दै अख्तियारलाई जवाफ पठाएको जानकारी दिनुभयो।
संयोजक नभएकाले केही समस्या परेको तर्क गर्दै उहाँले भन्नुभयो– ‘त्रिविले सक्दो छानविन गरी आयोगलाई थप छानविन गर्न पत्र पठाएको छ। छानविनका लागि महत्वपूर्ण मानिएको कागजात हराएको विषयमा हामी अचम्मित भएका थियौँ।

विश्वविद्यालयको गुणस्तर सुधार्न उपलब्ध गराइएको सहयोग रकम प्राडा. त्रिपाठीले खर्च गर्ने अधिकार लिनुभएको थियो। हालसम्म सो परियोजनासम्बन्धी सम्पूर्ण काजगपत्र कस्ले गायब गर्यो ? भन्ने विषयमा त्रिवि आफैं अचम्मित भएको छ। त्रिविले परियोजनाको सम्पूर्ण फायल हराउनु गम्भीर अपराध भएको तर्कसहित आयोगसमक्ष पत्र पठाएको हो। त्रिविले करिब दुई साताअघि आयोगमा पठाएको थियो।

निर्वतमान उपकुलपति प्राडा. खनियाले परियोजनाको रकम ग्रहण गर्ने र खर्च गर्ने अधिकार कार्यकारी परिषद्लाई भए पनि इरास्मस परियोजनाको रकमको विषयमा कार्यकारी परिषद्ले कुनै निर्णय नगरेको दाबी गर्नुभयो।

परियोजनामा करिब ३२ हजार युरो अर्थात् करिब ३५ लाख रुपियाँ रकम आएको थियो। तीमध्ये करिब २९ लाख रुपियाँ भ्रमणमै सकिएको छ।

प्रतिक्रिया दिनुहोस्