बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह



वासिङ्टन । संयुक्तराष्ट्र बालकोष (युनिसेफ) का कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट्र ९जी७० का नेताहरुले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

हेनरिताले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा सिरियामा सन् २०१९ को शुरुआतदेखि हालसम्म कम्तीमा ४१९ जना बालबालिका मारिएका र झण्डै १६९ जना बालबालिकालाई विद्रोहीले सेनामा भर्ना गरेको उल्लेख छ ।

उत्तरपश्चिम सिरियामा मात्र शैक्षिक संस्थामा ७३ पटक, स्वास्थ्य संस्थामा ४९ पटक र खानेपानीका पूर्वाधारमा २९ पटक आक्रमण भएको युनिसेफको भनाई छ । खानेपानीका पूर्वाधारमा भएको आक्रमणबाट छ लाख १० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए ।

“इड्लिबमा भड्किएको हिंसा अझ व्यापक हुने संकेत पाइएका छन् । यी हिंसाबाट बालबालिका र सर्वसाधारणको मृत्यु वा घाइते हुने सम्भावना अझै बढेको छ । साथै, हिंसाबाट जोगिन ठूलो संख्यामा मानिसहरु पलायन हुने खतरा छ,” हेनरिताले भन्नुभयो ।

सिरियाली द्वन्द्व नवौं वर्षमा प्रवेश गरिसकेको सन्दर्भमा यस युद्धबाट प्रभावित सबै बालबालिकालाई सुरक्षित राख्न र उनीहरुको अधिकार रक्षाका लागि प्रमुख औद्योगिक राष्ट्रको भूमिका महत्वपूर्ण हुने युनिसेफले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्