नेपाल–भारत व्यापार सहजीकरण गर्न छलफल



नेपाल समाचारपत्र, काठमाडौं।  नेपाल उद्योग परिसंघले हालै नेपाल सरकारबाट भारतको नयाँ दिल्लीस्थित राजदूताबासमा इकोनोमिक काउन्सिलरको रुपमा नियुक्त नीता पोखरेल (अर्याल) सँग द्विपक्षीय व्यापार सहजीकरणका विषयमा अन्तक्र्रिया गरेको छ।

इकोनोमिक काउन्सिलर नीता पोखरेलसँग परिसंघले भारतसित आर्थिक तथा व्यापारिक सम्बन्ध र बढ्दो द्विपक्षीय व्यापारका विषयमा छलफल गरेको हो। छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले इकोनोमिक काउन्सिलर पोखरेललाई बधाइ दिँदै भारतसँगको व्यापारमा आउने समस्याको समाधानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।

अध्यक्ष मोरले भारतसँगको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावनालाई निर्यात व्यापारमा परिणत गर्न आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। हालै भारतले खाद्य तथा फलफूल र तरकारीमा नेपालको गुणस्तर निकायको प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरेको र यस्ता निर्णयले गैरकर अवरोध कम भइ भारततर्फको निर्यातमा सहयोग पुग्ने उल्लेख गर्नुभयो।

यसैगरी भारतीय पक्षले सहमति जनाइसकेको बल्क कार्गो सेवा रक्सोल बाहेक अन्य प्रमुख नाकामा पनि विस्तार गर्ने विषयलाई छिटो कार्यान्वयनमा लैजाने विषयमा पहल गर्न पनि इकोनोमिक काउन्सिलर पोखरेललाई आग्रह गर्नुभयो। वीरगन्जबाहेक विराटनगर र भैरहवामा पनि बल्क कार्गो रेल सेवा दिन नेपाल भारतबीच यसअघि नै समझदारी बने पनि अझै कार्यान्वयन हुन सकेको छैन।

भदौ २५ र २६ गते काठमाडौंमा आयोजना हुन लागेको नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी गराउँदै नेपालको पूर्वाधार क्षेत्रमा भारतीय लगानीकर्ता भित्र्याउन पनि दिल्लीस्थित नेपाली दूतावासले सक्रिय भूमिका निभाउन सक्ने पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो।

सो अवसरमा इकोनोमिक काउन्सिलर नीता पोखरेलले व्यापार सहजीकरणका लागि हरदम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भारतका केही राज्यसरकारहरूले नेपालको पर्यटकीय क्षेत्र तथा मन्दिर दर्शनमा सहुलियत प्रदान गरेकाले यसलाई थप व्यवस्थित गरि पर्यटन प्रर्वद्धनमा समेत सकृय भूमिका खेल्ने प्रतिबद्धता पनि काउन्सिलर पोखरेलले व्यक्त गर्नु भयो। सो बधाइ तथा भेटघाट कार्यक्रममा परिसंघका उपाध्यक्षहरूको पनि सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस्