लघुवित्त संस्थाले मर्जरमा जान रुची देखाएनन्



परिवर्तन देवकोटा, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढी भएको भन्दै त्यसलाई मर्जरको माध्यमबाट कम गर्ने नीति लिएसँगै अहिले बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर चलेको छ। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मर्जरमा जाने संस्थालाई प्रोत्साहनको नीति लिएसँगै अहिले यसले व्यापकता पाएको छ।

वाणिज्य बैंकहरू मर्जरमा जाने प्रक्रियामा रहेका छन् भने विकास बैंक, लघुवित्त संस्था तथा सहकारी संस्था पनि मर्जरका लागि छलफलरत छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकमात्र नभई लघुवित्त वित्तीय संस्थालाई पनि प्रोत्साहनको व्यवस्था गरेको छ।

यद्यपि, लघुवित्त वित्तीय संस्था भने राष्ट्र बैंकले दिएको प्रोत्साहन पर्याप्त नभएको बताएका छन्। राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई हेर्दा मौद्रिक नीति सार्वजनिक भएपछि एउटा पनि लघुवित्त संस्था मर्जर प्रक्रियामा गएका छैनन्।

मर्जर प्रक्रियामा रहेका लघुवित्त

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १९ लघुवित्त संस्थामात्रै मर्जर तथा एक्विजिसनमा सहभागी भएका छन्। यो संख्या अत्यन्तै न्यून हो। एकातिर लघुवित्त बैंकर्सहरू स्वेच्छिक मर्जरमा जान तयार भएको बताउँदै आएका छन् भने अर्कातिर मर्जर प्रक्रियामा गएकाहरूको संख्या भने न्यून छ।

उन्नती माइक्रोफाइनान्स र सहकार्य लघुवित्त वित्तीय संस्थाले गत साउन १९ गते मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेस गरेका छन्। मर्जरपछि यो कम्पनीको नाम उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था हुने सहमति भएको छ।

अहिले यी लघुवित्त वित्तीय संस्थाले पुँजी बजारमा कारोबार रोक्का गरी मर्जरपछिको एकीकृत कारोबारको प्रतीक्षामा छन्। यस्तै विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गरेको छ। अहिले विजय लघुवित्तको नाममा संस्थाले एकीकृत कारोबार गरिरहेको छ। सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त भने मर्जर भइसकेका छन्। मर्जरपछि सूर्याेदय लघुवित्त वित्तीय संस्थाको नाममा कारोबार गरिरहेको छ।

एनआरएन लघुवित्त वित्तीय संस्था, रामारोशन लघुवित्त वित्तीय संस्था र क्रियटिभ लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिएर अहिले एकीकृत कारोबार गरिरहेका छन्। मर्जरपछि यस संस्थाले एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार गरिरहेको छ।

आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्था पनि एकआपसमा गाभिएका छन्। मर्जरपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार गरिरहेको छ। यस्तै सारथी लघुवित्त वित्तीय संस्था र सत्यवती लघुवित्त वित्तीय संस्था पनि एकआपसमा गाभिएका छन्। मर्जरपछि यस संस्थाले सारथी लघुवित्त वित्तीय संस्थाको नाममा कारोबार गरिरहेको छ।

यस्तै कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्था पनि एकआपसमा गाभिएका छन्। मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाले जनकालिका लघुवित्त वित्तीय संस्थाको नाममा कारोबार गरिरहेको छ।य

स्तै मिर्मिरे लघुवित्त, नागवेली लघुवित्त वित्तीय संस्था र किसन माइक्रोफाइनान्स वित्तीय संस्था एकआपसमा गाभिएका छन्। मर्जरपछि किसन लघुवित्त वित्तीय संस्थाको नाममा कारोबार भएको छ। वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएका छन्।

प्रोत्साहन पर्याप्त भएन
मौद्रिक नीतिपछि मर्जरका लागि जुन लहर चल्ने अपेक्षा थियो, त्यसो हुन सकेन। मौद्रिक नीतिपछि लघुवित्तमा मर्जरको कुनै उत्साह नदेखिएको लघुवित्त बैंकर्स संघका उपाध्यक्ष प्रकाशराज शर्मा बताउनुहुन्छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थालाई विभिन्न ५ सुविधा दिए पनि त्यो पर्याप्त नभएको उहाँको जिकिर छ।

उहाँले भन्नुभयो–‘मर्जरमा जान चाहेका लघुवित्त मौद्रिक नीतिपछि झन् निरुत्साहित भएका छन्।’ हाल ९१ वटा लघुवित्त संस्थाहरू रहेका छन्। यो संख्या अत्यन्तै धेरै भएको र विकृति पैदा भएको बताउँदै उहाँले २५ लघुवित्त वित्तीय संस्थामात्रै अहिलेको आवश्यकता भएको स्पष्ट पार्नुभयो। उहाँले लघुवित्त संस्थाको मर्जर केका लागि भन्ने कुरा नै स्पष्ट नभएको उल्लेख गर्नुभयो।

मर्जरमा जाँदा सुविधा

मर्जर तथा प्राप्तिमा जाने लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले विभिन्न पाँच सुविधा दिएको छ। जसअनुसार, एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई सीमाभित्र ल्याउन समय थप गर्ने, तोकिएको पुँजी कोष अनुपात पुर्याउनु पर्ने समय थप गर्ने, सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संञ्चालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागू नहुने, स्वीकारयोग्य धितो लिई समूहमा आबद्ध भएका तथा नभएका गाउँपालिका क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई लघुवित्त वित्तीय संस्थाबाट लघुउद्यम सञ्चालन गर्न प्रदान गरिने कर्जाको सीमा १० लाख रुपियाँबाट १५ लाख रुपियाँ पुर्याइने तथा कर्मचारीहरूको तलब, भत्ता तथा सुविधालाई निक्षेपको रुपमा स्वीकार गरी स्रोत परिचालन गर्नसक्ने लगायतका विभिन्न सुविधा दिएको छ।

केन्द्रीय बैंकको दाबी
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने मौद्रिक नीतिले लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गरेको दाबी गर्नुभयो। उहाँले मौद्रिक नीति सार्वजनिक भएसँगै विस्तारै मर्जरको लहर चल्न थालेको बताउँदै लघुवित्तको मर्जरमा प्रोत्साहनले सहयोग गर्ने बताउनुभयो।

उहाँले वित्तीय स्थायित्वका आधारभूत कुरालाई खलल नपुग्ने गरी मौद्रिक नीतिले मर्जरमा प्रोत्साहन दिएको स्पष्ट उहाँको भनाइ छ। लघुवित्तका धेरैजसो समस्यालाई मौद्रिक नीतिले सम्बोधन गरेको बताउँदै उहाँले भन्नुभयो–‘मौद्रिक नीति सार्वजनिक भएपछि लघुवित्त वित्तीय संस्थाहरूमा मर्जरको लहर चलेको र विस्तारै मर्जर प्रक्रियामा आउने विश्वास लिएका छौं।’

प्रतिक्रिया दिनुहोस्