ग्रिनफिल्ड र रेडिअन्ट क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं ।ग्रिनफिल्ड र आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ग्रिनफिल्डले इबीएलाई २९–२० ले पराजित गर्यो। ग्रिनफिल्डका महेश दाहालले १० अंक जोडे। रेडिअन्टले हिमालयनलाई २३–२० ले हरायो। रेडिअन्टका राज रोकाले ११ अंक जोडे।

जुनियर ब्वाइजमै स्वर्णिमले पुष्प सदनलाई ८–४ तथा महामञ्जुश्रीले नेपाल सेन्ट्रललाई ४५–३० ले पाखा लगाए। स्वर्णिमका दीपेश शाक्यले ३ तथा महामञ्जुश्रीका शिभम लामाले ११ स्कोर गरे। सिनियर गल्र्समा स्वर्णिमले रुपिजलाई २४–१६ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।

स्वर्णिमकी प्रमिला दाहालले ८ अंक जोडिन्। सिनियर गल्र्सकै अन्य लिगमा रातो बंगलाले रेडिअन्टलाई १६–१० तथा द चाँदबागले जेसिस इन्टरनेसनललाई २७–१८ ले पन्छाए। रातो बंगलाकी नुर प्रधानले ६ तथा चाँदबागकी सुर्मा थेबेले ९ अंक बटुले।

सिनियर ब्वाइजमा ओसिसले एरिसलाई ३४–३२, एआईएले डेनेबलाई २९–२३, रातो बंगलाले बौद्ध चिल्ड्रेन हेभेनलाई ३६–२५ र नेपाल सेन्ट्रल द एक्सेल्सियरलाई ४०–३० ले निराश पारे।

ओसिसका सेदुप लामाले १९, एआईएका ओम शर्माले १६, रातो बंगलाका केभिक महर्जनले १६ र नेपाल सेन्ट्रलका सागरले १० स्कोर गरे।

 

प्रतिक्रिया दिनुहोस्