सहकारीद्वारा ३५ करोड हिनामिना, बचतकर्ताको बिचल्ली



नेपाल समाचारपत्र, बाँके। आर्थिक अपचलन भएको सहकारी वित्तीय विकास संस्थाका बचतकर्ताहरू संगठित भएर आन्दोलनको तयारी गरेका छन्।  शनिबार नेपालगन्जको नगर भवनमा जम्मा भएका बचतकर्ताहरूले कानुन व्यवसायी सुकइलाल बर्मा संयोजक र आशुतोष शुक्ला सहसंयोजक रहेको ५१ सदस्यीय संघर्ष समिति गठन गरेका हुन्।

संघर्ष समितिले तत्काललाई दुई वटा कार्यक्रम बाहिर ल्याएको छ। सहसंयोजक शुक्लाका अनुसार, भदौ ९ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र भदौ १० गते पत्रकार सम्मेलन गर्ने रहेको छ। त्यसपछि अरू कार्यक्रम अगाडि ल्याइनेछ।

‘बचतकर्ताले आफ्नो पैसा पाउनु पर्यो, हामीले त्यसका लागि दबाब दिन्छौं,’ सहसंयोजक शुक्लाले भन्नुभयो। सहकारीमा ३५ करोडभन्दा बढी हिनामिना भएको बाहिर आएको छ। असार २८ गते साधारण सभा हुँदासम्म सम्पर्कमा रहेका सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी अहिले सम्पर्कविहीन भएका छन्।

सहकारी बन्द रहेको छ। सहकारी सञ्चालकहरू फरार रहेका छन्। बाँके प्रहरीले सञ्चालकहरूको खोजी गरिरहेको छ। सहकारीको उच्च पदमा रहेका तीन जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइसकेको प्रहरीले थप दुई जनालाई पनि हिरासतमा लिएको छ।

सहकारीका सञ्चालकहरू फरार भएपछि खाइ–नखाई जम्मा पारिएको रकम डुब्ने चिन्तामा बचतकर्ता पुगेका छन्। आफ्ना बचत फिर्ताका लागि उनीहरू कडाभन्दा कडा आन्दोलन गर्न तयार रहेका छन्। गाउँ–गाउँबाट साइकलमा आएका किसान समूहमा बसेर दुःख सुनाइरहेका थिए।

दैनिक बचत गरेको, छोराले विदेशबाट पठाएको रकम राखेको यस्तो भयो भन्दै उनीहरू पछुतो मानिरहेका थिए। बाँकेमा धेरै बचतकर्ता रहेकोमध्येमा पर्ने सहकारीमा उच्च पदस्थ कर्मचारीहरूले पहिलेदेखि नै आर्थिक हिनामिना गर्दै आएको छानबिनका क्रममा देखिएको छ।

गत वैशाख १५ गते प्रबन्धक गोपाल भण्डारीको प्रतिवेदन, जेठ २६ गतेको नवराज उपाध्यायको संयोजकत्वमा छानबिन समितिको प्रारम्भिक प्रतिवेदन र असार २८ गतेको विशेष साधारण सभामा पेश भएको अध्यक्षको प्रतिवेदनले २०६५ देखि गडबडी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्