प्रविधिको प्रयोगले विपद् बाट बच्न सकिन्छ



डा. सुनुर वर्मा
प्रविधि विज्ञ

डा. सुनुर वर्मा ग्लोबल हेल्थ पाठ्यक्रमका परिकल्पनाकार हुनुहुन्छ। पेशाले मुटु विज्ञकारूपमा आफूलाई स्थापित गर्नुभएका वर्मा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कन्सल्टेन्टका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ बुल्गेरियाको राजधानी सोफियामा कार्यरत रहँदा छिमेरी मुलुक मेसोडोनियामा शरणार्थीको ठूलो समस्या देखापर्यो। त्यहाँको शरणार्थी समस्याले उहाँलाई पेशा नै परिर्वतन गर्न बाध्य बनाइदियो। स्न १९९९ देखि उहाँ शरणार्थी समस्या समाधान गर्न अग्रसर हुनुभएको छ। कोसोभो, मेसोडोनिया, श्रीलंका, मलेसियालगायतका मुलुकमा युनिसेफ र सरकारका तर्फबाट विपत् व्यवस्थापनमा कन्सलटेन्ट भएर काम गरिसक्नुभएका डा. सुनुरसँग नेपाल समाचारपत्रका लागि अर्जुन कार्कीले गर्नुभएको कुराकानी:

तपाईं २००१ देखि रणनैतिक सञ्चारमा आबद्ध भएर काम गरिरहनु भएको छ। रणनैतिक सञ्चारमा प्रविधिकोे भूमिका कस्तो देख्नुहुन्छ ?

प्रविधिलाई छोड्नु भनेको एउटा ठूलो भूल हो। हामी डरले प्रविधिकोे प्रयोग रोक्न चाहन्छौं तर प्रविधिले प्रदान गरेको सुविधा रोक्नु भनेको ठूलो भूल हो। प्रविधिमात्र आम मान्छेसँग पुग्ने एक सजिलो माध्यम हो। अल्पविकसित मुलुकमा जनसख्या वृद्धि अनुरूप प्रयाप्त जनशक्ति छैनन्। जो सहजरूपमा सबैतिर पुग्न सकुन्।

हामीसँग त्यस्ता स्रोत साधन छैनन् जो प्रविधि बिना नै समस्याको समाधान गर्न सकियोस्। त्यो चाहे शिक्षाको क्षेत्र होस् या नर्सको सीप विकासको क्षेत्र, डाक्टर, शिक्षक वा जुनसुकै क्षेत्रमा होस्, प्रविधिको अहिले महत्व ठूलो छ। जबसम्म प्रविधिलाई उचितरूपमा प्रयोग गर्न सकिँदैन तबसम्म मानिसको आवश्यकता पूरा गर्न सकिँदैन। मेरो आफ्नै एउटा सिद्धान्त छ। त्यो सिद्धान्तमा त्रिभुजको जस्तो तीनवटा विन्दु छन्। एउटा विन्दु भनेको महिलाको सशक्तीकरण हो।

दोस्रो भनेको गरिबी हो। गरिबी घटाउने बाटो निकाल्न सकिएन भने विकास गर्न सक्दैन। तेस्रो भनेको भष्ट्राचार हो।भष्ट्राचार निर्मूल गर्न सकिएन भने समाज विकास हुन सक्दैन। यो त्रिभुजको तीनवटा विन्दुको मूलमन्त्र भनेको समग्र देश विकासको आधार हो। यो सिद्धान्त प्रभावकारीरूपमा लागू गर्न तब मात्र सम्भव छ जब प्रविधिको उचितरूपमा प्रयोेग गरिन्छ।

प्रविधिको प्रयोगबाट विपद् व्यवस्थापन कसरी गर्न सकिन्छ ? कुनै त्यस्तो उदाहरण दिन सक्नुहुन्छ ?

पूर्व तयारीको अवस्थामा, उद्दारको प्रकृयामा र विपत् भइसकेपछिको आवस्थामा धेरै उदाहरण छन्। सुनामी एउटा राम्रो उदाहरण हुनसक्छ। सुनामीका लागि केही देशले पूर्वसंकेत राखेका छन्। प्रविधिको प्रयोग गरेर राखिएका ती यन्त्रले सुनामी जाने संकेत देखा परेपछि मानिस सर्कत हुन्छन, क्षती कम हुन्छ।

यो मौसम विज्ञानको अध्ययन र सागरको छालको अध्ययनबाट सम्भव हुन्छ। प्रविधिको माध्यमबाट तथ्यांक संकलन गरिन्छ र त्यसको अध्ययन पनि प्रविधिको माध्यमबाट गरिन्छ। प्रविधिको प्रयोगका कारण त्यस्ता देश सतर्करहन सक्छ। उदाहरणका लागि इन्डोनेसियाले तथ्यांक अपलोड गर्यो भने त्यो त्यती नै खेर जापानमा देखिन्छ, थाइल्यान्डमा देखिन्छ, श्रीलंकामा देखिन्छ र विपत्को तयारी शुरू हुन्छ। विपत्को समयमा स्याटालाइट प्रविधिबाट काम गर्नेहरूसँग सम्पर्क गर्न सकिन्छ।

स्याटालाइटले विपत्को समयमा सञ्चारकालागि अझ धेरै ठाउँ प्रदान गर्दछ। यो सबै प्रविधिको कारणले नै सम्भव हुन्छ। विपत् कारणले जब परिवार छिन्नभिन्न हुन्छन। मानवीय संस्था रेडक्रसले प्रविधिको प्रयोगगरी उनीहरूको मिलन गराएको उदाहरण धेरै छन्।

रेडक्रसको डाटाबेसमा सम्पूर्ण विवरण फोटोसहित राख्ने गरिन्छ। त्यस कारण विपत् व्यावस्थापन, विपत्को तयारी र विपत्को संयम प्रविधिले ठूलो भुमिका खेल्छ। यसका अतिरिक्त प्रविधिले लेखाजोखाको काममा पनि धेरै सहयोग पुर्याउँछ। यदि कुनै ठाउँमा महामारी फैलियो भने, त्यस ठाउँका मानिसले गुगलमा कसरी त्यो महामारी रोक्ने, उपचार गर्ने आदि जस्ता सूचना खोज्न थाल्छन्।

धेरै आईपी एड्रेस एउटै ठाउँबाट कुनै रोगको बारेमा खोजी भइरहेको छ भनेर गुगललाई थाहा हुन्छ। त्यो मानचित्रअनुसार कहाँ, कुन ठाउँमा फैलिन सक्छ भनेर गुगलले हेर्नसक्छ। अनि सहयोगको लागि कदम चालिन्छ। त्यसरी आपूर्तिमा पनि हुन्छ। गाडीमा जिपिएसको व्यावस्था गरिएको हुन्छ अत्यावश्यक सामाग्री कुन ठाउँमा आइपुग्यो भन्ने कुरा जानकारी हुन्छ।

यस्तै धेरै देशमा विभिन्न खालका उदाहरण छन्। कसैले पनि प्रविधि नराम्रो हो र यसले केही गर्न सक्दैन भनेर भन्न सकेका छैनन्। प्रविधिले अहिले चमत्कार नै गरेको छ।

नेपालले पनि धेरै विपत्को सामना गरिसकेको छ। केही वर्षयता नेपाल सरकार र विभिन्न संघसस्थाले प्रविधिको माध्यमबाट जोखिम न्युनीकरण गर्ने कोसिस गरेको पाइन्छ। तपार्इंका अनुभवको आधारमा केही त्यस्ता उदाहरण छन् जो यहाँको सरकारले पनि प्रयोग गरोस् र आम जनताले उचित लाभ लिनसकुन् ?

एउटा एकदमै महत्वपूर्ण कुरा भनेको जुनसुकै देशका विज्ञले अरुदेशमा विपत् व्यवस्थापन कसरी भएको छ भनेर पढनु र त्यसलाई बुझ्नु हो। अन्य देशले कसरी विपत् व्यवस्थापन गरेका छन् त्यसलाई व्यावहारमा उतार्नु हो। नेपालको जस्तो भौगोलिक धरातल भएका देशको उदाहरण हेर्न सकिन्छ। भू–परिवेष्ठित मुलुकहरू धेरै छन् उनीहरूको पनि अध्ययन गर्न सकिन्छ। भू–परिवेष्ठित मुलुकको आफ्नै गतिशिलता र विशिष्टता हुन्छ।

कम खर्चमा कसरी धेरै भन्दा धेरै मान्छेका समस्याको दिगो समाधान दिन सकिन्छ भन्ने कुरा खोज्नु पर्दछ। त्यो भनेको त प्रविधिको प्रयोग नै हो। धेरै महँगो प्रविधि ल्याउनु हुँदैन किनभने त्यसको मर्मत र चालू लागत नै धेरै हुनसक्छ। त्यसकारण समाधान भनेको स्थानीय हुनुपर्छ।

त्यो स्थानीय वातावरणमा सुहाउँदो हुनुपर्छ। त्यसको मर्मत–संहार पनि स्थानीय विज्ञले नै गर्न सक्ने खालको हुनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको त कसरी प्रविधिलाई स्थानीय प्रणालीमा ढाल्न सकिन्छ भन्ने हो।

कसरी प्रविधिलाई सबैको पहँुचमा पुर्याउन सकिन्छ र सबैको सहभागिता जुटाउन सकिन्छ भन्ने महत्वपूर्ण हुन्छ। सबै मन्त्रालयमा १–१ वटा त्यस्ता प्रविधि राख्नु भन्दा पनि कसरी एउटैबाट सबैलाई जोड्न सकिन्छ त्यो सोच्नु राम्रो हुन्छ।

नेपालमा आएका विपत् अन्य मुलुकमा पनि आएकाछन्। तपाईंको अनुभवमा त्यस्तो केही प्रविधियुक्त समाधान पनि छन् कि जो अन्य मुलुकमा लागू भएको छ ?

ठ्याक्कै भन्न त गाह्रो छ। तर मलाई ३ वटा एजेन्सीहरू चाही थाहा छ जसले विपत् व्यवस्थापनमा धेरै काम गरेका छन्। पहिलो भनेको त अन्तराष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू) हो। त्यसको मुख्यालय जेनेभामा छ। दोस्रो भनेकोे रोयल मौसमी विज्ञान संस्था हो जो आईटीयूसँग सहकार्य गर्दछ र, तेस्रो भनेको विश्व स्वास्थ्य संगठन हो। यी तीन वटा ठूला संस्था एक आपसमा सहकार्य गरेर काम गरिरहेका छन्।

उनीहरूका धेरै गतिविधि मलाई व्यक्तिगतरूपमा थाहा छैन। तर मलाई के थाहा छ भने आईटीयूका महासचिव हौलिन जाओले इन्टरनेट प्रविधि सानो र सूक्ष्म उद्योगको रूपमा ल्याउने कोशिस गरिरहेका छन्। यो भयो भने ठूलो काम हुन्छ। किन भने विकसित मुलुकमा त्यहाँ रहेका साना र मझौला उद्यमहरू विकसित हुन्छन। उनीहरू ठूला उद्योगधन्दाले आर्थिक उन्नती गराउँछ भन्ने मान्दैनन्।

साना र मझौला उद्योगधन्दा धेरै विस्तार गर्नुपर्छ भन्ने सोचमा छन्। यसका लागि आईटीयू चाहिँ एकदमै महत्वपूर्ण एजेन्सी हो। तर यसको बारेमा एकदमै थोरै मान्छेलाई थाहा छ। उनीहरूले धेरै राम्रा अध्ययन गरेका छन्। हाम्रो रणनैतिक (स्ट्राटेजिक) सञ्चार अझ सुधार गर्न सकिन्छ। विश्व स्वास्थ्य संगठन पनि विपत्मा परेका पीडितसँग काम गरिरहेको छ। उनीहरूको सोचाइ भनेको स्वास्थ्य सबैका लागि भन्ने छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक, डा.टेर्डोस (पूर्व इथोपियाका स्वास्थ्य मन्त्री), विश्वमा स्वास्थ्य सेवामा सुधार ल्याउने रणनीतिले नै अध्यक्ष जितेका हुन्।

उनको सहकार्यमा राम्रो योजना छ। नेपाल पनि यो संस्थाको सदस्य मुलुक हो। नेपालका प्रतिनिधिले योजना ल्याउनु पर्यो। उनीहरूको सहयोग लिनुपर्यो। यस्ता संस्थाबाट कसरी सहयोग लिने भनेर नेपालका प्रतिनिधि योजना बोकेर जानुपर्छ। यस्तो कामका लागि सहयोग चाहिएको छ भनेर भन्न सक्नु पर्दछ।

ई–हेल्थ भनेको के हो ? र यसलाई कसरी बुझ्न सकिन्छ ?

ई–हेल्थ भनेको ठूलो अवधारणा हो। यसका धेरै तत्वहरू छन्। प्रमुख तत्व भनेको टेलिमेडिसिन हो। यो प्रविधिको प्रयोगको ढाँचा फरक हुन्छ। जसको कारणले स्वास्थ्य सेवालाई धेरै मानिस कहाँ सुलभ ढंगले पुर्याइन्छ। उदाहरणका लागि तपाईंसँग एउटा बिरामी छ जसको मृगौलाले काम गरेको छैन् भने त्यो बिरामीलाई डाइलासिस चाहिन्छ। त्यो बिरामी अस्ट्रेलियमा छ। अर्को त्यस्तै खालको बिरामी नेपालमा छ।

ऊ पनि डाइलासिसमा छ भने त्यस्तो बिरामीमा अन्य असर देखापर्छन्। तर जब प्रविधिको प्रयोग उचितरूपमा हुन्छ तब उसले अस्ट्रेलियाको त्यही बिरामीसँग इन्टरनेटको माध्यमबाट कुरा गर्नसक्छ र बुझ्नसक्छ।

त्यसैले ई–हेल्थले बिरामीलाई आत्मबल दिने काम गर्नसक्छ। उनीहरूले आफ्नो अवस्था बुझ्न सक्छन् र उचित परामर्श लिन सक्छन्। अहिले मान्छेसँग टे«कर प्रणाली पनि छ। त्यसको सहायताले आफू कति शारीरिक व्यायाम गर्ने भन्ने कुरा थाहा हुन्छ। त्यसले सम्पूर्ण तथ्यांक उपलब्ध गराइदिन्छ र व्यक्ति आफ्नो स्वास्थप्रति सजक रहनसक्छ।

कसरी ई–हेल्थले विपत्कालीन अवस्थामा सेवा पुर्याउन सक्छ ?

सक्छ किन नसक्नु, धेरै प्रकारले सहयोग गर्न सक्छ। विद्युतीय सूचना सम्प्रेषण गरेर, पीडितको आवश्यकता र समस्या पहिचान गरेर, बिरामी जो जोखिम अवस्थामा हुन्छन् उनीहरूलाई पनि सूचना तथा निर्देशन दिन सकिन्छ। कति औषधी लिनुपर्छ र कुन औषधी राम्रो हुन्छ भन्ने कुराको पनि सुझाव दिन सकिन्छ।

विपत् आउँदै छ भने तथ्यांक हेरेर स–साना नानीबाबुका आमाबाबालाई सूचना दिन सकिन्छ। बच्चालाई खोप लगाउन सुझाव दिन सकिन्छ। शारीरिक असक्त हुनेका लागि त अझ महत्वपूर्ण हुन्छ। अझ भन्नुपर्दा, सबै अस्पतालमा भएका सेवा–सुविधा पुर्याउन सकिन्छ।

बिरामीलाई आत्माबल दिन सकिन्छ। तसर्थ, ई–हेल्थ, टेलिमेडिसिन, विपत् व्यवस्थापन एक अर्कासँग प्रत्यक्ष सम्बन्ध राख्छन्। विपत् व्यवस्थापन गर्न पूर्व तयारी, विपत् अवस्थामा र विपत्पछि सम्पूर्ण काम गर्न सकिन्छ।

सरोकारवाला र आममानिसलाई कस्तो सुझाव/परामर्श दिन चाहनुहुन्छ ?

विपत्को समयमा सहयोग गर्न चाहन्छौं भने एउटा मात्र उपाय भनेको पूर्व तयारी नै हो। त्यो हामी सबैले जान्नुपर्छ। पूर्व तयारी भनेको हाम्रो सोचाइको एउटा भाग नै हुनुपर्छ। हामी जापान जस्तो देशको क्रियाकलापबाट पनि सिक्न सक्छौं। जापानले विपत् व्यावस्थापनका सबै काम तथा प्रणाली अपनाएको छ।

हाम्रो समाजमा पनि प्रणालीले प्रभावकारीरूपमा त्यती बेला मात्र कामगर्छ जब त्यो कानुनीरूपमा लागू हुन्छ। कानुन नै भई सकेपछि त्यसको पालना आवश्य हुन्छ। उदाहरणका लागि जापानमा एकदमै कडा कानुन भनेको भवन निर्माण नियम सम्बन्धी छ। त्यो नियम पालना गरिएन् भने सजाय हुने व्यवस्था गरिएको छ। तसर्थ, त्यो भनेको विपत् व्यवस्थापन नै हो। पूर्व तयारी भनेको विपत्मा औषधी, खाद्य आदि भण्डारण गर्नु मात्र होइन।

यो भनेको प्रणाली परिवर्तन गर्नु पनि हो। विपत् व्यवस्थापन गर्दा प्रणालीले नै सहयोग गर्ने गरि बनाउनु पर्दछ। पूर्व तयारीका सम्पूर्ण निर्माणको पनि परीक्षण गरिनुपर्छ जसरी जापनमा भवनहरूको परीक्षण हुन्छ। त्यसैले विपत्को पूर्व तयारी भनेको सोचमा हुनुपर्छ र त्यो सोचलाई सबै प्रणालीमा लागू गर्नुपर्दछ।

अर्को कुरा, हामी विपत् आएको ठाउँमा बारम्बार जानुपर्छ। त्यहाँका मानिसले कसरी व्यवस्थापन गरिरहेका छन् त्यो हेर्नुपर्छ। उनीहरूले राम्रो गरेका छन् भने हाम्रो प्रणालीमा सुधार गर्नुपर्छ र नराम्रो गरेका छन् भने सिकाउनुपर्छ। हाम्रो कागजमा भएका सबै कुराहरू प्रयोगात्मक नहुन पनि सक्छन। त्यसलाई कतिपय अवस्थामा झन सहज तवरले प्रयोगमा ल्याएको पनि हुनसक्छ

 

प्रतिक्रिया दिनुहोस्