व्यवस्थापन शिक्षा ः हिजो, आज र भोलि



SONY DSC

शरद शर्मा ढुंगेल

छोरी बिग्रे कुन्नि के छोरा बिग्रे कमर्स’, एसएलसीपश्चात् १० जोड २ कक्षा भर्ना गर्ने बेलामा व्यवस्थापन संकाय रोजेकाले १० कक्षामा अध्यापन गराउने मेरो एकजना अंग्रेजी शिक्षकले मलाई सुनाउनुभएका शब्दहरू हुन् यी। म मात्र हैन, मेरा समकालीन तथा मेरा अग्रजहरूसमेत सम्पूर्ण विद्यार्थीले सुन्नुपर्ने महान् वाणी थियो यो।

नेपालको परिपाटीमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण विद्यार्थीले विज्ञान नरोज्नु भनेको आफैंमा ठूलै प्रश्नचिह्न हुने समयमा प्रथम श्रेणीको पनि झन्डै विशिष्ट तहको प्रतिशत प्राप्त गरेर पनि व्यवस्थापन संकाय रोज्नुपर्दा चौतर्फी आलोचना र अनिक्षित प्रवचनको वर्षाद हुनु स्वभाविक नै मान्छु म।

नेपालमा व्यवस्थापन शिक्षाको इतिहास हेर्ने हो भने धेरै पछाडि जानुपर्ने झन्झट नै पर्दैन। सन् १९५४ मा त्रिचन्द्र कलेजद्वारा सञ्चालित आईकम र बीकमका कक्षाहरूबाट नै नेपालमा व्यवस्थापन शिक्षाको प्रादुर्भाव भएको मान्न सकिन्छ। बीकमको पहिलो कक्षा ४ जनाबाट शुरूवात भएको इतिहास छ, जसले पछिल्ला ३० वर्ष तात्विक र उल्लेख्य परिवर्तन गर्न सकेको देखिँदैन।

तर सन् १९८० को दशकमा त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायको स्थापना गरेबाट नेपालमा व्यवस्थापन शिक्षाले अलि फराकिलो आकार तयार पारेको छ भन्न सकिने प्रशस्त आधारहरू छन्। कालान्तरमा विश्वविद्यालयको यो कदम नै व्यवस्थापन शिक्षाको आधार तयार गर्न कोेसेढुंगा साबित भएको छ परिणामतः आज हज्जारौंको संख्यामा विद्यार्थी व्यवस्थापन संकायप्रति आकर्षित छन्।

हामीकहाँ शुरूवाती दिनहरूमा व्यवस्थापन शिक्षा नेपालमा निकै नै संकुचितरूपमा परिचित थियो। ‘कमर्स’को नामले चिनिने पढाइमा निश्चित सैद्धान्तिक विषयलाई समावेश गरेर वाणिज्य र व्यापारका क्षेत्रलाई मात्र लक्षित गरिन्थ्यो। सम्भवतः साँघुरो घेरालाई मात्र समावेश गरिएर हुन सक्छ यो संकाय तिन ताका विज्ञानपछाडि दोस्रो दर्जामा मात्र सीमित रह्यो।

निजी कलेजमा समेत व्यवस्थापन शिक्षा उस्तो महँगो छैन। साधारण खर्चले समेत पढाइ पूरा गर्न सकिने र अध्ययनपश्चात् तुलनात्मकरूपमा औसतभन्दा माथिकै अपेक्षाकृत तलबमान र सेवा–सुविधामा रोजगारीको अवसर प्राप्त हुने भएकोले पनि हाल हाम्रो देशमा व्यवस्थापन शिक्षा आमविद्यार्थीको पहिलो रोजाइमा पर्ने
गरेको छ।

समयसँगै धेरै स्वाभाविक परिवर्तन हुँदै गए। ‘कमर्स’को संकुचित नामबाट ‘व्यवस्थापन’ भनिने बेलासम्म आइपुग्दा शैक्षिक संस्थाको संख्या मात्र होइन व्यवस्थापन शिक्षाकै परिधि, प्रकृति, स्वरूप र दायरा एकदमै फराकिलो भएको देख्न सकिन्छ।

आजको दिनमा व्यवस्थापन शिक्षा केवल ‘कमर्स’ अर्थात् वाणिज्य र व्यापारका सीमित सिद्धान्तमा अल्झेको छैन। व्यवस्थापन शिक्षाले एउटा विराट क्षितिज ओगटिसकेको छ। व्यवस्थापन शिक्षा हरेक विकासका अवयवहरूको पर्याय बनिसकेको छ।

कार्यलय व्यवस्थापन, कर्मचारी व्यवस्थापन, मानव संसाधन विकास, उद्यम विकास, नीति नियम तर्जुमालगायत समग्र अर्थतन्त्र र बजारमा नवीनताको खोजी तथा कार्यान्वयनमा व्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको छ।

६ दशकअगाडि त्रिचन्द्र कलेजको एउटा साँघुरो कोठाबाट शुरू भएको कमर्सले आज नेपालका सबै विश्वविद्यालयमा व्यवस्थापन संकायको रूपमा लाखौं जनशक्ति उत्पादन गर्ने क्षमता राख्नुले पनि यो संकायको विराट सम्भावनालाई प्रस्टसँग उजागर गरेको छ।

व्यवस्थापन संकायको मूल उद्देश्य भनेको केवल सैद्धान्तिक ज्ञान प्राप्त गर्नु मात्र हुँदै होइन, बरु यसले हरेक व्यक्तिमा उचित समयमा उचित निर्णय गर्ने क्षमताको विकास गर्दछ। व्यवस्थापकीय सिद्धान्तमा सही र गलत भन्ने हुँदैन।

विज्ञान र व्यवस्थापनको भिन्नता नै यहीँनेर छ। व्यवस्थापन आवधिक विज्ञान हो, जसमा समय र परिस्थितिअनुसार कुनै पनि कामलाई उचित र अनुचित अर्थात् लाभदायक र हानिकारक भनेर वर्गीकरण गर्नुपर्ने हुन्छ।

कुनै पनि कुरा आफैंमा निरपेक्षरूपमा सही र गलत हुँदैन। सही र गलत भन्ने कुरा सापेक्षतामा आधारित हुन्छ। हरेक क्रियाकलाप आफ्नो आवश्यकता, वातावरणअनुसार र अन्तिम परिणामको आधारमा उचित र अनुचित हुने गर्दछ।

कुन समयमा कुन क्रियाकलाप गर्ने भन्ने कुराले प्रकारान्तरमा उक्त कार्यको परिणाम सही वा गलत भन्ने कुराको निर्धारण गर्दछ। व्यवस्थापन शिक्षाले व्यक्तिमा सही समयमा सही निर्णय लिने क्षमताको विकास गर्दछ। यसै कारण यो शिक्षा महत्वपूर्ण छ। फलतः व्यवस्थापन संकायप्रति संसारभरि नै आकर्षण बढ्दो छ।

विश्वबजारमा हेर्ने हो भने पनि अहिलेका चर्चित व्यक्तिहरू व्यवस्थापन र व्यवस्थापकीय कार्यबाट नै सफलताको शिखरमा पुग्न सकेका प्रशस्त दृष्टान्तहरू हामी देख्न सक्छौं। गत शताब्दीको अन्तिम कालखण्ड र एक्काइसौं शताब्दीको शुरू कालखण्डका विश्वबजारका चर्चित कार्यकारीहरू स्टिभ जब्स, बिल गेट्स, वारेन बफेटदेखि ज्याक मा, मुकेश अमनीलगायत हाम्रै बजारमा समेत विनोद चौधरी, अनिलकेशरी शाह, पद्म ज्योतीहरूसमेत व्यवस्थापकीय क्षमताकै कारण सफल भएका हुन्। सीमित साधन र स्रोतलाई प्रयोग गरेर कसरी नवीन र भिन्न तरिकाले सफल हुन सकिन्छ भन्ने शिक्षा नै व्यवस्थापन शिक्षा हो।

विद्यार्थी जीवन पछाडि चाहे व्यवसायमा होस् वा जागिर, कुशल व्यावसायिक क्षमता भएका व्यक्तिहरू नै सफल हुने गर्दछन्। नेपालमा विद्यार्थीको आफ्नो पढाइपछि आकर्षण रहने जागिरको कुरा गर्ने हो भने नेपाल राष्ट्र बैंक, अन्य वाणिज्य बैंक तथा वित्तीय संस्थाहरू, विभिन्न बहुराष्ट्रिय कम्पनीहरू, सरकारी निजामती सेवालगायतका विभिन्न क्षेत्रहरूमा व्यवस्थापन संकायले नै सेवा प्रवेशको ढोका खोल्दछ।

माथि उल्लिखित विभिन्न क्षेत्रमा सफल हुने अधिकांश व्यक्तिहरू व्यवस्थापन संकायबाट दीक्षित हुनुले पनि हाम्रो देशमा व्यवस्थापन शिक्षाको महत्वलाई थप उजागर गरेको छ। पछिल्लो समयमा त कतिपय संस्थाहरूले सेवा प्रवेशको पहिलो सर्त नै व्यवस्थापन डिग्रीको प्रमाणपत्रलाई आधार मान्नुले व्यवस्थापन शिक्षाको महत्वमाथि थप टेवा पुगेको छ। सानो शुरूवाती पद होस् वा मध्यम पद, व्यवस्थापन शिक्षाको आधारले दिगो सहयोग गर्ने हुँदा पनि व्यवस्थापन शिक्षामा विद्यार्थीको उल्लेख्य संख्यामा वृद्धि हुँदै गैरहेको देखिन्छ।

नेपाल त्यस्तो देश हो, जहाँ कुल जनसंख्याको अधिकांश हिस्सा मध्यमवर्गीय पृष्ठभूमिबाट भएको कुरा केन्द्रीय तथ्यांक विभागको अध्ययनले देखाएको छ। शिक्षामा भएको व्यापक निजीकरणका कारण मध्यमवर्गीय जीविकोपार्जनबाट जीवन गुजारा गरिरहेको जनसंख्याको ठूलो हिस्साले महँगो शिक्षा हासिल गर्ने क्षमता राख्न सक्दैन।

व्यवस्थापन शिक्षाको अर्को राम्रो पक्ष भनेको सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुग्नु हो। हाल सञ्चालित निजी कलेजमा समेत व्यवस्थापन शिक्षा उस्तो महँगो छैन। साधारण खर्चले समेत पढाइ पूरा गर्न सकिने र अध्ययनपश्चात् तुलनात्मकरूपमा औसतभन्दा माथिकै अपेक्षाकृत तलबमान र सेवा–सुविधामा रोजगारीको अवसर प्राप्त हुने भएकोले पनि हाल हाम्रो देशमा व्यवस्थापन शिक्षा आमविद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ।

मुलुकको जेठो विश्वविद्यालयको रूपमा रहेको त्रिभुवन विश्वविद्यालयमा आबद्ध ४ लाख बढी विद्यार्थीमध्ये आधाभन्दा धेरैको रोजाइ व्यवस्थापन संकाय हुनुले पनि यसको महत्व र उपादेयतालाई थप पुष्टि गर्ने आधार मिल्दछ।

माथि प्रस्तुत गरिएका तथ्यहरूका अलावा, व्यवस्थापन संकायको क्षेत्र एकदमै व्यापक छ। ६ दशकअगाडि व्यवस्थापन भनेकै बी.कम. हो भन्नुपर्ने नियति आज छैन। विश्वविद्यालय अनुदान आयोगको वार्षिक विवरणअनुसार हाल स्नातक तहमा मात्रै व्यवस्थापन संकायअन्तर्गत २० वटाभन्दा बढी कार्यक्रमहरू सञ्चालित छन् र केही थप हुने प्रक्रियामा छन्।

विद्यार्थीको आफ्नो रुचि र क्षमताअनुसार छनौट गर्ने प्रशस्तै विकल्प कार्यक्रमहरू व्यवस्थापन संकायमा छन्, जसमध्ये सबैभन्दा लोकप्रिय कार्यक्रमहरूमा बी.बी.एस. र बी.बी.ए.लाई लिन सकिन्छ। पछिल्लो समयमा त्रि.वि.द्वारा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ४ बर्से कार्यक्रममा परिणत गरेर व्यवस्थापन शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा समेत थप सुदृढ बनाउनुले विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धायोग्य बनाइरहेको छ।

तसर्थ आजको दिनमा विद्यार्थीको प्रथम रोजाइमा पर्न गएको व्यवस्थापन शिक्षा गुणस्तरीय, अन्तर्राष्ट्रिय स्तरको, सर्वसाधारणको पहुँचमा रहेको कुरालाई नकार्न सकिन्न, जसले रोजगारीका प्रशस्त सम्भावना र ढोकाहरूलाई खोल्न सक्छ।

समग्र अन्तर्राष्ट्रिय स्थिति र नेपालको परिवेशलाई हेर्दा पनि व्यवस्थापन शिक्षाको भविष्य उज्ज्वल देखिन्छ। तर व्यवस्थापन शिक्षा पनि आलोचनाबाट मुक्त भने छैन। विभिन्न समयमा व्यवस्थापन शिक्षामाथि औंला उठ्ने गरेको पाइन्छ। धेरै सैद्धान्तिक ज्ञानमा जोड दिइएको, अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा फितलो भएको, सीपमूलकभन्दा सिद्धान्तमा बढी जोड दिएको, मागभन्दा बढी आपूर्ति उत्पादन गरेको आदि आलोचना बेलाबखत सुनिँदै आएको हो।

तथापि पछिल्लो समयमा निजी कलेज मात्र नभई विश्वविद्यालय स्वयंले पनि समयअनुसार आफूलाई ढाल्दै लगेको देख्न सकिन्छ। समयानुकूल शिक्षा प्रणाली, मागअनुसार कार्यक्रम र विषयगतभन्दा वस्तुगत र सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षामा जोड दिँदै अगाडि बढिरहेको नेपाली व्यवस्थापन शिक्षा संकाय विद्यार्थीको मात्र नभई समग्र देशको शिक्षा क्षेत्रको उज्ज्वल भविष्यको लागि अगाडि बढिरहेको कुरामा दुई मत नहोला।

त्यसैले हाल अन्य विषय पढेकाले पनि जागिर र व्यवसायमा सफलता पाउन स्नातक वा स्नातकोत्तर तहमा व्यवस्थापन शिक्षा प्राप्त गर्नेको जमात ठूलै देखिन्छ। अब स्थापित मान्यता मलाई अंग्रेजी शिक्षकले सुनाएको भन्दा पक्कै भिन्न भैसक्यो, चाहे प्रथम श्रेणी होस् वा दोस्रो श्रेणी। अब त भन्ने गरिन्छ, ‘छोराछोरी बुद्धिमान् व्यवस्थापन पढाइले।’
(लेखक ढुंगेल प्राध्यापक हुनुहुन्छ।)

 

प्रतिक्रिया दिनुहोस्