रुक्माङ्गत कटवाल प्रकरणमा सबैभन्दा बढी फोन आयो



 

रमीन्द्र क्षत्री
उपरथी, प्रमुख राष्ट्रिय सेवा दल

नेपाली सेनाले देशमा भएको राजनीतिक परिवर्तनसँगै धेरै आरोह–अवरोह भोग्दै आएको छ। नेपाली सेनाको इतिहासमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने तत्कालीन सरकारको निर्णयले निकै ठूलो तरंग ल्यायो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही प्रकरणपछि राजीनामा दिने अवस्थासमेत सिर्जना भएको थियो। देशमा संकटकाल घोषणा भएपछि २०५८ सालबाट तत्कालीन शाही नेपाली सेना पनि परिचालित भएको थियो। देशमा भएको राजनीतिक परिवर्तनसँगै शाही नेपाली सेना, नेपाली सेनामा रूपान्तरण भएको थियो। शान्ति प्रक्रियाको निकै जटिल मानिएको तत्कालीन माओवादीका जनमुक्ति सेनाको नेपाली सेनामा समायोजन गर्ने काम सम्पन्न भएको छ। नेपाली सेनामा पौने छ वर्ष प्रवक्ताको जिम्मेवारी सम्हालेर हाल राष्ट्रिय सेवा दलको प्रमुखका रूपमा रहनुभएका उपरथी रमीन्द्र क्षत्रीसँग नेपाली सेनामा प्रवेश, त्यसपछिको आरोह–अवरोहका अनुभव र राष्ट्रिय सेवा दलको विस्तारलगायतको विषयमा केन्द्रित भएर नेपाल समाचारपत्रका लागि दीपक रिजालमधुसूदन रायमाझीले गरेको कुराकानी ः


नेपाली सेनामा कहिले प्रवेश गर्नुभयो ?

सेनामा प्रवेश गरेको २०३६ साल पुस २ गते हो। मेरो पारिवारिक पृष्ठभूमि नेपाली सेनामय थियो। मेरो बुबा शाही नेपाली सेनामा हुुनुहुन्थ्यो। जिजु हजुरबुबा, हजुरबुबा, बुबाले सेनामा नै जागिर खानुभएको थियो।

खास गरी म नेपाली सेनामा जागिर खान्न भन्ने नै थियो। मैले भरतपुरमा रहेको पैतृक सम्पत्तिमा नै होटल खोल्ने भनेर लाइसेन्स लिने काम गरिसकेको थिएँ। त्यति बेला लोन लिनका लागि नेपाल औद्योगिक सेवा विकास निगम थियो।

त्यस बेला एउटै जिल्लामा एउटै कामका लागि दुई वटालाई लोन नदिने नियम भएकाले मैलेभन्दा अघि अर्कै होटलले लोनको प्रक्रिया शुरू गरेको रहेछ। मलाई एक वर्ष कुर्नुपर्ने भयो। २०३६ सालमा म सरस्वती क्याम्पसमा डिप्लोमा पढिरहेको थिए।

राजनीतिमा चासो थिएन। क्याम्पसमा बन्द हड्ताल हुन थालेपछि बुबाले आर्मीमा भर्ना खुलेको छ, दिने भए दे कति हल्लिएर बस्छस् भन्नुभयो। भर्ना छनोमा गएको पास भइयो। नाम निस्किएर तालिमका लागि खरिपाटी गएँ।

तीन महिनापछि घरमा आउँदा त निगमले चिठी पठाएको रहेछ। पत्र पाएको सात दिनभित्र औद्योगिक निगमभित्र सम्पर्क गर्नू भनेर। अब दुविधा भयो। अन्ततः मैले तालिमलाई नै निरन्तरता दिने निधो गरें। मैले त्यति बेला ५ लाखको ऋण मागेको थिएँ। होटल चित्रवन भन्ने दर्ता भएको थियो।

सेनामा प्रवेश गर्नुअघि परिवारको चाहना के बनोस् भन्ने थियो ?

परिवारको चाहना डाक्टर बनाउने थियो। मचाहिँ दुविधामा थिएँ। म त्यति बेला पढाइमा अब्बल थिइनँ। आफैंले सोचेको त सबै कुरा हुँदैन। परिवारले सोचेको झन् के हुन्थ्यो ?

लामो समय नेपाली सेनामा कार्यरत रहँदा यहाँले भोग्नुभएको स्मरणयोग्य घटनालाई कसरी सम्झिनुहुन्छ ?

तालिमका लागि प्रवेश गरेको र समापन भएको दिन अविस्मरणीय नै भयो। तालिममा पहिलो भएर बेलायत जाने अवसर पनि प्राप्त गरें। त्यति बेला मैले बिरलै पाउने अवसर पाएको थिए। डेढ वर्षका लागि गएको थिएँ। २०४५ सालमा शान्ति सेनामा जाँदा पनि फरक अनुभव भयो।

२०६० भदौ ११ गतेको दिनचाहिँ मेरो जीवनमा सधैंका लागि अविस्मरणीय दिन भयो। तत्कालीन माओवादीका गुरिल्लाहरूले मलाई कार्यालय आउने क्रममा घरबाट निस्किँदै गर्दा गोली हाने। त्यसपछि म घाइते भएँ। यो घटना मेरो जीवनको टर्निङ प्वाइट भयो। गोलीका कारण मेरो शरीरको आधा भाग नै चल्दैन। छोएको पनि थाहा हुँदैन। तर पनि अहिलेसम्म सक्रिय नै छु। तर, पहिलाको जस्तो पूर्ण स्वतन्त्रता हुँदैन यो अवस्थामा।

यो घटनापछि २०६३ सालमा मेरो पदोउन्नति सहायक रथीमा भयो। मैले नचाहेको नियुक्ति सैनिक जनसम्पर्क तथा सैनिक प्रवक्ता थियो। तर, प्रधानसेनापतिले मलाई नै नियुक्त गर्नुभयो। प्रवक्ता हाम्रो लागि फरक विषय थियो। सैन्य जीवन, सैन्य शिक्षा–दीक्षाबाट करिअर अगाडि बढिरहेको व्यक्तिलाई पत्रकार जगत्लाई सूचना दिने जिम्मेवारी आयो।

मिडियाहरूको एउटै सोचाइ हुँदैन। नेपालको राजनीतिक परिवर्तन शुरूआत भइरहेका बेला विभिन्न उद्देश्य राखेर आउने पत्रकारसँग फेस गर्नुपर्ने, पत्रकारबाट कतिपय त व्यवसायिक आधारमा प्रश्न आउने गर्थे भने कतिपयचाहिँ पित पत्रकारिता र चरित्र हत्याको कुराहरू पनि आए।

यस्तो खालको महोललाई सम्बोधन गर्न एकदमै जटिल काम थियो। तर, मेरो विगतको तालिम, संस्था र मुलुकप्रति समर्पण भावका कारणले सहजरूपमा बहन गरें। कतिपय प्रश्नको त अनुहार रातो बनाएर पनि सम्बोधन गर्ने वातावरण बन्यो।

ज्यादै नै हेयको शब्द प्रयोग गरेर प्रश्न सोधिन्थे। आफू को हुँ र के हुँ भन्नेसमेत थाहा नपाई मर्यादा भुलेर पनि प्रश्न आउँथे। फेस त गर्नु नै पर्यो। शुरूको अवधिमा केही तीतो अनुभव रहे पनि पछिल्लो समयमा सञ्चारमाध्यमसँग राम्रो सम्बन्ध रह्यो।

तपाईं नेपाली सेनामा रहँदा लामो समय प्रवक्ताको जिम्मेवारी पाउनुभयो नि ?

नेपाली सेनाको इतिहासमा सबैभन्दा बढी कार्यकाल प्रवक्ता हुने म नै हुँ। करिब पौने छ वर्ष मैले जिम्मेवारी पाएँ। प्रवक्ताको जिम्मेवारी नदिए हुन्थ्यो भन्ने मनमा थियो। तर, लामो समय संस्थाले दिएको जिम्मेवारी सम्हालें।

कुनै दिन प्रवक्ताबाट छोडांै भन्ने लाग्यो कि लागेन ?

शुरूका दिनमा पत्रकारले नफसाएको होइन। शुरूमा चिप्लाए। केही पत्रकारको नियत नै खराब रहेछ। आफू दिल खोलेर बोल्यो। शुरूमा मलाई थाहा भएन। अफ द रेकर्ड भन्थे। भोलिपल्ट पत्रिकामा छापिन्थे। उनीहरूको नैतिक धर्म पनि रहेन। त्यो कुरा बुझेपछि मैले नथिङ इच अफ द रेकर्ड एकचोटी बोलेपछि अन रेकर्ड हो।

एउटा पढेर जान्ने, अर्को परेर जान्ने हँुदोरहेछ। परेर जानेपछि मैले मिडिया ह्याडलिङ एकदमै व्यावसायिकरूपमा गरे भन्ने लाग्छ। केही पत्रकारको हर्कत र नियतबाट म आफैं सचेत भएँ। लामो समय बस्दा मेरो स्वर सुन्दा र अनुहार हेर्दा पट्यार लागेछ।

प्रवक्ताबाट हटाउन दलबलसहित प्रधानसेनापति निवासमै गएर मलाई हटाउने डेलिगेसन पनि गएछन्। विश्वासपात्र जरसाबहरू भएको ठाउँमा पनि पुगेछन्। तर पनि प्रधानसेनापतिले हटाउनुभएन।

त्यति बेला त देशमा द्वन्द्व थियो। दिनहुँ मानिस मारिन्थे। कसरी सूचना प्रवाह हुन्थ्यो ?

मेरो कार्यकालमा विचित्रको अनुभव छ। नेपालको इतिहासमा जटिल परिस्थिति पनि त्यति बेला नै थियो। सैन्य भर्ना प्रकरणले अन्तर्राष्ट्रिय रूप लियो। समायोजनको कुरा आयो। संविधानले एउटा भन्छ, शान्ति सम्झौताले अर्को भन्छ। तर, राजनीतिक नेताहरूको आ–आफ्नै बोली हुन्छन्।

यी विषयले पनि निकै ठूलो चुनौती खडा गर्यो। आठवटा जर्नेलको अवकाशको कुरा आयो। हुँदाहुँदा प्रधानसेनापतिलाई हटाएर अर्को प्रधानसेनापति नियुक्ति गर्ने कुरा आयो। ती सबै घटनाका बारेमा सूचना प्रवाह गर्न मलाई लामो समयले अनुभवी बनाइसकेको थियो।

हाम्रो आधार भनेको अधिराज्यभर भएका हाम्रा सैनिक वाहिनी, गण, गुल्म र टुकटीहरूले दिने सूचना नै प्रमुख आधार थियो। तिनै सूचनाको आधारमा प्रेस सम्मेलनमा जानकारी गराउँदथ्यांै। त्यति नै बेला माटोले माग्दैन आफूले दिनुपर्छ भन्ने कार्यक्रम शुरू गरेका थियौं।

माटोले माग्दैन आफंैले दिनुपर्छ भन्ने अवधारणा कसले बनाएको हो ?

संयोगवश यो कार्यक्रमको जिम्मेवारी मलाई नै थियो। मनोवैज्ञानिक कार्य महाशाखाको जिम्मेवारी दिइएको थियो। त्यो नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो। आम नेपाली जनतालाई लाइभ घटनाका बारेमा देख्ने अवसर भनेको त्यही कार्यक्रम थियो। युनिफाइट कमान्डमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

त्यो कार्यक्रम हेरेपछि सबैमा ऊर्जा आउँथ्यो भन्ने गरेको प्रतिक्रिया आएको थियो। राजेन्द्र थापा जरसाबले सायद कुनै एउटा नाटक बनाउनुभएको थियो। त्यसमा माटोले माग्दैन आफैंले दिनुपर्छ भन्ने वाक्य मैले पढेको थिएँ।

मैले जसाबलाई फोन उक्त वाक्यलाई आफूले टेलिभिजन कार्यक्रममा प्रयोग गर्नका लागि अनुमति मागेको थिए। उहाँले सहजरूपमा स्वीकार गरेर अनुमति दिनुभयो।

नेपालको इतिहासमा प्रधानसेनापति परिवर्तन गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री प्रचण्डले राजीनामा नै दिनुपर्ने अवस्था सिर्जना भयो ? त्यस दिनको घटनालाई कसरी सम्झिनुहुन्छ ?

सबैभन्दा पहिलो त्यो घटना अस्वभाविकभन्दा पनि स्वभाविक निर्णय थियो। प्रधानसेनापति रुक्माङ्गत कटवाललाई स्पष्टीकरण सोध्ने भनेको त प्रक्रियागत कुराहरू थिए। म त कार्यालयमा आउँदै थिए। गाडीमा रेडियो सुन्दा त अर्को नियुक्ति भइसकेको सुनें।

कार्यालय आएर बुझेपछि त्यो रातको १२ बजेसम्म कटवाल चिफसाबको समय अवधि हुने आसयको चिठ्ठी आएको थियो। अर्कोतर्फ कुलबहादुर जरसाबलाई कामु प्रधानसेनापतिमा नियुक्ति गरिसकेपछि पनि त्यो अवधि त कुर्नुपर्ने भयो। बीचमा त अलिकता अन्योलको अवस्था सिजना भयो।

अब के हुन्छ भनेर ब्रह्मा, विष्णु, महेश्वरले त भन्न नसक्ने कुरा मैले कसरी भन्ने। ठोस कुरा त मसँग आएको थिएन। यति धेरै प्रश्न आयो कि पत्रकारको उत्तर दिएर नभ्याउने अवस्था बन्यो। राष्ट्रिय मिडियाको त स्वभाविक नै भयो त्यसको साथसाथै अन्तर्राष्ट्रिय मिडियाहरूको पनि उत्तिकै फोन आउन थाल्यो।

प्रश्न सोधपछि केही न केही त जवाफ दिनै पर्यो। तर, मैले पर्ख र हेरको अवस्थामा रहेको जवाफ दिए। किनकि अर्को जवाफ मसँग थिएन। रात रहे अग्राख पलाउँछ भन्छन् नि। जे पनि हुन सक्छ। सबैभन्दा बढी जवाफ दिन गाह्रो भएको त्यही नै घटना हो। फेरि राति राष्ट्रपतिज्यूबाट पत्र आयो। म घर गइसकेको थिएँ।

त्यो पत्र सबैतिर पठाउनुपर्ने थियो। मास मिडियामा, आन्तरिकरूपमा, बाह्यरूपमा तत्काल जानकारी गराउनु थियो। मेरो एक जना करसाबले एक घन्टाको अवधिमा कुशल ढंगले सम्पन्न गर्नु भो। त्यो घटनामा के भयो भने सबै खुराफाती कुरा लेख्ने अनि प्रवक्ताको अन्तिममा भनेर मेरो भनाइ राखिदिने।

अनि सबै कुरा प्रवक्ताले दिएको जस्तो भएन त ? एउटा स्थापित रेडियोले मसँग लिएको बाइटलाई तोडमोड गरेर बजाउने काम भो। बेलुको सुनें। त्यसपछि मैले, ती पत्रकारलाई भने– यसरी चल्दैन, यस्तो काम गर्न पत्रकारको धर्म, कर्मले दिँदैन। कुनै पनि विषयमा बोल्न तयार छु, बाइट दिन्नँ, लाइभ गर भनेपछि इडिट गर्न सक्दैन। यस्ता घटना धेरै छन्।

सेना समायोजनमा पनि निकै सकसपूर्ण अवस्था बन्यो। त्यति बेला सूचना कसरी दिनुहुन्थ्यो ?

राष्ट्रिय सेना संविधानअन्तर्गत भएको सेना भएकाले जतिवटा कोणबाट सोधे पनि जवाफ दिन गाह्रो थिएन। हामीले समात्ने संवैधानिक प्रावधान, सहमतिको दस्तावेजमा उल्लेखित हस्ताक्षरित दस्तावेज नै थियो। त्यो बाहिर गएर त बोल्ने कुरा भएन।

संस्थाको आफ्नै धारणा हुने कुरा भएन। आफ्नो धारणा भए पनि त्यसले वैधानिकता पाउँदैन। कटवाल चिफसाबाको पालाबाट शुरू भएको समायोजनको कुरा, छत्रमान चिफसाबको पालमा झन्डैझन्डै कार्यान्वयन हुने अवस्थामा पुगेको थियो। पछि गौरवशमशेर चिफसाबका पालामा अलिकता फरक ढाँचामा सहमति भयो। सरकारले अगाडि बढायो र सम्पन्न पनि भयो।

विगतको द्वन्द्व र अहिले देशको अवस्थालाई कसरी नियाल्नुहुन्छ ?

आफ्नै देशभित्रका दाजुभाइ लड्नु राम्रो विषय थिएन। दुभाग्यवश भयो। आफैंमा जटिल आन्तरिक युद्ध हो। तर, संयोगवश राजनीतिकरूपमा राजनीतिक नेतृत्वले द्वन्द्वलाई सहजरूपमा शान्तिमा रूपान्तरण गर्ने काम गर्नुभयो। यो सोचेभन्दा धेरै छिटो टुंगो लाग्यो।

राजाले शासन सत्ता हातमा लिएको दिनको अवस्था कस्तो थियो ?

शासन सत्ता लिएपछि मात्र थाहा भयो। म त अस्पतालमा उपचारका क्रममा थिएँ। २०४७ सालको संविधानमा टाउकोमा नै श्रीपेज थियो। त्यति बेला आर्मीचाहिँ परिचालित अवस्था हो। २०५८ मंसिर ११ गते संकटकाल घोषणा गरेर २ सय ५ प्रतिनिधिसभा र ६० सदस्यीय राष्ट्रिय सभाको बैठकले सेनालाई तत्कालीन माओवादीका विरुद्ध प्रयोग गर्ने निर्णय गरेको थियो। आतङ्ककारी र विध्वंशकारी ऐन जारी गर्दै कारबाही गर्न सहजता ल्याइदिएको थियो। त्यो बीचमा राजाको कदम आयो। जुन राजा संवैधानिक नै थिए। त्यसले निरन्तरता पाएको मात्र हो।

२०६० भदौ ११ गतेको दिनचाहिँ मेरो जीवनमा सधैंका लागि अविस्मरणीय दिन भयो। तत्कालीन माओवादीका गुरिल्लाहरूले मलाई कार्यालय आउने क्रममा घरबाट निस्किँदै गर्दा गोली हाने। त्यसपछि म घाइते भएँ। यो घटना मेरो जीवनको टर्निङ प्वाइट भयो। गोलीका कारण मेरो शरीरको आधा भाग नै चल्दैन। छोएको पनि थाहा हुँदैन। तर, पनि अहिलेसम्म सक्रिय नै छु।

 

नेपालको द्वन्द्व व्यवस्थापनबाट अरू देशले सिक्नुपर्ने पाठ के हो ?
संसारको कुनै पनि देशको द्वन्द्वसँग नेपालको तुलना गर्न मिल्दैन। नेपालबाट द्वन्द्व भइरहेका मूलुकहरूले पाठ सिकेर अगाडि बढ्न सक्छन्। अहिले देशमा शान्ति छ। तर, एक खालका मानिसहरूको मनमा अझै क्रान्ति गर्ने भन्ने सुनिन्छ।

कुनै पनि देशको लागि द्वन्द्व राम्रो कुरा होइन। हाम्रो देशमा दशवर्षे द्वन्द्व चल्यो। छिटो अवधिमै द्वन्द्व व्यवस्थापन भयो। अहिले विकास निर्माणको कामले गति लिएको छ। अब आर्थिक वृद्धिदर बढ्छ, रोजगारीको अवसर सिर्जना हुन्छ। विदेश गएका युवालाई स्वदेश फर्काउने काम पनि हुन्छ होला।

शान्ति र सुव्यवस्थाको साथ देश अगाडि बढनुपर्छ। नेपालको द्वन्द्व व्यवस्थापन नमुनाका रूपमा लिन सक्छन्। नेपालका द्वन्द्व व्यवस्थापन संसारकै लागि विशेष उदाहरण हो।

तर, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगमा परेका ६२ हजार उजुरीको अझै छिनोफानो हुन सकेको छैन नि ?

द्वन्द्व व्यवस्थापनअन्तर्गत उत्पन्न हुने परिस्थिति यी विषय नै हुन्। पुरानो दुस्मनी सधैं त कायम रहन्न। कसरी टुंगो लगाउने भन्ने विषय त राजनीतिक निर्णय नै हो। आयोगमा आएको उजुरी दिनेहरूले नै सहयोग गरिदिनुपर्छ। आशा छ, सरकार र राजनीतिक पार्टीहरूले समयमा नै टुंगो लगाउने छन्।

नेपाली सेना र नागरिकबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?

विगतमा केही ग्याब थियो। अहिले त्यो अवस्था छैन। नेपाली सेनाले गरेको विकास निर्माणको कामले नेपाली जनता खुसी छन्। दैवी प्रकोप उद्धारको काममा निकै महŒवपूर्ण जिम्मेवारी निर्वाह गरेको छ। सेनाले जनताको दुःखमा साथ दिएको छ। विगतदेखि अहिलेसम्म जनताको सेवामा समर्पित भएर लागेको छ।

राष्ट्रिय सेवा दलले अहिले के काम गरिरहेको छ ?

देशको ७७ वटै जिल्लामा यसको पहुँच विस्तार भइसकेको छ। अहिले हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्रमा सेवा दलको माग अत्यधिक छ।

राष्ट्रिय सेवा दलले अहिलेसम्म कति जनशक्ति उत्पादन गर्यो ?

राष्ट्रिय सेवा दल गठन भएपछि अहिलेसम्म करिब ४५ हजार जनशक्ति उत्पादन भएको छ। २०२२ देखि २०७१ सालसम्म करिब १८ हजार मात्र थियो। यो अवधिमा संख्यात्मक अवस्थामा ५० वर्षमा भएको काम पाँच वर्षमा भएको छ। अहिले एक वर्षमा नै ७ हजार ७ सय संख्यामा तालिम गराइरहेका छौं।

माग धेरै छ। स्रोत र साधन भने पर्याप्त छैन। सरकारले भविष्यमा यो संख्या बढाउने योजना बनाएको पाएका छौं। सरकारको नीति तथा कार्यक्रममा नै सेवा दललाई स्थानीय तहसम्म नै विस्तार गर्ने विषय समावेश भएको छ। अर्थमन्त्रीको बजेट भाषणमा पनि यो विषय सम्बोधन गर्ने कुरा आएको छ।

राष्ट्रिय सेवा दलप्रति मुलुकभरबाट आकर्षण बढ्दो छ। देशको युवा शक्तिको व्यक्तित्व विकास, क्षमता अभिवृद्धिमा यथेष्ट योगदान दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्