प्रहरी नै रक्सी खाएर ड्युटी गरेपछि



कपिलवस्तु । रक्सी हानिकारक पिय पदार्थ हो । रक्सी सेवन गरी सवारी साधन चलाएमा प्रहरीले कडा कारबाही गर्छ । तर कपिलवस्तुका प्रहरी भने आफैँ रक्सी सेवन गरी ड्युटीमा खटिने गरेका छन ।

जिल्ला सदरमुकाम तौलिहवाको वडा प्रहरी कार्यालयका प्रहरीहरु बर्दीमै रक्सी सेवन गरेर ड्युटी गर्ने गरेका छन । जिल्लाका विभिन्न चोक गस्तीमा निस्कने प्रहरीहरु आफैँ रक्सी सेवन गरी ड्युटी गर्दा आम सर्वसाधारणहरु प्रहरीबाटै त्रसित बनेका हुन ।

शुक्रवार साँझ ७ः ३० बजे तौलिहवाको भवानी भिक्षु चोकमा ड्युटीमा रहेका वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मिलन चौधरी प्रहरी बर्दीमै रक्सीको मातमा ड्युटीमा थिए । आफैँ रक्सी सेवन गरेका चौधरीले सर्वसाधारणलाई जाँच गर्ने र सार्वजनिक नियम कानुनका पाठ सिकाउँदै थिए ।

प्रहरीले आफैँ ड्युटीका बेला रक्सी सेवन गर्ने अनि हामीलाई कानुन सिकाउने भन्दै सर्वसाधारणहरुले विरोध गर्दैगर्दा उनी भने उल्टै सर्वसाधारणलाई थर्काए। उनको यस्तो व्यवहारको खबर जिल्ला प्रहरी कार्यालयमा पुगेपछि उनलाई तत्काल वडा प्रहरी कार्यालयबाट तानेर जिल्ला प्रहरी कार्यालयमा हाजिर गराइएको बताइएकाे छ ।

जनताको सेवामा खटिने वडा प्रहरी कार्यालयका प्रहरीहरुबाट उल्टै जनतालाई दुःख दिने गरेको गुनासो आफूकहाँ आउने गरेको यशोधरा गाउँपालिकाकी वडाध्यक्ष कन्यावती उपाध्यायले बताउनु भयो । इमरजेन्सी अवस्थामा अस्पताल आउने बिरामीहरुलाई पनि लाइसेन्स र ब्लु–बुकका नाममा वडाबाट खटिएका प्रहरीहरुले अनावश्यक दुःख दिने गरेको वडाध्यक्ष उपाध्यायले भन्नुभयो ।

‘ड्युटीमै रक्सी खाँदै हिँड्ने प्रहरीलाई कस्तो कारबाही हुन्छ, हामी पनि हेर्छौँ’, उप प्रमुख उपाध्यायले भन्नुभयो, ‘नियम कानुन जनतालाई मात्रै हो कि बर्दीधारी प्रहरीलाई पनि लागू हुन्छ ।

प्रतिक्रिया दिनुहोस्