चट्यांगसहित भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध



काठमाडौं । आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने मौसमविदले बताएका छन् । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना रहेको जनाइएको छ ।

मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको बुलेटिनका अनुसार देश भरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

देशको मध्य तथा पश्चिमका भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना र देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

मौसमविदका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको छ ।

त्यसैको प्रभावका कारण हाल नेपालका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ । मेघ गर्जन र चट्टयांगसहित पानी पर्ने क्रम आगामी तीन दिनसम्म जारी रहने मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्