अमेरिकी क्षेप्यास्त्रको जवाफ दिनेछौं ः पुटिन



हेलसिन्की, (एजेन्सी) ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको हालैको कदमले देशका लागि नयाँ खतरा उत्पन्न गराएको र आफूले मस्कोमा त्यसलाई लिएर जवाफ दिने बताएका छन्।

अमेरिकाले हालैमात्र एक नयाँ क्षेप्यास्त्र परीक्षण गरेको हो। फिनिस राष्ट्रपति साउली निनिस्टोसँगको एक संयुक्त पत्रकार सम्मेलनका क्रममा पुटिनले अमेरिकाको उक्त कदमले निरास बनाएको बताए।

सन् १९८७ को इन्टरमिडियट–रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धिलाई औपचारिकरूपमा त्यागेको ३ हप्ताभन्दा कम समयमै अमेरिकाले नयाँ हतियारको परीक्षण गरी रुसी सरकारलाई निरास पारेको पुटिनले बताए।

पुटिनले भने– ‘सन्धि छोडेको तत्कालै अमेरिकाले सी लन्च क्षेप्यास्त्रको परीक्षण गर्यो। यसको सीधा अर्थ अमेरिका यस कदमलाई लिएर पहिलेदेखि नै तयारी गरिरहेको थियो। अमेरिकाको परीक्षणले नयाँ खतराको उदय भएको संंकेत दिन्छ, जसमा हामी आफ्नो हिसाबले जवाफ दिनेछौं।’

रुसको सुरक्षा सुनिश्चित गर्नु आफ्ना सर्वोच्च प्राथमिकता भएको पुटिनले जोड दिए। आईएनएफ सन्धिअन्तर्गत अमेरिका र तात्कालीन सोभियत संघले ५ सय देखि ५ हजार ४ सय ७१ किलोमिटरको रेन्जको स्थल क्षेप्यास्त्रको निर्माण तथा तैनाथ नगर्ने विषयमा सहमति गरेका थिए।

यस कदमपछि छोटो सूचनाका आधारमा दुवै देशका लागि परमाणु हमला शुरू गर्न अत्यन्त कठिन बनेको थियो।

प्रतिक्रिया दिनुहोस्