कहिले रोकिन्छ कलेजमा राजनीति ?



उच्च शिक्षा हासिल गर्ने ठूलो सपना बोकेर आफ्ना मनभरि कल्पित सपनालाई ठोस रूप दिनका लागि स्वच्छ हृदयका साथमा ऊ विद्यालय पुग्छ। कुनै प्रचण्ड गर्मीको प्रवाह छैन, भोक, प्यास सबै थाती राखेर ऊ त्यहाँ पुगेको हुन्छ। मनमा विभिन्न किसिमका तरङ्ग, हर्ष, उमङ्ग, उत्साह छाइरहेको हुन्छ।

उसले आफ्नो भविष्य उज्ज्वल र सुनौलो पार्न ऊ गाउँबाट शहर छिरेको हुन्छ। उसले त केवल विद्यालयलाई अथवा कलेजलाई सरस्वती माताको भवन भन्ठानेको हुन्छ। तर उसले बुझ्छ कि कलेजमा भर्ना प्रक्रियामा फर्म भर्ने काम विद्यार्थीको टाउको दुखाइको समय बन्दो रहेछ।

आफ्नो प्यारो, सुन्दर, सफा गाउँघर, आमा, बुबा, साथीभाइको मायालाई मुटुमा नै सीमित पारी यो विरानो शहरमा प्रवेश गरेको छ। काठमाडौंका महँगा कोठामा रूमल्लिएर दैनिक क्रियाकलाप, पढाइ व्यवस्थापन, सकेसम्म पारिवारिक जिम्मेवारी र विभिन्न समस्याको चाँजोपाँजो मिलाएर पढ्ने कुनै मजाक होइन। के गर्नु, गाउँको सोझो केटो आफूलाई पढाउने सरको अगाडि आँखामा आँखा जुधाउन त के सीधा उभिएर बोल्न पनि शरीर नै काँप्न थाल्छ।

अब उसले कसरी आफ्नो मनका अभिव्यक्ति व्यक्त गर्न सक्छ ? त्यसैमा पनि क्याम्पस प्रमुखको रूखो बोली र महिना बित्दा पनि कलेजको फी तिर्न नसक्दा मनमा आर्थिक विषमताको ज्वाला दनदन रन्किएको हुन्छ।

उसले आफूलाई गरिब हुनुमा हीनताबोध गर्छ। भन्छन्, क्याम्पसका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति आउँछ रे। आखिर म पनि गरिब तथा जेहेन्दार विद्यार्थी नै हुँ। खै त हामीलाई छात्रवृत्ति, यो छात्रवृत्ति कसका लागि

हो ? ठूलाबडाका लागि हो ? यसको जवाफ कसले दिने ? यो हाम्रै लागि हो भने किन हामीलाई यो सुविधाबाट वञ्चित
गराइन्छ ? मननीय, सोचनीय होस्, कर्तव्यनिष्ट, स्वच्छ र सुन्दर होस्।

आजका कलेज–क्याम्पसमा नातावाद, कृपावाद, राजनीतिक माहौलले जे लिएको पाइन्छ। एकचोटि क्याम्पस प्रशसान स्वच्छ भएर सोचोस्, सरकारले हरेक क्याम्पसमा प्रदान गर्दै आएको सेवा, सुविधा र सहयोग ती गाउँका सोझासाधा विद्यार्थीमाझ पुगेको छ त ? आर्थिक अवस्थाले कमजोर भएका विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका छन् यहाँका क्याम्पस, कलेजहरूले।

आदरणीय गुरुवर्ग, समाजसेवी, शिक्षाप्रेमी व्यक्तित्वहरू, दूधको दूध–पानीको पानी छुट्याउन सक्ने न्यायप्रेमीहरू र आफूलाई म फलानो पार्टीको प्रतिनिधि हुँ भनेर परिचित गर्ने विभिन्न संगठनका नेताज्यूहरू, सबै विद्यार्थीको माझसम्म पुग्न नसके पनि कमसेकम सहयोगको झीनो आशा लिएर आउँदा उसको चारित्रिक गुण, व्यवहार, पारिवारिक, आर्थिक अवस्थाको बारेमा सोधपुछ गरियोस्। कुनै पनि विद्यार्थीलाई फलानो संगठनको विद्यार्थी र तिलानो संगठनको विद्यार्थी भनेर सोझासाधा विद्यार्थीलाई अपहेलना नगरियोस्।

क्याम्पस भनेको विद्यार्थीको साझा थलो हो। यसमा राजनीति हुनु भनेको विद्यार्थीको सुनौलो भविष्यमाथि खेलबाड गर्नु हो। त्यसैले क्याम्पस प्रशासनले उचित मात्रामा विद्यार्थीको व्यवहार, गुण र शिक्षालाई ध्यानमा राखेर उनीहरूले कलेजबाट पाउने सम्पूर्ण सुविधाहरू सही समयमा प्रदान गरियोस्। किनकि आजको विद्यार्थीको भविष्य क्याम्पस, कलेजमा अड्किएको छ।

– पवन शाही ठकुरी, मुगु, हाल ः बूढानीकन्ठ, काठमाडौं।

 

प्रतिक्रिया दिनुहोस्