नेपाल–भारत सम्बन्ध



भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरको नेपाल यात्रा अपेक्षा गरिएअनुसार नै सफल रहेको तथ्यले देखाएका छन् । विगतमा नाकाबन्दीका कारण भारतप्रति नेपालीमा विकास भएको असन्तुष्टि र मानसिक चोटलाई भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएअनुसार २ अर्ब ४५ करोड रुपियाँभन्दा बढीको सहयोग उपलब्ध गराएर ढिलै भए पनि सहयोगी भावना कायम राखेको छ ।

चार वर्षअघिको भूकम्पपश्चात् भारतले २५ अर्ब रुपियाँ पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सो सहयोगबाट १० अर्ब रुपियाँ निजी आवास निर्माणका लागि, ५ अर्ब स्वास्थ्य संस्थालाई, ५ अर्ब विद्यालय र ५ अर्ब सम्पदा पुनर्निर्माणका लागि सहयोग गर्ने बताइएको थियो ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सञ्चार–सम्पर्क, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत जस्ता विषयमा केन्द्रित भयो । शिक्षा र द्विपक्षीय सांस्कृतिक सहकार्य पनि बैठकका मुख्य एजेन्डाका रूपमा रहेको थियो । बैठकमा नेपालले विगतमा भएका सहमति कार्यान्वयनसँगै आर्थिक साझेदारी र भारतसँगको बढ्दो घाटा न्यूनीकरणमा जोड दियो भने भारतले सीमा क्षेत्रको सुरक्षाबारे चासो देखायो ।

भारतीय विदेशमन्त्री जयशंकरले ट्विट गर्दै बैठक सफल भएको उल्लेख गर्नुभएको थियो । द्विपक्षीय सम्बन्धका प्राथमिकताबारे विस्तृतरूपमा पुनरावलोकन भएको, द्विपक्षीय सहयोगका प्राथमिकता क्षेत्र पहिचान भएको जयशंकरको ट्विटले अपेक्षाअनुसार काम भएको पुष्टि गर्दछ । दुवै मुलुकका समस्या र साझा मुद्दा पहिचान गर्दै समस्या समाधानका उपाय खोज्न र दुवैतर्फका सरोकारवाला निकायलाई निर्देशन दिन बैठक केही हदसम्म सफल पनि देखिएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत बैठक नियमित हुनु दुवै मुलुकका लागि अत्यन्त आवश्यक छ । यस्तो बैठक नियमित गर्ने प्रयोजनले २०४४ सालमा संयन्त्र गठन भएको थियो । यस संयन्त्रले पहिचान गरेका विषय उच्चस्तरीय भ्रमणका एजेन्डा बन्ने गरे पनि बैठक नियमित बस्न सकेको छैन ।

नेपालले चार वर्षअघि संविधान जारी गर्ने अन्तिम तयारी गरिरहेका बेला संविधानबारे चासो लिँदै भारतका विदेशदूत बनेर जयशंकर नेपाल आएर फर्किएपछि नेपाल–भारत सम्बन्ध चिसिएको थियो ।

भारतीय इच्छाविपरित नेपालले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दीसमेत लगाएको थियो । २०७२ असोजमा भारतीय विदेश सचिवका रूपमा नेपाल आउनुभएको जयशंकर अहिले विदेशमन्त्रीका रूपमा काठमाडौं आउँदा विश्लेषकहरूले परिवर्तित व्यक्तिका रूपमा पाएका छन् । नेपाल–भारत खुला सीमानाको लाभ उठाउँदै आएका मुलुक हुन् । विश्वमा वशुधैव कुटुम्बकम्को धारणा विकास गर्न चाहने ‘विश्व नागरिक’ सीमानामा बाँधिने कुराको पक्षमा छैनन् ।

हो, कुन नागरिक कहाँ गयो, कस्तो गतिविधि गर्छ भनेर उसको व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको हक हनन नहुने गरी अनुगमन गर्नुपर्छ तर नागरिकलाई थुनछेक गर्ने र नियन्त्रणमा राख्ने, आधारभूत अधिकारका रूपमा रहेको ‘हिँडडुलको हक’लाई कुण्ठित गर्ने र रोजगारीका अवसरलाई सीमित पार्ने कार्यका विरुद्ध आवाज उठाउने विश्व नागरिकको संख्या बढिरहेका बेला नेपाल–भारतको खुला सीमानाको सम्बन्ध विश्वका अनेक मुलुकका लागि उदाहरणीय हुनेछ ।

तर, सेतो कपडामा लागेको कालो दाग सानो नै भए पनि प्रस्ट देखिन्छ । नाकाबन्दीहरूले विगतमा सम्बन्धमाथि दाग लगाउने काम गरे, आगामी दिनमा यस्ता गतिविधि नदोहोरियून्, अहिलेलाई यत्ति कामना गरौं ।

प्रतिक्रिया दिनुहोस्