आयो सिल्की सिल्की बाल



मंसिरका लागि रिलिज डेट तोकिएको फिल्म च च हुईको पहिलो गीत बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। सिल्की सिल्की बाल बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका छन्।

गीतमा राजनसँगै अमृत घोलेल लामा र श्याम लामिछानेको शब्द रहेको छ। गीतको भिडियोमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन्। फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले हर्ने पाउनेछन्। सार्वजानिक गीतलाई मुस्ताङको छुसाङमा छायांकन गरिएको छ। गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन्।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोलेल लामाले निर्माण गरेको फिल्ममा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतले पनि अभिनय गरेका छन्। फिल्म साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायांकन रहेको छ।

फिल्ममा पटकथा सिजन दाहाल र सन्देश अर्याल, संगीत राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापा, द्वन्द्व श्री श्रेष्ठ, कोरियोग्राफी शिशिर खातीको रहेको छ। फिल्म आगामी मंसिर ६ गते रिलिज हुँदै छ।

‘मैले यस किसिमको गीतमा पहिलोपटक डान्स गरेको हुँ। गीतमा हामीले निकै दुःख गरेका छौं। बाटो बनाएको समयमा हामीले निकै दुःख गरेर यात्रा गरेका छौं। मुस्ताङको मौसमअनुसार हामीले सुटिङको तयारी गर्नुपथ्र्यो, बिहानै उठेर तयार हुन्थ्यौं’, आर्यनले कार्यक्रममा भने– ‘त्यो दुःख आज पर्दामा गीत हेर्दा सबै भुलें।’

नायिका मिरुना मगरले आर्यनसँग आफ्नो जोडी सुहाएको बताइन्। ‘गीतमा हामी सम्पूर्ण टिमले सकेको मेहनत गरेका छौं। आर्यनजीसँग जोडी सुहाएजस्तो लाग्छ। गीतअनुसार हामीले प्रस्तुति दिने कोशिस गरेका छौं।’ –मिरुनाले भनिन्।

प्रतिक्रिया दिनुहोस्