चित्कार



-देविका तिमिल्सिना

म आवाजहीन आवाजको मान्छे
जो भाषणमा आउँछ तर भाषण गर्दैन
म गड्गडाएको नदीमा मिसिएको खोल्सी
जसको पानीलाई भेलले किनारा लगाइदिन्छ
हो म पाखा लागेर बगरमा थुप्रिएको पाँगो हुँ
मेरो आवाज खोलाको गड्गडाहटमा आफैं हराउँछ।

म पिँधमा परेको कचनाकलन हुँ
सगरमाथाको टुप्पामा मेरो आवाज कसरी सुनिन्छ ?
काठमाडौंको कोलाहलमा कर्णालीको आवाज बिलाए झैं
पण्डितको पुराणमा पैतालाबाट मान्छे जन्मेर अछुत भए झैं
दुस्वप्नको रछ्यानमा दरिद्रताको उपमा सिरानी हालेर
भव्य शहरको अमलेख बस्तीमा गुन्जिन्छ छाप्रोको चित्कार
चित्कार हो तर आवाज होइन

त्यसैले कान हुनेले सुन्दैन मात्र मन हुनेले सुन्छ
आजकल कान हुनेहरूको मन गायब भएको छ
गायब मन सम्पत्ति र शक्तिको तखतामा कैद भएको छ।
यसैले म केही नहुनेहरूको आवाज हुँ
चित्कार हुँ।

प्रतिक्रिया दिनुहोस्