तीन मन्त्र विमलका



 

 

केडिया अर्गानाइजेसनका कामहरू हेर्दा औंलामा अट्दैनन्। औंलामा नअट्ने काम औंला भाँचेझैं सजिलैसँग गर्न उनको संयुक्त परिवारको ठूलो देन छ।

-कमल ढकाल

अ बिजी म्यान क्यान डु वन थिंक मोर (एउटा व्यस्त मान्छेले एक अर्काे काम गर्न सक्छ) यसो भन्ने शंकर केडिया यस धर्तीमा छैनन्। जब मान्छे आफ्नो अगाडि हुँदैन तब त्यसका हरेक याद गाढा हुन्छ। साँच्चै हो अभावमा झन् बढी खोजी हुन्छ हरेक कुराको। हातकै घडी पनि बरु हुँदा हेरिँदैन। नहुँदा खोजिरहन्छ।

आफ्नै काका शंकर यस धर्तीबाट बिदा लिए विमल केडियाको। याद झन् तीखो हँुदै छ यति बेलाका अत्यन्त व्यस्त विमल केडियाको। सायद यही माहावाणिले होला विमल एक नाम तीनतिर फैलाएका छन्। मान्छेले घरको कामले फुर्सद नै भएन भनेर भौतारिन्छ विमल भने त्यसबाहेक आफ्नो केयरदेखि लिएर व्यापार हँुदै समाज अनि राष्ट्रका बारेमा घोत्लिँदै मात्र छैनन् काम नै गरिरहेका छन्।

व्यापारमा केडिया अर्गानाइजेसनका थिंक ट्यांक रहेका विमल समाजिक सेवामा पनि उत्तिकै संलग्न छन्। मान्छे १०–५ को जागिर खाएर त तनावमा हुन्छ। विमलले भने सबै काम भ्याएर पनि प्रेमपूर्वक लोभलाग्दो जीवन बिताएका छन्। केडिया यति राम्रोसँग गाना गाउँदा रहेछन् कि सुन्ने दंग पर्ने गरी।

स्लो मोसनका गीत बढी मन पराउने विमल घुम्तीमा नआउ है आँखा तिमी लोलाउन आँखा तिमी लोलाउन बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन। यो गीत यति राम्रोसँग गाए कि विमल केडियासँग कुरा गरिरहेको छु जस्तो नलाग्ने।

प्रायः गाडीमा हिँड्दा गाउने विमलको हब्बी नै रहेछ। जे सोधे पनि प्रायः गम्भीर भएर उत्तर दिने विमल बहुत घोत्लिँदा रहेछन्। किनकि विमललाई आफ्नो उत्तर टची हुनुपर्छ भन्ने भित्रैदेखि लाग्दोरहेछ। मान्छेले आफ्नो जिन्दगीबाट सिक्दै लान्छ हरेक कुरा। जिन्दगीको भोगाइबाट चुरो कुरो बन्छ त्यही नै उसको जीवन दर्शन बन्छ। विमलले पनि आफ्नो जिन्दगीको भोगाइबाट तीन कुरा निकालेका छन्। जिन्दगीलाई हेर्ने। त्यही तीन कुरा अहिले विमलको तीन मन्त्र बनेका छन्। जुन बिहान ओछ्यानबाट उठ्ने बित्तिकै विमल जप्छन्। त्यहीअनुसार गर्छन्।

व्यापार विमलको जन्मँदै सँगै आएको पेसा हो। जुन जेमा लागे पनि मान्छे सुखी हुन खोज्छ। जुन हरेक मान्छेको अधिकार हो। सुखको अभिलाषामा हुन्छ मान्छे। कसरी पाइन्छ भन्ने दौडँदादौडँदै उसको जीवन सकिन्छ। कर्तव्य नगरेका कारण सुखी हुन सकिरहेको छैन मान्छे। व्यापारिक सुख र राजनैतिक सुख भए पनि स्वास्थ छैन भने सब सुख बेपत्ता हुन्छ।

त्यही बुझेर नै होला विमलले जीवनको पहिलो मूल मन्त्र बनाएका छन्। स्वस्थमय जीवन। सुख पाउनका लागि मान्छेले दुःख अगाल्नुपर्छ। यही बुझेका विमल बिहान उठ्ने बित्तिकै योगमा लागिहाल्छन्। अल्छीले व्यापक सताएको बेला पनि रुटिनअनुसार बिमल बिहान सम्झन्छन् स्वस्थ जीवन भएन भने। त्यो सम्झने बित्तिकै जाडो होस् वा गर्मी वा जतिसुकै हतार किन नहोस् योगमा लागिहाल्छन् विमल।

सुखी हुने विमलको दोस्रो मूल मन्त्र छ। सुखमय जीवन। यसमा विमलले जिम्मेवारीलाई प्रमुखरूपमा हेरेका छन्। पारिवारिक जिम्मेवारी। आर्थिक जिम्मेवारी। सामाजिक जिम्मेवारी। तीनै कुरालाई ब्यालेन्समा राखेर परिवार साथीभाइमा सौहार्दता बढाउँदै लैजानु नै विमलको सुखमय जीवनको दोस्रो
पाटो हो।
सुखी हुनका लागि विमलको विचारमा तेस्रो नभई नहुने कुरा हो मिनिङ फुल लाइफ। यसमा आफू र आफ्नोबाहेक आफ्नो समाज देश अनि ब्रह्माण्ड पर्छ। जसका लागि आफूले के गरे र के गर्दै छु भनेर सोचेमा मान्छे आफसे आफ सुखी हुने विमलको भनाइ छ।

 

मान्छेले आफ्नो जिन्दगीबाट सिक्दै जान्छ हरेक कुरा। जिन्दगीको भोगाइबाट चुरो कुरो जे बन्छ त्यही नै उसको जीवन दर्शन बन्छ। विमलले पनि आफ्नो जिन्दगीको भोगाइबाट तीन कुरा निकालेका छन्। जिन्दगीलाई हेर्ने। त्यही तीन कुरा अहिले विमलको तीन मन्त्र बनेका छन्। जुन बिहान ओछ्यानबाट उठने बित्तिकै विमल जप्छन्। त्यहीअनुसार गर्छन्।

 

हरेक मान्छे अनेकांै चरणबाट गुज्रन्छ। समस्या हरेक मान्छेको जिन्दगीमा आउँछ। मौसमअनुसारको लुगा लगाएर मान्छे चिसो–तातोबाट बचेजस्तै समस्याबाट बच्न पनि मान्छेले त्यहीअनुसारको जुक्ति बुद्धि लगाउनुपर्छ। संयमता र एकाग्रताले समस्या भाग्दोरहेछ भन्ने विमलले बुझेका छन्।

कसलाई कस्तो कुराले समस्या ल्याउँछ भन्ने केही थाहा हँुदैन। विमलले पनि आजभन्दा २५ वर्षअघि अनौठो खालको समस्या व्यहोरे। युरोपमा व्यापर गर्न गएका विमल नराम्ररी डिप्रेस भए। युरोप र नेपालको तुलना गरे दिमागमा। कसरी व्यापार गर्ने होला भनेर सोच्दासोच्दै व्यापार नै गर्न सकिन्न भन्ने हीनताबोधमा पुगे उनी।

त्यही सोचाइले बिमारी नै परे नराम्रोसँग। पाँच÷सात महिना उनले केही गर्न सकेनन्। पूरै हीनताबोध भयो विमललाई। परिस्थितिसँग मान्छेले सम्झौता गर्नुबाहेक अरू के नै गर्न सकिन्छ भन्ने ज्ञान भएपछि मात्र विमल काममा फर्के। साँच्चै त्यति बेला संयमता नअपनाएको भए आफ्नो जीवन नै धरापमा पर्ने बताउँदै थिए विमल।

व्यापारमा हरेक व्यक्ति र परिस्थिति महत्वपूर्ण हुन्छ भन्ने विमल जस्तोसुकै व्यक्ति आए पनि भेटघाट गर्ने बताउँछन्। आफू ठूलो व्यापारी घरानाको भनेर नगम्किई सबैसँग भेटघाट गर्दै सूचना र सम्पर्कसँग खेलेकै कारण आज व्यापारको पथमा आफ्नो स्पिड बढेको विमलको भनाइ छ।

हाम्रो देश नेपाल संसारकै नम्बर वान राष्ट्र हुने बताउँछन् विमल। मभन्दा पनि हामी भन्ने संस्कार भएमा। आजसम्म पनि कुनै पुस्ता भिन्न नबसेको केडिया परिवार लगभग ८० जना पुग्दा पनि एउटै संयुक्त परिवारमा अडेको छ। एउटाले अर्काेका लागि बलिदान दिन तयार हुनु नै संयुक्त परिवार टिक्नुको सूत्र हो। जुन केडिया परिवारमा प्रशस्त छ। यही कुरा राष्ट्रका नेताले सिकेमा नेपाल नम्बर वन हुने विमलको भनाइ छ।

सबैलाई आश्चर्यचकित पार्ने गरी त्यागको संस्कार नबसालेको भए केडिया परिवार छिन्न भिन्न हुन सक्थ्यो। छोराले बाबुलाई नगन्ने संस्कार हुर्कंदै गएको समाजमा परिवार एक दह्रो पावर हो भन्ने हेक्का केडिया परिवारले राम्रै बुझेको छ।

काका शंकर केडियाको पुस्तक लोकार्पण हँुदाका दिनमा पूर्वसभामुख सुभाष नेम्वाङले पुस्तक विमोचन गर्दा भनेका थिए– ‘राजनैतिक पार्टीले मिल्ने र त्याग गर्ने संस्कार केडिया परिवारबाट सिक्नुपर्दछ।’

साँच्चै संयुक्त परिवारमा रहेर व्यापार गर्ने उनको मन यस्तो रहेछ भन्दै थिए– ‘भाइले मर्सिडिज किन्यो आफ्नो मारुती कार छ भने पनि भाइको मेरै हो भनेर सोच्नुपर्यो तब न हुन्छ संयुक्त परिवार।’ परिवारका लिडर बनेका उनी तमलोपाबाट संविधानसभाका सदस्य भए। धार्मिक संस्था पशुपति क्षेत्र विकास कोषको सदस्य भए जहाँ जे भए पनि देश राम्रो होस् भन्ने उनको ध्येय रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्