पुस्तक चर्चा- डा. समीरले ल्याए मृत्युको आयु



साहित्यकार डा. रवीन्द्र समीरको बाह्रौं कृति मृत्युको आयु सार्वजनिक भएको छ। लघुकथाको क्षेत्रमा विशिष्ट पहिचान बनाएका समीरको यो उपन्यास लघुकथाको शैलीमा लेखिएको छ। १ सय ६६ वटा स–साना च्याप्टरमा लेखिएको मृत्युको आयु, उपन्यास विधामा नौलो प्रयोगका रूपमा रहेको छ।

दैनिक अरबबाट फर्किने रातो बाकसमा आएको नेपाली श्रमिकको कथामा आधारित यो उपन्यास पात्रको मृत्युदेखि शुरू भएर अन्तिम संस्कारको तेह्रौं दिनमा सकिन्छ।
लघुकथाहरू एउटै सूत्रमा उनिँदै–उनिँदै गएर मृत्यको आयु सूत्र उपन्यास बनेको छ, जसले उपन्यासको संरचनामा नयाँपनको खोजी गरेको छ।

खाडी मुलुकहरूबाट वार्षिक सयौंको संख्यामा रातो बाकस नेपाल आउँछन्। ती रातो बाकसमा उनीहरूको जीवनसँगै सपना र रहर पनि मृत भएर आउँछन्। यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्व गर्ने एउटा रातो बाकसको कथा नै मृत्यको आयु हो।

‘स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी छ।’ –आख्यानकार अमर न्यौपानेको प्रतिक्रिया छ। रेमिट्यान्सको भरमा टिकिरहेको नेपाली अर्थतन्त्र तथा त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको भयावह प्रभावको सशक्त, मार्मिक चित्रणले उपन्यासलाई समकालीन समस्यासित जोड्छ।

‘ब्ल्याक ह्युमरको प्रयोग यो सूत्र उपन्यासको अर्को बलियो पक्ष हा।े’ –अर्का आख्यानकार नयनराज पाण्डको भनाइ छ। उपन्यास पढेपछि लेखक तथा हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले भन्नुभयो– ‘मृत्युको आयु अनौठो उपन्यास हो। यो उपन्यास लेख्दा लेखकले आफ्नो मनलाई निकै काबुमा राख्नुपर्छ भने पाठकलाई झन् संवेदनशील र कारुणिक बनाउँछ। यस्तो शैलीको उपन्यास मैले अहिलेसम्म पढेको छैन।’

आख्यानकार रवीन्द्र समीर स्वयंको भनाइ भने यस्तो छ– ‘मृत्युलाई बोकेर हिँड्न निकै पीडादायी हुँदोरहेछ। ३ वर्षसम्म मेरो मन, मस्तिष्क र सपनामा मृत्युको बास भयो। यो पुस्तक तयार गर्न अरबका केही श्रमिक शिविर, अस्पताल, शवगृह, आर्यघाट, गाउँको किरियापुत्री घर, अन्तिम संस्कार विधि, विष्णुपुराण, शिवपुराण, श्रीमद्भागवत् गीता, कुरान तथा बाइबलका आवश्यक सन्दर्भ, गरुडपुराण, शव व्यवस्थापनसम्बन्धी अरबी कानुन तथा प्रक्रिया, नेपाली दूतावासको प्रक्रिया, मृत्युसम्बन्धी लेख, श्रव्यदृश्य सामग्री आदिको अध्ययन एवं अनुसन्धान गर्नुपर्यो।

चिकित्सा विज्ञानमा पनि निकै घोत्लिनुपर्यो। काठको बाकसमा फर्किएका दाजुभाइ तथा दिदीबहिनीका आश्रित परिवारजनको मर्ममा स्वयं डुब्न पर्यो।’

प्रतिक्रिया दिनुहोस्