हेटौंडामा पहिलो पटक सिर्जनशील उद्यमी मेला



हेटौंडा । हेटौंडामा पहिलो पटक सिर्जनशील उद्यमी मेला–२०७६ बिहीबार शुरु भएको छ । मकवानपुर महिला उद्यमी व्यवसायी संघ एवम् महिला सिर्जनशील केन्द्र, काठमाडौंको आयोजनामा उद्यमी मेला हेटौंडा—४, पल्पसा हलमा सुरु भएको हो ।

दुई दिन सञ्चालन हुने मेलामा विशेषगरी महिलाको महान् चाड तीजलाई लक्षित गरी विशेष छुटमा सामान बिक्री वितरण हुने मकवानपुर महिला उद्यमी व्यवसायी संघ अध्यक्ष सुशीला पाण्डेले जानकारी दिनुभयो ।

नेपाल सरकारले सञ्चालन गर्दै आएको ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं, घरघरमा रोजगारीको अवसर सिर्जना गरौं’ भन्ने अभियानअन्तर्गत् मेलामा उद्यमीबाट उत्पादित कृषिउपज, दुग्धजन्य पदार्थ, स्थानीय कच्चापदार्थबाट उत्पादित सामग्री, श्रृंगार सामग्री, दैनिक उपभोग्य वस्तु एवम् आवश्यक सामग्री प्रदर्शन गरी बिक्री वितरण हुँदा उत्पादकत्व तथा उद्योगमा टेवा पुग्ने विश्वास लिइएको पाण्डेले बताउनुभयो ।

मेलाको उद्घाटन गर्दै प्रदेश–३ प्रमुख अनुराधा कोइरालाले स्वदेशी उद्योगको उत्पादन बजारीकरणमा मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले उत्पादित सामग्रीहरु मेलाका माध्यमले सबैतिर चिनाउन सहयोग पुग्ने बताउनुभयो ।

हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले महिलाका उत्पादन बजारसम्म ल्याउन सहयोग गरिने विश्वास दिलाउँदै उत्पादनशील क्षेत्रमा स्थानीय सरकार सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगर उपप्रमुख मीनाकुमारी लामा, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपाने, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष बद्री लम्साल, महिला उद्यमी व्यवसायी संघ सल्लाहकार शर्मिला डंगोललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्यमी मेलामा पल्पसा हलभित्र र बाहिर गरी ५० वटा स्टलको व्यवस्था गरिएको छ । ५० वटा स्टलमध्ये ३० वटासम्म हस्तकला तथा घरेलु उत्पादनलाई जोड दिइएको छ । निःशुल्क प्रवेश रहेको मेलामा तीज भाखाका गीत र हेल्थ क्याम्प पनि सञ्चालन हुनेछ । मेलामा मकवानपुरसहित काठमाडौं र चितवनका उद्यमीको सहभागिता छ ।

घरेलु तथा साना एवम् लघुउद्यमी व्यवसायीद्वारा उत्पादित उत्पादन प्रवद्र्धनमा टेवा पु¥याएर स्वयम् सक्षम र निर्णायक भूमिका खेल्नसक्ने महिला पहिचान गरी उजागर गर्ने उद्धेश्यले शुरु मेलाको ३० हजार सर्वसाधारणले अवलोकन गर्ने र करिब ३० लाख कारोबार हुने लक्ष्य रहेको अध्यक्ष पाण्डेको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्