बेलायत सम्झौताबारे जोनसन उत्साहित



फ्रान्स । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सेली नेता इम्यानुयल म्याँक्रोसँगको कुराकानीमा आफूले बेलायतलाई यूरोपेली संघ इयूबाट सम्झौतासहित बहिर्गमन गराउन चाहेको बताउनुभएको छ ।

प्रधानमन्त्री जोनसनले आफूले यस सम्बन्धमा जर्मन चान्सलरसँगसमेत कुराकानी गरेको र उहाँको कुराबाट निकै ‘उत्साहित’ बनेको बताउनुभयो ।

जोनसनले भन्नुभयो, “म प्रष्ट पार्न चाहन्छु । बेलायत सम्झौता चाहन्छ । हामीले सम्झौता गर्न सक्छौँ तर यो सही सम्झौता हुनुपर्छ ।”

म्याँक्रोले बेलायती प्रधानमन्त्रीसँगको भेटमा बेलायतको इयूबाट हुने बहिर्गमनका लागि एक महिना ‘उपयोगी’ वार्ता गर्न आग्रह गर्नुभएको थियो भने यस पहिले जोनसन र मर्केलबीच कुराकानी भएको थियो ।

फ्रान्सका राष्ट्रपति म्याँक्रोले जोनसनलाई भन्नुभयो, “एक महिना ९३० दिन० को समयमा ‘केही विवेकी समझदारी’ बनाउन सम्भव छ । त्यसैले यो समयलाई ‘उपयोगी’ महिना बनाउन प्रयास गर्नुपर्छ ।”

तर उहाँले थप्नुभयो, “यस्तो सम्झौता यस पहिले गरिएका वार्ताभन्दा ‘आधारभूतरूपमा टाढा’ हुनुहुँदैन ।”

जोनसनले म्याँक्रोको पछिल्लो भनाइप्रति प्रतिक्रिया दिँदै भन्नुभयो, “ ब्रेक्जिट वार्तामा समस्या देखिएको आयरल्याण्ड र उत्तरी आयरल्याण्डबीचको सीमानाको नियन्त्रणलाई खुकुलो पार्न सम्झौताका लागि प्राविधिक समाधान ‘स्वत उपलब्ध’ छन् । तिनीहरूबारे लामो समय बहस तथा छलफल भएको छ ।”

“हामीले यसमा व्यापारीको योजनालाई मान्न सक्छौँ । राजस्वको पूर्व–भूक्तानीलाई अपनाउन पनि सकिन्छ ।”

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्