नेपाल र ओलीबीच आरोप प्रत्यारोपः ओलीले नेपाललाई भने–तपाईको शुभकामना चाहिएन



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य उपचारका लागि सिंगापुर जानुपूर्व सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच खटपट सिर्जना भएको छ । बालुवाटारमा सचिवालय बैठक शुरु भएपछि प्रधानमन्त्री ओलीले एजेण्डामा प्रवेश गर्न नभ्याउने भएकाले आफूलाई स्वाथ्यलाभको शुभकामना दिएर पठाउन आग्रह गरेका थिए ।

तर, नेता नेपालले ओलीको स्वास्थ्यलाभको कामना गर्ने प्रस्तावको समेत बिरोध गरेपछि उनीहरुबीच भनाभन भएको थियो । बैठकमा नेपालले राजेन्द्र गौतममाथि कारबाहीको माग गरेपछि ओलीले बुधबार साप्ताहिकको प्रसंग ल्याएका थिए । पत्रिकाको समाचार देखाउँदै ओलीले ‘तपाईँले फरक मत नलेखी मिडियामा बाँड्नुहुन्छ भने तपाईँको कदम गलत भयो भनेर अर्कोले फेसबुकमा लेख्न पाउँदैन ’ भन्ने प्रश्न गरेका थिए ।

ओलीले ‘तपाईँको शुभकामना मलाई चाहिँदैन र तपाईंको इच्छा के हो भन्ने पनि मलाई थाहा छ, तपाईंले शुभकामना नदिँदैमा केही हुन्न’ भनेको प्रष्टै सुनीएको नेकपाका एक नेताले बताए ।

दुई नेता व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएपछि अर्का अध्यक्ष प्रचण्डले पटकपटक आज अरु विषयमा कुरा नगरौं भन्दै माधव नेपाललाई रोक्न खोजेका थिए ।

पछिल्लो समय आफ्नो तेस्रो बरियता खोसिएपछि नेता नेपाल अध्यक्ष ओलीसँग रुष्ट बनेका छन् । उनले सचिवालय बैठकको पछिल्लो निर्णयमा असहमति जनाउँदै सातबुँदे नोट अफ डिसेन्ट दर्ता गरेका छन् ।

यद्यपी बिहीबारको बैठकले अध्यक्ष तथा प्रधानमन्त्रीको ओलीको स्वास्थ्यलाभको कामना गर्ने प्रस्ताव पारित गर्दै अरु एजेण्डा अर्को बैठकमा छलफल गर्ने गरी पन्छाएको छ ।

प्रतिक्रिया दिनुहोस्