नेप्सेमा रहेको राष्ट्र बैंकको शेयर २० प्रतिशतमात्रै बिक्यो



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको शेयर खरिदका लागि तीन कम्पनीले आवेदन दिएका छन्। राष्ट्र बैंकले लिलामीमा ल्याएको नेप्सेको शेयर खरिदका लागि कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक र प्रभु बैंकले बोेलपत्र पेस गरेका हुन्।

राष्ट्र बैंकले नेप्सेमा रहेको आफ्नो स्वामित्वको ३४ दशमलव ६० प्रतिशतमध्ये करिब २० प्रतिशत शेयर स्वामित्वमात्रै बिक्री भएको छ भने करिब १४ प्रतिशत अझै बिक्री नभएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँका अनुसार कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक र प्रभु बैंकले २० प्रतिशत शेयर खरिदका लागि बोलपत्र पेस गरेका छन्।

राष्ट्र बैंकले १७ लाख २९ हजार ९८९ कित्ता शेयरमा बोलपत्र आह्वान गरेकोमा १० लाख कित्ता हाराहारीमा मात्र आवेदन परेको हो। ७ लाख बढी कित्ता शेयर भने अवितरित भएको छ। एक महिना अवधि दिएर सार्वजनिक बोलपत्र आह्वान गरे पनि सबै शेयर बिक्री हुन नसकेको प्रवक्ता निरौलाले बताउनुभयो।

राष्ट्र बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा रहेको १७ लाख २९ हजार ९८९ कित्ता शेयरका लागि असार ३१ गतेदेखि भदौ २ गतेसम्म बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको थियो। राष्ट्र बैंकले प्रतिकित्ता शेयरको न्यूनतंम मूल्य १ हजार ३२ रुपियाँ तोकेको थियो। शेयर खरिदको लागि आवेदन गर्दा नेप्सेको कुल शेयर पुंँजीको कम्तिमा ५ प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुनुपर्ने प्रावधान थियो।

राष्ट्र बैंकले लिलामीमा ल्याएको अवितरित शेयर फेरि कहिले लिलामीमा ल्याउने सम्बन्धमा बोर्ड बैठकले निर्णय गर्ने जनाएको छ। ‘प्रचलित कानुन बमोजिम, आवश्यकता अनुकुल हुने गरी राष्ट्र बैंकले फेरि बाँकी शेयर स्वामित्व लिलामीमा राख्छ,’ प्रवक्ता निरौलाले भन्नुभयो। राष्ट्र बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा रहेको सबै शेयर बिक्री गरेरै छाड्ने उहाँको भनाइ छ।

नेप्सेमा सरकारको ५८ दशमलव ६६ प्रतिशत, राष्ट्र बैंकको ३४ दशमलव ६० प्रतिशत, एनआईडीसीको ६ दशमलव १२ प्रतिशत र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को शून्य दशमलव ६२ प्रतिशत शेयर स्वामित्व रहेको थियो। लिलाम प्रक्रियासँगै नेप्सेको केही शेयर स्वामित्व लक्ष्मी बैंक, प्रभु बैंक र कर्मचारी सञ्चय कोषको रहने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्