दुई वर्षभित्र सबै जनतामा विद्युत्को पहुँच ः ऊर्जामन्त्री



नेपाल समाचारपत्र, काठमाडौं ।दुई वर्षभित्र सबै नेपाली जनतामा विद्युत्को पहुँच विस्तार हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताउनुभएको छ।

राष्ट्रिय योजना आयोग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा संयुक्त राष्ट्रसंघीय एसिया प्रशान्त क्षेत्रका लागि सामाजिक तथा आर्थिक आयोग (युएनस्क्याप) द्वारा बुधबार काठमाडौंमा आयोजित दिगो विकास लक्ष्यको लक्ष्य नम्बर सात हासिल गर्न राष्ट्रिय मार्गचित्र निर्माणसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री पुनले सो कुरा बताउनुभएको हो।

आयातित इन्धनको निर्भरतालाई कम गर्ने र परम्परागत ऊर्जा विस्थापित गर्न पहाडी तथा उच्च हिमाली जिल्लामा लघुजलविद्युत् र सौर्य प्रणाली विद्युतीकरण गर्ने र तराईमा स्वच्छ ऊर्जाबाट खाना पकाउने अवस्थाको सिर्जना हुने मन्त्री पुनको भनाइ छ।

उहाँले हालको प्रतिव्यक्ति ऊर्जा खपत २४५ किलोवाट प्रतिघण्टालाई बढाएर पाँच वर्षभित्र सात हजार किलोवाट घण्टा पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले दिगो विकास लक्ष्यको सातौं लक्ष्यले निर्दिष्ट गरेको उपयोग गर्न सक्ने र स्वच्छ ऊर्जाको सुनिश्चितताका लागि सरकारले जलविद्युत् र नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो।

विद्युत् सुविधालाई सन् २०३० मा ९९ प्रतिशत, नवीकरणीय ऊर्जाको उपयोगलाई ५० प्रतिशत, जलविद्युत् उत्पादनको क्षमता १५ हजार मेगावाट, सार्वजनिक यातायातमा विद्युतीय सवारीको अवस्था ५० प्रतिशत पुग्ने बताउनुभयो।

सो कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले, विद्युत् निगमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालका आवासीय प्रतिनिधि आइसनीया मेडागान्गोडा–लाबे, ऊर्जाविद् डा. विश्वभूषण अमात्यलगायतले धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्