जोनसन–मोदीबीच वार्ता : काश्मिर भारत–पाकको द्विपक्षीय मामिला हो



लन्डन, (एजेन्सी)। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई काश्मिर भारत र पाकिस्तानको द्विपक्षीय मामिला भएको प्रष्ट पारेका छन्। मोदी र जोनसनबीच मंगलबार फोनमा भएको वार्तामा काश्मिरको मौजुदा स्थिति लगायत भारत तथा पाकिस्तानबीचको साझेदारीको महत्वमा पनि चर्चा भएको बताइएको छ।

जोनसलने डाउनिंग स्ट्रिटमा गत महिना पदभार ग्रहण गरेपछि विश्वका कयौं नेताहरूसँग फोनमा वार्ता गरेका छन्। मोदीसँगको यो वार्ता त्यसकै शृंखला भएको बताइएको छ।

बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिंग स्ट्रिटका प्रवक्ताले फोन वार्ताको जानकारी दिँदै भनेका छन्– ‘प्रधानमन्त्रीले स्पष्ट रुपमा काश्मिर त्यस्तो मामिला हो जसलाई भारत र पाकिस्तानले द्विपक्षीय स्तरमा समाधान गर्नुपर्छ भन्ने बेलायतको मान्यता रहेको बताए।

उनले वार्ताका माध्यमबाट मामिला सल्टाउनुपर्नेमा जोड दिएका छन्। भारतले जम्मु काश्मिरको विशेष दर्जा हटाएको छ र त्यसलाई दुई केन्द्र शासित प्रदेशमा विभाजित गरेको छ। यस विषयको प्रसंगमा जोनसनले मोदीसँगको वार्तामा काश्मिरको उल्लेख गरेका हुन्।

दुई नेताले भारत र बेलायतबीच द्विपक्षीय साझेदारका विषयमा छलफल गरेको र विशेष ब्यापार तथा आर्थिक सम्बन्धका माध्यमबाट त्यसलाई थप बलियो बनाउन आवश्यक रहेकोमा सहमति जनाएका छन्। भारत र बेलायतबीच ब्यापक सम्भावना रहेको र त्यसले दुवै देशको समृद्धि बढ्ने प्रवक्ताले बताए। यसै सप्ताहन्तमा फ्रान्समा जी ७ बैठक हुनेछ जहाँ मोदी र जोनसनबीच पहिलो भेटवार्ता हुनेछ।

भारतीय प्रधानमन्त्रीको कार्यालयबाट जारी बयानमा मोदीले जोनसनलाई प्रायोजित एजेन्डा चलाइरहेकाहरूका विषयमा अवगत गराउँदै उनीहरूबाट भएका हिंसाका बारेमा उल्लेख गरेको बताइएको छ।

यस सम्बन्धमा लन्डनस्थित भारतीय उच्चायोग अगाडि स्वतन्त्रता दिवस मनाइरहेका भारतीय समुदायका सदस्यहरूविरुद्ध भएको हिंसाको उल्लेख गरेका थिए। प्रधानमन्त्री जोनसनले उक्त घटनाप्रति खेद प्रकट गर्दै भारतीय उच्चायोग, त्यहाँका कर्मचारी र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न हरसम्भव कदम चाल्ने आश्वासन दिए।

दुई नेताबीच आतंकवादका विषयमा पनि चर्चा भएको विज्ञप्तीमा उल्लेख गरेको छ। कट्टरपन्थी, हिंसा र असहिष्णुताको खतरा हटाउन प्रभावकारी कदम आवश्यक भएकोमा दुबैले जोड दिए।

 

प्रतिक्रिया दिनुहोस्