ताइवान हतियार बिक्री विवाद : अमेरिकी कम्पनीविरुद्ध नाकाबन्दी लगाउने चीनको चेतावनी



बेइजिङ, (एजेन्सी)। ताइवानलाई ८ अर्ब डलरको अत्याधुनिक एफ–१६ भी लडाकू जेट बिक्री गर्ने योजनासँग जोडिएका अमेरिकी कम्पनीविरुद्ध नाकाबन्दी लगाउने चीनले जनाएको छ। ताइवानलाई हतियार बिक्री गर्ने अमेरिकी यस योजनाले चीन–अमेरिकाबीचको सम्बन्धलाई थप तनावमा धकेलेको छ।

हतियार बिक्री गर्ने प्रस्तावबाट अमेरिका तत्काल पछाडि हट्नुपर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआंगले बताए। ताइवानसँगको सैन्य अन्तरसम्बन्ध तथा हतियार बिक्री रोक्न अमेरिकालाई अनुरोध गरेको छ, अन्यथा त्यसबाट उत्पन्न हुने सबै परिणाम भोग्न तयार रहन गेङले चेतावनी दिए। उनले अमेरिकाविरुद्ध चाल्न सकिने विशेष कदमका बारेमा भने बताएनन्।

ट्रम्प प्रशासनले गत हप्ता कंग्रेसलाई चीनको चेतावनीका बाबजुद युद्धक विमान बेच्ने उसको योजनाका बारेमा जानकारी दिएको थियो। यसै हप्ताको शुरुवातमा अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्री योजनालाई अनुमोदन गरेको थियो।

आफ्नो विद्रोही प्रान्तका रुपमा रहेको ताइवानलाई कुनै पनि हतियार बिक्री गर्नुलाई बेइजिङले कडा आपत्ति जनाउँदै आइरहेको छ। अहिले विशेष अत्याधुनिक लडाकु विमानलाई लिएर उसको विरोध आएको हो। कुनै औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिकी कानुनले ताइवानलाई आफ्नो रक्षा गर्ने अधिकार सुनिश्चित गर्न पाउने अधिकार दिएको छ।

लोकतान्त्रिक शासन रहेको टापु ताइवान सन् १९४९ को गृहयुद्धका क्रममा कम्युनिस्ट पार्टी शासित मुख्य भूमिसँग अलग्एिको थियो। जुलाइमा ट्रम्प प्रशासनले ताइवानलाई २ अर्ब २० करोडको ट्यांक र हवाई क्षेप्यास्त्र बिक्री गर्ने सोचमा रहेका बताएपछि चीनले अमेरिकाविरुद्ध नाकाबन्दी लगाउने प्रतिवद्धता व्यक्त गरेको थियो।ताइवान नेता साई इंग वेनले मंगलबार उक्त बिक्री योजना अनुमोदन गरेकोमा अमेरिकालाई धन्यवाद दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्