फुटिरहने चारलेन सडक



नेपाल समाचारपत्र, बाँके। नेपालगन्जमा खानेपानीको पाइप फुटिरहँदा चारलेन सडकलाई बेलाबेलामा तोडफोड गर्नु परेको छ। सडक निर्माण गर्ने बेलामा ठेकेदार र खानेपानी कार्यालयका बीचमा आवश्यक समन्वय भएर पाइप नबिछ्याइएकाले चारलेन सडकलाई बेलाबेलामा तोडफोड गर्नु परेको हो।

चारलेन सडकमा एक ठाउँमा टाल्न नपाउँदै अर्को ठाउँमा पानी निस्किने गरेको छ। सडक बनेपछि बीपीचोकदेखि धम्बोझीचोकको ५ सय मिटरको दुरीमा कम्तीमा एक दर्जन पटक सडक तोडफोड गरिसकिएको छ।

गुरुद्वारा, कर्णाली विकास बैंकअगाडि र बेलासपुर जाने बाटोमा खानेपानीको पाइप फुटिरहने गरेको छ। यी ठाउँमा एक दर्जन पटक सडक तोडफोड गर्दै पाइप मिलाइसकिएको छ। खानेपानी कार्यालयले फुटेको ठाउँमा पाइप टाल्नेमात्रै गर्दा केही समयपछि फेरि फुट्ने गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो।

 

चारलेन सडकमा एक ठाउँमा टाल्न नपाउँदै अर्को ठाउँमा पानी निस्किने गरेको छ। सडक बनेपछि वीपीचोकदेखि धम्बोझीचोकको पाँच सय मिटरको दुरीमा कम्तीमा एक दर्जन पटक सडक तोडफोड गरिसकिएको छ।

 

वडा नं. १का अध्यक्षसमेत रहेका प्रवक्ता रिजाल कार्यबाहक मेयर भएको बेलामा उपमहानगरपालिकाकै स्रोतले पाइप फुटेका ठाउँमा टालेका थिए। त्यसमा बेलामा खानेपानी पाइपमा खिया लागेर काम नलाग्ने अवस्थामा रहेको देखेको प्रवक्ता रिजालले बताउनुभयो। ‘खानेपानीको पूरै पाइप परिवर्तन गर्नुपर्छ।

पाइप फुटेपछि त्यही ठाउँमा टाल्ने गरेर समस्या समाधान हुँदैन, प्रवक्ता रिजालले भन्नुभयो, आज एक ठाउँमा टाल्यो, भोली अर्को ठाउँमा फेरि फुट्छ। यस्तो अवस्था कहिलेसम्म व्यहोर्ने ?’सुर्खेत रोड चारलेन भएपछि सडक छेउछाउमा परेका पाइपबीचमा परेका छन्। सडक बन्दा पाइप जाँच गरेर राख्नु पर्नेमा त्यसो हुन सकेन। जसले गर्दा चारलेन सडक तोडफोड गरिरहनु परेको छ।

तीन दिनयता कर्णाली विकास बैंकअगाडि सडकमा रुख रोपिएको छ। ट्राफिक प्रहरीले सावधानीको बोर्ड लगाएको छ। सोमबार पूर्वलेनमा खनेर पाइप टाल्ने काम भएको छ। अर्कोलेनमा रुख रोपिएको छ। सवारी साधनलाई अपराह्नदेखि एकतर्फी बनाइएको छ। ट्राफिक बसेर त्यसको व्यवस्थापन गरिरहेको छ।

स्थानीयबासी अनिल श्रेष्ठले चारलेन सडक एरियामा पूरै पाइप फेर्नु परेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘यो टालटुल गर्ने काम बन्द गर्नुपर्छ। एक ठाउँमा टाल्दा अर्को ठाउँमा फुटिरहेकै छ। अब पूरै पाइप फेर्न दबाब दिनुपर्छ। नेपालगन्ज उपमहानगरपालिकाले त्यसको अगुवाई गर्नुपर्छ।’

यसअघि सडकको बीचमा रुखका हाँगा राखेर सावधानी अपनाए पनि यसअघि एउटा यात्रुबाहक माइक्रो त्यसमा पर्दा धस्सिएर झन्डै मानवीय क्षति भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्