नम्रता जाइराबाट उत्साहित



नायिका नम्रता श्रेष्ठ आफ्ना अघिल्ला फिल्मभन्दा भोलि शुक्रबार अल नेपाल रिलिज हुन लागेको फिल्म जाइरालाई लिएर बढी नै उत्साहित छिन्। फिल्मबारे जानकारी दिन बुधबार आफूसमेत सञ्चालक रहेको ज्ञानेश्वरस्थित एटिक बारमा आयोजित कार्यक्रममा बोल्दै नम्रताले हालसम्म काम गरेका फिल्मभन्दा जाइरा निर्माण र अभिनयको हिसाबले पनि फरक रहेकाले यसबाट उत्साहित रहेको बताइन्।

‘दर्शकले पनि यसलाई माया गर्नेमा म ढुक्क छु। पहिले त एक्सन फिल्म भनेर अलि डर पनि लागिरहेको थियो। यसका लागि करिब ८ महिना मार्सल आर्टको ट्रेनिङ पनि गरें। तर अहिले त कन्फिडेन्ट बढेको छ’, उनले भनिन्– ‘प्रमोसनका लागि जहाँजहाँ गयौं, त्यहाँका दर्शकहरूले हामी फिल्मको पर्खाइमा रहेका छौं भन्नुभएको छ।

गफ दिएको भए अर्कै कुरा। मलाई लाग्छ फिल्म हेरेर दर्शकले नेपालमा पनि यतिको फिल्म बन्यो भन्नुहुनेछ।’ यसभन्दा अघि एक्सन फिल्ममा काम नगरेकी नम्रताले अबका दिनमा भने अन्य एक्सन फिल्ममा पनि काम गर्ने रहर सुनाइन्। ‘सानो संसारमा काम गरेदेखि नै म फरक खालको फिल्ममा काम गर्छु भन्ने सोचिरहेको थिएँ।

गुरुकुलमा गएर सौगात मल्ल दाइको प्लेहरू हेर्थें। उहाँको हरेक प्लेमा फरकफरक अभिनय गरेको देख्दा इन्स्पाएर्ड थिएँ। जाइरामा त्यो काम गर्न पाएँ।’ –नम्रता सुनाइन्।
यसै फिल्मबाट डेब्यु गरेका निर्देशक आषुतोषराज श्रेष्ठले लेखेको स्क्रिप्ट मन परेपछि फिल्ममा लगानीसमेत गरेकी नम्रताले फिल्म निर्माणको अनुभव सेयर गरिन्– ‘कलाकारमात्र भएर काम गर्दा जति सजिलो हुन्थ्यो। निर्माता हुनुमा त्यतिकै प्रेसर बोक्नुपर्ने रहेछ।’

उनले फिल्म बनाउनु र चलाउनु उत्तिकै चुनौतीपूर्ण रहेको अनुभव पनि संगालेकी छिन्। ‘५०÷६० जना कलाकारको टिमलाई मनाएर काम गराउनु निकै गाह्रो काम हो। त्यस्तै फिल्म चलाउनु पनि उत्तिकै गाह्रो काम रहेछ। यहाँ कतिपय राम्रा फिल्म पनि चलेका छैनन्।

फिल्म राम्रो बनेर मात्र पनि हुँदैन, त्यसका लागि प्रमोसनमा उत्तिकै समय दिनुपर्ने हुन्छ।’ –उनले भनिन्। निर्देशक आषुतोषराज श्रेष्ठले नम्रताको अभिनय खुबी देखेर नै आफूले फिल्मको स्क्रिप्ट तयार पारेको बताए। ‘कुनै पनि क्यारेक्टरमा डुबेर तथा फोकस भएर काम गर्ने नम्रतालाई देख्दा यस्तो खालको काम केवल उसले मात्र गर्न सक्छ जस्तो लाग्यो।

फिल्म भनेको कला देखाउने ठाउँ हो। जाइरामा पनि नम्रतालाई फरक रूपमा पोट्रेट गरिएको छ।’ –उनले भने। अर्का कलाकार रेमणदास श्रेष्ठले जाइरामा आफू एक प्रहरीको भूमिकामा भएको खुलाउँदै जाइरा द्वन्द्वदेखि लिएर प्रविधि तथा प्रस्तुतिमा फरक फिल्म भएको बताए।

खलभूमिकामा चम्किरहेका अभिनेता प्रमोद अग्रहरीले फिल्ममा अभिनय गर्दा निकै रमाइलो अनुभव भएको जनाउँदै फिल्ममा आफ्नो लुक जन्माउन निकै गाह्रो भएको बताए। ‘यो फिल्ममा त म ब्वाँसो नै छु।’ –उनले खुलाए। नवअभिनेत्री सिर्जना रेग्मीले आफू फिल्ममा नेगेटिभ रोल बुलेटको भूमिकामा रहेको बताइन्।

‘पहिलोपटक फिल्ममा अभिनय गरे पनि अहिलेसम्म कुनै पनि फिल्ममा यस्तो फिमेल फाइटरको क्यारेक्टर देखेको छैन। फिल्मको सुटिङका क्रममा नम्रता दिदी र मैले एक अर्कालाई धेरै कुट्यौं। हामीले यति कुटाकुट नगरेको भए यति रियल देखिने थिएन होला।’ –उनले भनिन्। अर्की कलाकार सुजाता श्रेष्ठले फिल्ममा आफू रमाइलो र बोलिरहनुपर्ने स्वभावकी युवतीको भूमिकामा रहेको बताइन्।

फिल्ममा पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको रहेको छ। फिल्मका अन्य कलाकारहरूमा अनुपविक्रम शाही, सम्राट मगरलगायतले अभिनय गरेका छन्। कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बाबु श्रेष्ठको छायांकन, सम्राट बस्नेतको द्वन्द्व तथा लोकेश वज्राचार्यको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्