हजार जुनीसम्ममा प्रियंकाको सरप्राइज



जनै पूर्णिमाको अवसर पारेर गत बिहीबार अल नेपाल रिलिज गरिएको फिल्म हजार जुनीसम्म हेर्न पुगेका दर्शक त्यतिखेर छक्क परे, जब हिट सिरिज नाइँ नभन्नु लमा लगातार देखिँदै आएकी नायिका प्रियंका कार्कीलाई पनि यसमा देखे।

यसअघि पब्लिसिटीबाट लुकाइएकी प्रियंकालाई अचानक फिल्ममा देखेर दर्शक रमाए। प्रियंकालाई सरप्राइज प्याकेज बनाउँदै निर्माण पक्षले फिल्म रिलिजपछि मात्र सत्य सत्य बोलको गीत सार्वजनिक गरेको थियो। जसमा प्रियंका र चक्लेटी हिरो आर्यन सिग्देल जोडीका रूपमा देखिएका छन्।

फिल्ममा प्रियंका महत्वपूर्ण भूमिकामा छिन्। फिल्म नहेरेका दर्शकले गीत सार्वजनिक भएसँगै प्रियंका फिल्ममा रहेको जानकारी पाएका छन् भने फिल्म हेर्न पुगेका दर्शकका लागि प्रियंका सरप्राइज थिइन्।

गीतमा मानस थापाको शब्द, प्रवीन पौडेलको संगीत र सुगम पोखरेलको स्वर रहेको छ। सार्वजनिक गीतलाई सिक्किमकै हिमाली भेगमा छायांकन गरिएको छ। गीतमा आर्यन र प्रियंका रोमान्टिक देखिएका छन्।

प्रियंका र आर्यनको गीत चाँगु लेकमाथि खिचिएको हो, त्यतिबेला तापक्रम माइनस ४ डिग्री रहेको थियो। सिक्किमको गान्तोकमा अवस्थित यो ताललाई पानीको स्रोत पनि भन्ने गरिन्छ।

प्रदर्शनरत फिल्ममा दर्शकले आर्यन सिग्देलको कामलाई निकै रुचाएका छन्। उनले गेटअप र अभिनयले दर्शकलाई रिझाएका छन्।

स्वस्तिमा खड्का र सलोन बस्नेतले पनि दर्शकलाई बाँधेर राख्छन्। विकासराज आचार्यको निर्देशनमा बनेको फिल्म प्रेम कथामा आधारित फ्यामिली ड्रामाका रूपमा रहेको छ।

फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, शिवहरि पौडेल, अखिलेश प्रधान, अनुभव रेग्मीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्