नरसिंह जात्रा सञ्चालनमा कठिनाइ रकम अभावले मल्लकालीन नाच लोप हुने खतरामा



सुनील महर्जन, ललितपुर। करिब ३ सय वर्ष पुरानो नरसिंह जात्रा रकम अभावले सञ्चालन गर्न कठिनाइ हुँदै गएको पाइएको छ। नेपाल संवत्अनुसारको नवौं महिना गुँला (श्रावण÷भाद्र) महिनामा विशेषतः काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा अनेक जात्रा र पर्व सञ्चालन हुने गर्छन्।

त्यसमध्ये मूर्त र अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको नरसिंह जात्रालाई संस्कृतिविद्हरूले विशिष्ट महत्वका रूपमा लिँदै आएका छन्। धार्मिक र सांस्कृतिक महत्व बोकेको सो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरमा सञ्चालन हुने गर्दछ। यसअनुरूप मंगलबार सो जात्रा सञ्चालन भएको छ।

६ कुल (षट्कुल) देवब्राह्मण (नेवार ब्राह्मण) राजोपाध्यायहरूको उपाकर्म गुठीका प्रत्येक सदस्यले ज्येष्ठताका आधारमा पालैपालो आफ्नै खर्चमा सो जात्रा सञ्चालन गर्दै आएका छन्। नगर परिक्रमा गराइँदा नरसिंहको दायाँ र बायाँ लक्ष्मी र सरस्वती पनि सँगसँगै रहेका हुन्छन्।

यात्रामा नरसिंहका स्त्री ‘शक्ति’ सरस्वती र लक्ष्मीको भेषमा सजिएका दुई बालक नरसिंहको दायाँबायाँ बस्ने गर्दछन्। अगाडि भने भक्त प्रह्लादका रूपमा एक जना बालक हातमा धूप लिएर नरसिंहपट्टि फर्केर नमस्कार गर्दै उल्टो हिँड्ने गर्छन्।

साथमा भजन समूह, धिमे बाजा समूह, लाखेले त जात्रालाई हर्षोल्लासमय बनाएका हुन्छन्। यात्राका क्रममा नरसिंहको अघिल्लोपंक्तिमा परम्परागत बाजागाजाका साथ भजन समूह, वाद्य समूह, छत्र, कुचोले बाटो बढार्ने, दुबोले गाईको दूध र जल छर्कने, अबिर छर्कनेलगायत झाँकीहरू रहने गर्दछन्।

जात्रामा ताज, शिरविन्दु, भिपु माला लगाएका अप्सराको प्रतीकका रूपमा कुचो लिएका दुई बालिका अग्रपंक्तिमा रहनेछन्। उनीहरूले नरसिंह हिँड्ने बाटो सफा गर्ने भूमिका निर्वाह गर्नेछन्। लगत्तै अर्का दुई बालिकाले गाईको दूध, दुबो र लावा अबिर छर्किएर बाटोलाई चोखो बनाउने गर्दछन्।

त्यसपछि राजदण्ड समाएर दुई बालिका अगाडि बढ्नेछ।‘उनीहरू प्रत्येक दुई÷दुई जनालाई झल्लरवाला छत्रले ओढाउने गरिन्छ’, नरसिंह जात्रा मूल समारोह समितिका संयोजक उमेश्वर राजोपाध्यायले भन्नुभयो– ‘नरसिंहको पछाडि कपडाबाट बनाइएको दुईवटा पुतली पनि बाँधिएको हुन्छ र नरसिंह हिँड्ने बेला सोही पुतलीलाई लतार्दै जान्छन्। रुन्चे लागेका बालबालिकालाई यो पुतली ढोग्न लगाएमा रुन्चे निको हुन्छ भन्ने जनविश्वास छ।’

उहाँले जात्राका मुख्य नरसिंह रहेको कारणले सर्वसाधारणले यी पुतलीलाई दुई असुर हिरण्याक्ष र हिरण्यकश्यपु भन्ने गरे पनि ती पुतली हिरण्याक्ष र हिरण्यकश्यपु नभई मधु र कैटव रहेको बताउनुभयो। नरसिंह जात्राका विज्ञ हेरम्बानन्द राजोपाध्यायले मधु र कैटभको बध नारायणले गरेको जानकारी दिँदै भन्नुभयो– ‘यसमा नारायणलाई साथ दिएका थिए कालीले। मधु र कैटभलाई घिसार्दै हिँडेका उपाकुलं सायाःका नरसिंहको अग्र भाग नरसिंह हो भने पछाडिको भाग काली हो।’

नरसिंह नाचभन्दा अगाडि पनि कालीको पूजा गर्नुपर्ने र नाच सम्पन्न भइसकेर पनि कालीकै पूजा गरेपछि मात्र नाच विधिवत् रूपमा सम्पन्न हुने परम्पराले नरसिंह र कालीको सम्बन्ध देखिने उहाँले बताउनुभयो।

नरसिंह जात्रालाई नेपाल भाषामा उपाकुलं सायाः भनिन्छ। राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालो चलाइने जात्रा सायाः रुटमा परिक्रमा गराउने चलन छ।

मंगलबजार, सौगल, सुन्धारा, ओकुबहाल, महाबौद्ध, थैना, टंगल, हौगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी, गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजारलगायत विभिन्न ठाउँमा यात्रा गराइन्छ। कार्तिक नाचका क्रममा निस्कने नरसिंहलाई उग्र रूपको नृसिंह मानिन्छ भने भदौमा निस्कने नृसिंहलाई शान्त स्वभावका रूपमा लिइन्छ। यो जात्रा राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको थियो।

‘मल्लकालीन वैभव र कलाको झझल्को दिने सो नाच ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ, तर रकम अभावले नाच सञ्चालन गर्न उपाकर्म गुठीका सदस्यलाई निकै मुस्किल हुँदै गएको छ।’ –नरसिंह जात्रा समारोह समितिका संयोजक उमेश्वर राजोपाध्यायले भन्नुभयो।

सो जात्रा सञ्चालनका लागि कम्तीमा ३ लाख रुपियाँ आवश्यक रहेको छ। यति रकम खर्च गर्न नसक्दा उपाकर्म गुठीका कतिपय सदस्यले आफूले जात्रा सञ्चालन नगरी आफूभन्दा कनिष्ठलाई पालो दिने गरेको घटना दोहोरिँदै गएको गुठीले जनाएको छ।

‘यस्तो अवस्थाले निरन्तरता पाउने हो भने यस जात्रा कुन बेला लोप हुने हो भन्न सकिन्न।’ –राजोपाध्याय समाजका पूर्वअध्यक्ष वदन शर्मा राजोपाध्ययायले भन्नुभयो।

जात्रा सञ्चालनका लागि भनेर उपाकर्म गुठीलाई ललितपुर उपमहानगरपालिकाले लामो समयदेखि वर्षेनी १३ हजार रुपियाँ मात्र उपलब्ध गराउँदै आएकोमा हाल २० हजार रुपियाँ उपलब्ध गराउन थालेको छ।

महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने भनाइलाई पर्यटकहरूको आर्कषणको केन्द्र रहेको नरसिंह यात्रा संकटमा पर्दै जानुले महानगरपालिकाको सो नीतिलाई गिज्याइरहेको नरसिंह जात्रा समारोह समितिका पदाधिकारीहरू बताउँछन्।

पर्याप्त रकम नभए पनि उपाकर्म गुठीका सदस्यहरूले जात्रा सञ्चालन गर्ने जिम्मेवारी आइपर्दा आफ्नो पुर्खादेखि सञ्चालन हुँदै आएको धर्मकर्मको काम भनेर निरन्तरता दिँदै आएको पाइएको छ।

६ कुल भनिए पनि सुन्धाराको कुल उतराधिकारीविहीन भएपछि हाल पाँच कुलका सदस्यले मात्र जात्रा सञ्चालन गर्दै आएको पाइएको छ। यी पाँच कुल (बःलिम्ह, स्वनिम्ह, तधँलीवी, वलानिम्ह र मण्डिछें) ब्राह्मणहरूले गुठीको जात्रा सञ्चालन गर्दै आएको छ।

यसपालि स्वनिम्हका हेरम्बराज राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको थियो। जात्रो पालो लिने गुठीका सदस्यका ज्वाइँ वा भाञ्जामध्ये एक नरसिंह बन्ने परम्परा रहेको छ।
‘मलाई जात्रा सञ्चालन गर्ने पालो आएको हो। बडो भाग्यले मात्र जात्रा सञ्चालन गर्ने जिम्मेवारी आइपर्दछ।’ –यस वर्षको जात्रा सञ्चालक राजोपाध्याय भन्नुभयो। उहँँले भन्नुभयो– ‘आफ्नै खर्चमा जात्राको व्यवस्थापन गर्दछु। सरकार र स्थानीय तहबाट जात्राका लागि पर्याप्त रकम बन्दोबस्तो गरिदिए राम्रो हुने थियो।’

रकम अभावको विषयलाई गम्भीरतापूर्वक उठाउने ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो। वडाध्यक्ष शाक्यले भन्नुभयो– ‘यस्ता संस्कृतिहरू लोप हुन दिनेछैनौं।’

वडा नं १६ लाई सांस्कृतिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिएको बताउँदै वडाध्यक्ष शाक्यले भन्नुभयोे– ‘यही वडा अधिकांश मूर्त र अमूर्त संस्कृति सञ्चालन हुने मुख्य थलोका रूपमा छ। त्यसैले कला, संस्कृतिका विशेष क्षेत्र वा सांस्कृतिक वडाका रूपमा घोषणा गरी सोहीअनुरूप कार्य अघि बढाउन लागिएको छ।

यस्तो अवस्थामा नरसिंह जात्रा चलाउनका लागि वडाबाट बजेटको व्यवस्था गरेको छु।’ वडाध्यक्ष शाक्यले अरू वडालाई पनि यथोचित सहयोग गर्न आह्वान गर्नुभएको छ।
यो जात्रा कहिलेदेखि शुरू भयो भन्ने बारेमा अहिलेसम्म पनि यकिनका साथ भन्न सकिने अवस्था नभएको गुठीका सदस्यहरू बताउँछन्। ‘उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल संवत् ८६९ अर्थात् विसं १८०६ देखिको जात्राको मात्र अभिलेख रहेको छ।’

–जात्राका अध्येयतासमेत रहनुभएका हेरम्बानन्द राजोपाध्यायले भन्नुभयो। वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले राजोपाध्यायहरूको सीमित प्रयासले गर्दा जेनतेन सञ्चालन हुँदै आएको सो जात्रालाई राष्ट्रियस्तरमा व्यापक गर्दै जानुपर्ने खाँचो औंल्याउनुभयो।

संस्कृतिविद् जोशीले भन्नुभयो– ‘जात्राको महत्वबारे राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्मै प्रचार प्रसार गर्नुपर्ने खाँचो छ। यस जात्रालाई पनि समयसापेक्ष सञ्चालन गर्नुपर्दछ।’

प्रतिक्रिया दिनुहोस्