संसदीय समितिले दिएका निर्देशन सरकारले पालन गर्नुपर्छ 



काठमाडौं, (नेस)। राष्ट्रिय सभाको बैठकले ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक–२०७६ दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले आजको बैठकमा सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। यसअघि बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले समितिको वार्षिक प्रतिवेदन–२०७६ लाई बैठकमा पेस गर्नुभयो।

प्रतिवेदन पेस गर्दै सांसद बिडारीले संसदीय मूल्य मान्यताअनुसार संसद् र संसदीय समितिले दिएका निर्देशनलाई सरकारले पालन गर्नुपर्ने बताउनुभयो।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक र वातावरण संरक्षण विधेयक–२०७६ पेस गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्