संविधान दिवस भव्य रूपमा मनाइने 



काठमाडौं, (नेस) ।सरकारले संविधान दिवस भव्य रूपमा मनाउने तयारी अगाडि बढाएको छ। सरकारले विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले संविधान दिवस बनाउन लागेको हो।
गृह मन्त्रालयमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झण्डाले राष्ट्रिय एकता र उपलब्धिलाई मौन ढंगले दृढतापूर्वक अभिव्यक्त गर्ने बताउनुभयो। उहाँले झण्डालाई घरमा, मुटुको अगाडि र पछाडि पर्ने गरी वा हातमा या शिरमा राखेर सम्मानपूर्वक प्रयोग गरी राष्ट्रिय उत्सव मनाउनसमेत आ≈वान गर्नुभयो।

दिवसका दिन असोज ३ मा उपस्थित भई झण्डा बोकेर र्यालीमा सहभागी हुन सबै कर्मचारीलाई सरकारले आग्रह गरेको छ। दिवसका सन्दर्भमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा तय गरिएको गृहसचिव प्रेमकुमार राईले बताउनुभयो।
स्थानीय तहमा समेत राष्ट्रिय झण्डा प्रदर्शन गर्न लगाउने, संविधान जारी भएको दिनमा वस्तु वा सेवामा विशेष छुट गर्न आग्रह गर्ने कार्यक्रम तय भएको छ। यस्तै विभिन्न मठमन्दिर, चर्च, मस्जिद, बौद्ध विहार, गुरुद्वारामा राष्ट्र, राष्ट्रियता र संविधानका लागि जीवन उत्सर्ग गर्ने शहीदहरुको आत्मशान्तिका लागि पूजापाठ र प्रार्थना गर्न आग्रह गर्ने निर्णय भएको छ।

संघ प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डासहितको र्याली गर्दै असोज ३ गते मूल समारोह स्थलमा सहभागी हुन, टुँडिखेलमा सांस्कृतिक र राष्ट्रिय पोसाकमा राष्ट्रिय झण्डासहित भेला हुन भनिएको र हेलिकप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरिने भएको छ।

संविधान दिवसको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ३८ सदस्यीय मूल समारोह समिति गठन भएको छ।

कार्यक्रम सम्पन्न गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन समिति र काठमाडाँैका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चौर, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ।

असोज ३ गते भने सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरिनेछ भएको छ।

प्रतिक्रिया दिनुहोस्