नेपाल भाषाको पाठ्यक्रमका अध्यक्ष केसी



काठमाडौं, (नेस)।  काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ। शिक्षा समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौं महानगरपालिकाका मेयर एवं महानगर शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले पाठ्यक्रम लेखनका लागि दुई समितिसमेत निर्माण गरेको छ। कक्षा एकदेखि आठसम्मको नेपाल भाषाको पाठ्यक्रम निर्माण गर्न शिक्षा अधिकारी निर्मला केसीको अध्यक्षतामा समिति बनेको छ।

समितिमा प्राडा. चुन्दा वज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्य सचिवमा मोतिराज खनाल रहनुभएको छ। नेपाल भाषा ऐच्छिक विषयका रूपमा रहनेछ।

त्यसैगरी अंग्रेजी र नेपाली भाषाका लागि अर्को समिति बनेको छ। त्यसको पनि अध्यक्ष केसी नै रहनुभएको छ। सदस्यहरुमा चुन्दा वज्राचार्य, प्रा. मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी रहनुभएको छ। सदस्य सविचमा कामपा शिक्षा विभागका अधिकृत तारापति खरेल रहनुभएको छ।

समितिलाई महानगरपालिकाभित्र चल्ने सामुदायिक र संस्थागत विद्यालयको कक्षा एकदेखि आठसम्मको पाठ्यक्रम निर्माणको जिम्मेवारी दिइएको छ।

‘कक्षा एकदेखि आठसम्म नेपाली र नेपाली भाषामा र नेपाल भाषाको ऐच्छिक विषयका रूपमा पाठ्यक्रम निर्माण गर्ने निर्णय बैठकले गरेको छ,’ काठमाडौँ महानगरपालिका शिक्षा अधिकारी केसीले भन्नुभयो– ‘यसको कार्यावधि ६० दिनको हुन्छ। त्यसपछि हामी पाठ्यपुस्तक लेखनमा जान्छौं।’

महानगरपालिका शिक्षा विभागका अधिकृत खरेलले शैक्षिक सत्र २०७६ बाट स्थानीय पाठ्यक्रम प्रत्येक विद्यार्थीको हात–हातमापुग्ने जानकारी दिनुभयो।

‘पाठ्यक्रममा काठमाडौँको पेसा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिन्छ ’ उहाँले कामापाभित्र ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटेर पाठ्यपुस्तक निर्माण गर्ने जानकारी पनि दिनुभयो। त्यसका लागि वडा–वडामा सुझाव संकलन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्