कोठा नं. १११ मा एक जोडी मृत फेला 



काठमाडौं, (नेस)।  गोंगबुस्थित मोरङ पर्वत धौलागिरी पोखरा गेष्ट हाउसमा एक जोडी मृत अवस्थामा फेला परेका छन्। सो गेस्ट हाउसको कोठा नम्बर १११ मा बस्दै आएका ती जोडी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनीहरुले आत्महत्या गरेको आशंका गरेको छ। प्रहरीले चितवनका यम थापा र मकवानपुरकी सविना बजगाईंको शव उक्त गेष्ट हाउसमा फेला पारेको थियो।

प्रहरीका अनुसार दुवै विवाहित भए पनि श्रीमान्–श्रीमती भने होइनन्। प्रहरीले युवतीको शव खाटमा र युवकको शव कोठाको भूइँमा लडिरहेको अवस्थामा फेला पारेको थियो।

दुवै जनाले विषसेवन गरेर आत्महत्या गरेको प्रहरीको आशंका छ। उनीहरुको कोठाबाट मदिराका बोतल बरामद गरे पनि विषादीका कुनै वस्तु फेला नपरेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो।

उनीहरुको मृत्युबारे फरेन्सिक विज्ञलाई बोलाएर अनुसन्धान शुरू गरेको प्रहरीले जानकारी दिएको छ। मृतक बजगाईंका श्रीमान हाल वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत छन्। दुवैको शव कट्टु मात्रै लगाएको अवस्थामा फेला परेकाले घटना शंकास्पद रहेको प्रहरी भनाइ छ।

प्रतिक्रिया दिनुहोस्