डडेल्धुराको चार वस्तीमा हैजाको प्रकोप



८१ जना प्रभावित नियन्त्रणमा कठिनाइ स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र पुग्ने तयारीमा
राम धामी, डडेल्धुरा । डडेल्धुराको भित्रीमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको ८ नम्बर वडाका चार वस्तीमा गम्भीर खालको ‘हैजा’ को प्रकोप देखिएको छ। आठ दिनदेखि फैलिएको हैजाबाट हालसम्म ८१ जना प्रभावित भएका छन्।

परशुराम नगरपालिका–८ अन्तर्गतका सानखोला र धादलीफाँटा वस्तीबाट फैलिएको हैजाको प्रकोप जमिरानी हँुदै नजिकै रहेकोे गुप्तिगाँडा भन्ने गाउँमा पनि देखिएको छ। चारवटै वस्तीमा हालसम्म ८१ जनामा ‘हैजा’ देखिएको वस्तीमै शिविर राखेर एक सातादेखि उपचारमा संलग्न साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले जानकारी दिनुभयो।

एक जना गर्भवती, ७ बालबालिका र अन्य ७३ जना हैजाबाट प्रभावित भएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिनुभयो।
हैजा प्रभावित वस्तीका बिरामीहरुको दिसा परीक्षण गर्दा हैजा र कडा खाले झाडापाखलाका जीवाणु भेटिएको डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिनुभयो।

८ दिनबाट रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा स्वास्थ्य शिविर राखेर उपचारमा संलग्न रहेको परशुराम नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। ‘गत साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो। हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं।’

परशुराम नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तेजबहादुर सिँहले भन्नुभयो– ‘हालसम्म ८१ जना हैजाबाट प्रभावित भएका छन, जसमध्ये ५ जनालाई जोगबुडा अस्पतालमा रेफर गरिएको छ। एक जनाको अवस्था गम्भीर छ।’

बुधबार परशुराम नगरपालिकाले आपत्कालीन बैठकको आयोजना गरेर थप सहयोगका लागि सम्बन्धित सबै पक्षलाई आह्वान गरेको परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराले बताउनुभयो।

बिहीबारमात्रै सुदूरपश्चिम प्रदेश सरकारका साथै स्वास्थ्य कार्यालय डडेल्धुराबाट थप स्वास्थ्यकर्मी र आवश्यक औषधि हैजा प्रभावित क्षेत्रमा पुग्ने परशुराम नगरपालिकाले जनाएको छ।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चपागाईंले आफू बिदामा रहेको बताउनुभयो। खानेपानीको नमुना परीक्षणमा दिसामा मात्र पाईने व्यक्टेरिया ‘इकोलाई’ भेटिएकाले महामारी यसैबाट फैलिएको हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन्।

हैजाले महामारीकै रूप धारण गरिसकेकाले नियन्त्रण बाहिर हुँदा जिल्ला र प्रदेश सरकारबाट थप स्वास्थ्यकर्मी र औषधि माग गरिएको, बिहीबारसम्म औषधि र थप स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पुग्ने जानकारी प्राप्त भएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाक्यले बताउनुभयो।

उहाँले प्रभावित क्षेत्रमा घरदैलो कार्यक्रम गरेर खानेपानी शुद्धीकरण, हात धुने अभ्यास र हैजा रोकथामका लागि जनचेतना फैलाउने काम भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्