चुनौतीको सामना गर्दै नारायणहिटी संग्रहालय 



ईश्वरराज ढकाल, काठमाडौं। शाहवंशीय राजा र राजपरिवारसँग सम्बन्धित सामग्रीहरूलाई मुख्य विषयवस्तु बनाएर खडा गरिएको नारायणहिटी संग्रहालय चुनौतीले घेरिएको छ।

संग्रहालयको विस्तृत अध्ययन गर्न गठित समितिले पुरातत्व विभागलाई दिएको प्रतिवेदनमा समस्या र चुनौतीलाई प्राथमिकता दिइएको छ। संग्रहालय खुलेको करिब ११ वर्ष बितिसक्दा पनि समस्या जस्ताकोत्यस्तै रहेको प्रतिवेदनमा उल्लेख छ।
करिब ७ सय ५४ रोपनी क्षेत्रमा फैलिएको संग्रहालय परिसरमा विभिन्न प्रयोजनका लागि नेपाली सेनाले संरचनाहरू निर्माण गरिसकेको छ। सोही जग्गामा सरकारले गणतन्त्र स्मारक निर्माण गरेको छ। विभागका प्रवक्ता एवं प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले प्रतिवेदनको आधारमा थप योजना निर्माण गर्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘समितिले आंैल्याएको समस्याको विषयमा थप अध्ययन गर्नेछौं। समितिको करिब २ महिनालगाएर प्रतिवेदन तयार गरेको थियो।

प्रतिवेदनअनुसार हालको प्रदर्शनी व्यवस्थापनको संयोजन प्रभावकारी नहुनु प्रमुख चुनौतीका रूपमा रहेको छ। उपहारस्वरूप प्राप्त सामग्रीले सोकेस भरिएका छन्। कतिमा लेवल नै राखिएको छैन। कतिपय लेवल पढ्नै नसकिने अवस्थामा छन्, पर्याप्त प्रकाशको अभावले कुन वस्तु कस्तो अवस्थामा रहेका छन्, बुझ्न सकिएको छैन, महत्वपूर्ण सामग्रीलाई प्लास्टिकले छोपेर राखिएको छ जुन पटक्कै शोभायमान देखिएको छैन।

प्रतिवेदनमा जिल्लागत कक्षहरूको योजना तयार गर्ने, वर्तमान संग्रहालय प्रदर्शनीको सुधार एवं व्यवस्थापन गर्न प्रस्ताव गर्ने, दरबार हत्याकाण्ड भएको भवनलगायतका परिसरमा रहेका अन्य संरचनाको उपयोग तथा संग्रहालय विस्तारको योजना प्रस्ताव गर्ने, संग्रहालय आगन्तुकका सुविधाका लागि उपयुक्त स्थान वा विद्यमान संरचनामध्ये कुनैमा क्यान्टिन सञ्चालन गर्न प्रस्ताव गर्ने, फूलबारीको स्तरोन्नति एवं विस्तारसम्बन्धी अवधारणात्मक कार्ययोजना प्रस्ताव गर्नुपर्नेलगायत विषय समेटिएको छ।

प्रतिवेदनमा राजा त्रिभुवनलाई हिटलरले उपलब्ध गरेको गाडी प्रदर्शनीमा राख्नुपर्ने, श्रीसदन, मंगल सदनलाई तत्काल खुला गर्नुपर्ने, क्यानटिनको व्यवस्था हुनुपर्ने, सूचना केन्द्र, श्रव्यदृश्य, शौचालय, पिउने पानी, गाइडको व्यवस्था र  आराम कक्ष निर्माण गर्नुपर्ने विषयलाई प्रतिवेदनमा प्राथमिकताका साथ उठान गरिएको छ।

सो प्रतिवेदनमा उल्लेख भएका विषयलाई छलफल गरी कार्यान्वयनमा ल्याइने जानकारी गराउँदै प्रवक्ता कँुवरले भन्नुभयो– ‘प्रतिवेदनअनुसार बजेट व्यवस्था गरेर कार्यान्वयनमा जानेछौं।  समितिले तत्काल संग्रहालय सुधार गर्न करिब साढे १ करोड रुपियाँ लाग्ने अनुमान गर्दै प्रतिवेदन बुझाएको हो।’

प्रतिक्रिया दिनुहोस्