नेकपामा ढिला आयो कडा आयो



दीपक खनाल
आपसमा हुने झगडालाई कम्युनिष्ट याने माक्र्सवादीहरू दुई लाइन सङ्घर्ष भन्ने गर्छन् । आवरणतः नेपाल कम्युनिष्ट पार्टीलाई ‘कम्युनिष्ट’ वा ‘माक्र्सवादी’ मान्ने हो भने यसको दुई लाइन सङ्घर्ष फेरिएको छ अहिले । त्यो अन्तर्सङ्घर्ष पूर्व नेकपा (एमाले) र पूर्व माओवादी केन्द्रबीच नभई तत्काल स्पष्ट रूपमा पूर्व एमालेबीचमै देखिएको छ । यो अन्र्तसङ्घर्ष फेरि पूर्व एमालेकै अध्यक्ष केपी शर्मा ओली (संस्थापन) पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच नै सुरु भएको छ ।

पछिल्लो महाधिवेशनदेखि नै देखिएको दुई पक्षीय नेताबीचको दुई लाइन सङ्घर्ष ‘होलीवाइन प्रकरण’ मा मथ्थर भएकोजस्तो देखिए पनि पार्टी सचिवालयले हालै गरेका वरिष्ठको बरीयता लगायतका निर्णयपछि पुनः छताछुल्ल भएको हो । विगतका ‘प्राचीन कम्युनिष्ट’मा आन्तरिक रूपमा पार्टीभित्रै सीमित हुने यस्ता अन्तसंङ्घर्षहरू ‘आधुनिक कम्युनिष्ट’ हरूले पछिल्लो समय सतहमा नै ल्याउने गरेका छन् । वरिष्ठ नेताको बरीयतामा पछाडि पारिएको र आफूनिकटका वरिष्ठ नेतालाई भूमिकाबिहीन बनाइएको भन्दै वरिष्ठ नेता नेपालले पनि असहमतिका सातबुँदा पार्टी कार्यालयमा दर्ता गराइसक्नुभएको छ ।

खासगरी सत्ता (सरकार) राजनीतिमा हावी प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली यसपालि पार्टी राजनीतिमा समेत राम्रैसँग हावी हुनुभएको छ । पार्टी एकीकरण भएको १५ महिनापछि एकीकरणका आन्तरिक कार्य (सैद्धान्तिक विषय छाडेर) हरूको करिब–करिब साङ्गोपाङ्गो लगाउँदै अध्यक्ष ओलीले आफूतिर तेर्सिएका धेरै ‘तीर’हरूको व्यवस्थापन गर्नुभएको छ । ढिलै आए पनि उहाँको ‘कुटनीतिक वाण’ एकदमै कडा रूपमा आएको छ । अर्थात् उहाँ आफूतिर तेर्सिएका फरक लाइनका वाणरूपी असहमतिहरूको निकास निकाल्न तत्काल सफल हुनुभएको छ वरिष्ठ नेता नेपालका असन्तुष्टिहरूलाई छाडेर ।

कहिले स्वाठ्ठै माथि जाने र कहिले एकदमै लचक हुनसक्ने क्षमता र कला यसपटक केपी ओलीले देखाएरै छाड्नुभएको छ । यसो पनि भनौँ कि ओलीले नेकपाको आन्तरिक राजनीतिको ‘डिस्कोर्ष’ नै बदलिदिनुभएको छ १५ महिनापछि । सबैभन्दा प्रमुख कुरा एकदमै आक्रामक, खरो, रुखो भनेर राजनीतिक बजारमा चित्रण गरिने ओली कमरेड यसपालि अति नरम, भद्र, संयमित, विवेकी र जिम्मेवारपूर्ण भएर प्रस्तुत हुनुभयो । उहाँले पछिल्लो आम निर्वाचनपछि आफ्नो विरुद्धमा सबैभन्दा अग्रपंक्तिमा देखिनुभएका नेता बामदेव गौतमलाई ठूलै त्याग गरेर अविस्मरणीय गुन लगाउनुभयो । गौतमलाई संगठन विभागको प्रमुख मात्रै बनाउनुभएन, उपाध्यक्ष पद सिर्जना गरेरै ‘एडजस्ट’ गर्ने प्रस्ताव ल्याउनुभयो ।

सायद प्रधानमन्त्री बन्ने/बनाउनेबारे पनि उहाँहरूबीच भित्री कुरा भएको हुनुपर्दछ किनकि ‘दायाँ–बायाँ’ गरिरहने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भन्दा पुराना हितैषी गौतमलाई नै प्रधानमन्त्री बनाउन उहाँलाई सुविधापरक हुनसक्छ । यसका लागि उहाँले एकैसाथ दुइटा छनक दिइसक्नुभएको छः एकातिर उहाँले कास्कीबाट चुनाव लड्न भनेर गौतमलाई भन्नुभएको कुरा बाहिर आएको छ (यो गौतमका लागि आगामी सरकारमा जाने भर्याङ् बन्न सक्छ) भने अर्काेतिर अर्काे चुनावपछि आफू सत्तामा बस्न नचाहेको बताउनुभएको छ । उहाँको अभिव्यक्ति सोही पार्टीका अर्का अध्यक्ष ‘प्रचण्ड’ प्रति नतेर्सिएको होला भन्न सकिन्न । तथापि अब पार्टी सम्हाल्न आग्रह गरेर चर्कन सक्ने प्रचण्डको असन्तुष्टिमाथि समेत ‘रणनीतिक एम्बुस’ थापिदिनुभएको छ ।

योगेश भट्टराई युवामतको प्रतिनिधित्व गर्ने चर्चित नेता हुनुहुन्छ । उहाँप्रति धेरै मानिसमा ‘जिजीबिषा’ भएको देखिन्छ । अध्यक्ष ओली पक्षधर नभएको नेताका रूपमा चिनिदैँ आएका भट्टराईलाई मन्त्री बनाएर उहाँले त्यतातिरको तनाव व्यवस्थापन मात्र गर्नुभएको छैन, भट्टराई पक्षधरको ‘सेन्टिमेन्ट’ समेत ‘क्यास’ गर्नुभएको छ । यसैगरी वरीयता क्रममा तल पर्दा १५ महिनादेखि खुनासिदैँ आउनुभएका वरिष्ठ नेता झलनाथ खनाललाई पुनः पहिलो वरीयतामा राखेर अनि स्पष्ट नखुल्नुभएका पार्टी नेता ईश्वर पोखरेललाई स्कुल विभाग प्रमुख बनाएर दुवै नेताको विरोधका स्वरहरू बन्द गरिदिनु मात्र भएको छैन, आफूप्रति ती नेताबाट सहानुभूति समेत बटुल्नुभएको छ ।

उहाँले वरिष्ठ नेता नेपाललाई त्यति तत्काल सायदै ‘शक्तिशाली’ र ‘प्रतिपस्र्धी’ ठान्नुभएको छ । यद्यपि अब नेकपाको आन्तरिक राजनीतिको प्रतिपक्ष नेपाल र उहाँका पक्षधर नै हो । अबको समाचारको ‘हेडलाइन’ पनि नेपाल नै हो । यद्यपि नेपाल पक्षधरलाई सशक्त हुन नदिन उहाँले प्रचण्ड, खनाल, गौतम, पोखरेल अनि भट्टराईका असन्तुष्टिहरूलाई कुटनीतिक साङ्गोले बाँधिरहनुपर्नेछ । समग्रमा लोक कलाकार प्रकाश सपूतको ‘गलबन्दी’मा एकजना पात्रले भनेजस्तै नेकपामा पनि धेरै कुरा ढिला आयो तर कडै आयो ।
(विश्लेषक खनाल स्वतन्त्र पत्रकार हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्