अब गाँजा रोप्नेलाई पनि कारबाही



हेटौंडा ।
गाँजाखेती पश्चिम मकवानपुरको कहिल्यै निको नहुने सामाजिक रोगको रुपमा रहेको छ । यसलाई निमिट्यान्न पार्न हरेक वर्ष राज्यका तर्फबाट प्रयत्न हुने गरेको छ । यसैक्रममा प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत् मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाका जनप्रतिनिधिसँग गाँजा नियन्त्रण गर्ने विषयमा बुधवार मनहरीमा छलफल गरिएको छ ।

छलफलमा आफ्ना धारणा राख्दै अधिक गाँजा उत्पादन हुँदै आएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले गाँजाका कारण दिनानुदिन समाज भड्कँदै गएको बताउनुभयो । ‘समाजमा समानुपातिक विकास हुने नहुनाले सहर र गाउँबीच द्वन्द्वले पो गाँजाखेती भइरहेको छ कि,’ उहाँहरुको प्रश्न छ । कैलाश, राक्सिराङ र मनहरीका विभिन्न वडाका अध्यक्षहरुले गाँजाबारे आआफ्ना तर्क गरे ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने समाज भड्किने दिशातिर गइरहेको भन्दै चिन्ता व्यक्त गर्दा मकवानपुरका प्रहरी प्रमुख (एसपी) मुकेशकुमार सिंहले जिल्लामा लागुऔषधको वस्तुस्थितिबारे तथ्यांक प्रस्तुत गर्नुभयो ।

अघिल्ला वर्षहरुमा गाँजा नष्ट गरेर फर्किने गरेको प्रहरीले यस वर्षदेखि गाँजा किसानलाई पनि पक्राउ गरी मुद्धा चलाउने भएको छ । पहिला ब्याड र बारीमा लगाइएको गाँजामात्र नष्ट गथ्र्यो प्रहरीले, तर गाँजा खेती यसरी निर्मूल नभएपछि यस वर्षदेखि गाँजा फँडानीसँगै गाँजा रोप्नेलाई पनि पक्राउ गरी कानुनअनुसार कारबाही गर्ने तयारी रहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।

‘राज्यले निषेध गरेको काम रोक्नु हाम्रो कर्तव्य हो । लगातार ३/४ वर्ष फँडानी गरेका हौं, अब फँडानीसँगै किसानलाई पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने काम हुनेछ,’ प्रहरी उपरीक्षक सिंहले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका थुनुवामध्ये ६४ प्रतिशत लागुऔषध कारोबारमा संलग्न रहेका कारण पक्राउ परेको प्रहरीले जनाएको छ । लागुऔषधमध्ये गाँजा ओसारपसारमा संलग्नता बढी पाइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जनप्रतिनिधिलाई अघिल्लो वर्षको प्रतिवद्धता सम्झन आग्रह गर्नुभयो । उहाँले अघिल्लो वर्ष पनि यस्तै कुरा भएको भन्दै आउटपुट आउने काम कति गरियो भनेर जनप्रतिनिधिसामु प्रश्न गर्नुभयो ।

हरेक वर्ष कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाका विभिन्न बस्तीमा गाँजाखेती हुँदै आएको छ । पछिल्ला वर्षमा प्रहरीले बजेट र जनशक्ति अभावका बाबजुद गाँजा फँडानी गर्ने गरेको छ ।

उत्पादनसँगै मकवानपुरका गाँजाको अवैध कारोबार पनि कम छैन । थोरै समयमा धेरै पैसा कमाउने र उच्च महत्वाकांक्षी जीवनशैली जिउने अभिलाषामा लागुऔषध गाँजा तस्करी गर्ने अधिकांश युवा छन् । पछिल्लो समय लागुऔषध कारोबारीको बिगबिगी डरलाग्दो गरी बढेको छ । विलासी र उच्चस्तरको जीवनशैली जिउने होड बढ्दो छ । यस्तै होडबाजीका कारण युवाहरु दिनानुदिन गलत बाटोमा लाग्ने गरेको प्रहरी ठम्याइ छ ।

ऊर्जाशील युवा उमेर गैरकानुनी कार्यमा संलग्न भएका कारण युवाहरु हिरासत हुँदै जेल पुग्ने गरेका छन् । युवाहरु सजिलो गरी पैसा कमाउन लागुऔषधको कारोबारमा सक्रिय रहेको देखिन्छ ।

मकवानपुर प्रहरीले आर्थिक वर्ष २०७५÷०७६ मा लागुऔषधसहित २ सय ५ जनालाई पक्राउ गरेको थियो । तीमध्ये भारतीय नागरिक २७ पुरुष र ३ महिला छन् । उक्त अवधिमा नेपाली पुरुष १ सय ६९ जना र महिला ६ जना पक्राउ परेका थिए । प्रहरीले मकवानपुरबाट आर्थिक वर्ष २०७५÷०७६ मा ३ हजार १ सय ८८ किलो गाँजा बरामद गरेको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष प्रहरीले मकवानपुरबाट १ हजार १ सय ५ किलो गाँजा बरामद गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्