चार बस्तीमा हैजाबाट ८१ जना प्रभावित, नियन्त्रणमा कठिनाई



राम धामी,डडेल्धुरा । डडेल्धुराको भित्रिमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको ८ नम्वर वडाका चार बस्तीमा गम्भीर खालको ‘हैजा’ को प्रकोप देखिएको छ । आठ दिनदेखि फैलिएको हैजाबाट हालसम्म ८१ जना प्रभावित भएका छन् ।

परशुराम नगरपालिका– ८ अन्तर्गतका सानखोला र धादलीफाँटा बस्तीबाट फैलिएको हैजाको प्रकोप जमिरानी हँदै नजिकै रहेकोे गुप्तिगाँडा भन्ने गाउँमा पनि देखिएको छ । चारओटै बस्तीमा हालसम्म ८१ जनामा ‘हैजा’ देखिएको बस्तीमै शिविर राखेर एकसाता देखि उपचारमा संलग्न साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले जानकारी दिए ।

एक जना गर्भवती ७ बालबालिका र अन्य ७३ जना हैजाबाट प्रभावित भएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिए । हैजा प्रभावित बस्तीका बिरामीहरुको दिसा परिक्षण गर्दा हैजा र कडा खाले झाडापाखलाका जिवाणु भेटिएको डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए ।

८ दिनबाट रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा स्वास्थ्य शिविर राखेर उपचारमा संलग्न रहेको परशुराम नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । ‘गत साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो । हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं ।’ परशुराम नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तेजबहादुर सिँहले भने, ‘हालसम्म ८१ ज्ना हैजाबाट प्रभावित भएका छन, जसमध्ये ५ जनालाई जोगबुडा अस्पतालमा रेफर गरिएको छ । एक जनाको अवस्था गम्भीर छ ।’

गत साउन २९ गतेबाट सुरु भएको हैजाको प्रकोप हालसम्म नियन्त्रणमा आउन नसके पछि बुधबार परशुराम नगरपालिकाले आपतकालिन बैठकको आयोजना गरेर थप सहयोगका लागि सम्बन्धित सबै पक्षलाई आह्वान गरेको परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराले बताईन् । बिहीबारमात्रै सुदूरपश्चिम प्रदेश सरकारका साथै स्वास्थ्य कार्यालय डडेल्धुराबाट थप स्वास्थ्यकर्मी र आवश्यक औषधी हैजा प्रभावित क्षेत्रमा पुग्ने परशुराम नगरपालिकाले जनाएको छ ।

हैजा प्रभावित मध्ये ७३ जना बिरामीको बस्तीमा सञ्चालित स्वास्थ्य शिविरमा उपचार भईरहेको र पाँच जना रिफर गरिएका मध्ये चारजना जोगबुडा अस्पतालबाट डिस्चार्ज गरिएका छन भने गम्भीर बिरामी एकजनालाई थप उपचारका लागि रिफर गरिएको जोगबुडा अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रशाद चपागाईंले आफू बिदामा रहेको बताए । खानेपानीको नमुना परिक्षणमा दिशामा मात्र पाईने व्यक्टेरीया ‘इकोलाई’ भेटिएकाले महामारी यसैबाट फैलिएको हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।

हैजाले महामारीकै रुपधारण गरिसकेकाले नियन्त्रण बाहिर हुँदा जिल्ला र प्रदेश सरकारबाट थप स्वास्थ्यकर्मी र औषधी माग गरिएको हुँदा बिहीबारसम्म औषधी र थप स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पुग्ने जानकारी प्राप्त भएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाक्यले बताए । उनले प्रभावित क्षेत्रमा घरदैलो कार्यक्रम गरेर खानेपानी शुद्धीकरण, हात धुने अभ्यास र हैजा रोकथामका लागि जनचेतना फैलाउने काम भईरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्