गृहकार्य नपुगेकाे भन्दै नेकपाकाे बैठक अन्याेलमा, बिहीबार पुनःबस्ने



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिहीबार पुनःबस्ने गरी आज सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायत विषयमा छलफल भए पनि थप गृहकार्य जरुरी रहेको भन्दै कुनै निर्णयमा पुग्न सकेन ।

थप गृहकार्य जरुरी रहेको भन्ने निष्कर्षमा नेताहरु पुगेपछि बैठक बिहीबारका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै पोलिटब्युरो चयनको विषय पनि बाँकी रहेको छ । पार्टी एकताका आधारभूत कार्यलाई टुङ्गो लगाएको नेकपाले बाँकी रहेका कामलाई समेत सम्पन्न गरी नयाँ सन्देश दिने तयारी गरेको जनाएको छ ।

यस्तै पार्टीका नेता माधवकुमार नेपालले दर्ता गराउनुभएको असहमतिका विषयमा भने कुनै छलफल भएको छैन । पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असहमति जनाउनुभएको छ ।

प्रवक्ता श्रेष्ठले नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी गरिएको छ ।

यसैबीच सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच छुट्टै छलफल भएको छ । मङ्गलबार प्रधानमन्त्रीको आयोजनामा भएको सर्वदलीय छलफलपछि आज दुई दलको छुट्टै बैठक आयोजना गरिएको हो । सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयक तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेल र प्रवक्ता श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । यस्तै काङ्ग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता डा मीनेन्द्र रिजाल र पूर्णबहादुर खड्का सहभागी हुनुहुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्